दिल्लीमा सुर-सुधाको संगीतमय साँझ
नयाँ दिल्ली : ‘संगीतको एउटा नियम हुन्छ, जे बजाए पनि, गाए पनि त्यो सही हुनुपर्छ । दर्शक र श्रोता त्यसले आनन्दित हुन्छन्, हामीले त्यो नियमलाई पालना गरिरहेका छौं । हाम्रो सफलताको मूल मन्त्र पनि यही हो', सुर-सुधा सांगीतिक समूहका संस्थापक, वरिष्ठ तबलावादक सुरेन्द्र श्रेष्ठले अर्थ्याए । अन्तर्राष्ट्रिय मञ्चहरूमा सांगीतिक जादु छरिसकेको सुर-सुधा भारतमा भने उतिसाह्रो परिचित हुन पाएको छैन । समूहले पाँच वर्षको अन्तरालमा नयाँ दिल्लीमा गत साता दोस्रोपटक प्रस्तुति दियो । सन् २०१२ मा दिल्लीमै पहिलो प्रस्तुति दिएको थियो । सुर-सुधालाई दिल्लीमा रहेको नेपाली दूतावास, बीपी कोइराला नेपाल-भारत फाउन्डेसनले यो अवसर जुराइदिएको हो ।
सितारमा राजीव श्रेष्ठ, बाँसुरीमा प्रेम राना औतारी, गिटारिस्ट विकास सुनार तथा गायिका सरस्वती खत्रीको समूहलाई नेतृत्व गर्दै दिल्ली आएका श्रेष्ठले भने, ‘संगीतको कुनै भाषा र सीमा हुँदैन । तर पनि अन्य मुलुकको तुलनामा भारतमा प्रस्तुति दिँदा भिन्दै आनन्द आउँछ । भारतमा संगीतका उस्तादहरू छन् । कला-संस्कृतिको समानता पनि यसको एउटा कारण हुनसक्छ ।'
‘नेपालका परम्परागत गीतसंगीतलाई भारतमा चिनाउन चाहन्छौं, किनकि भारतमा संगीत बुझ्ने दर्शक÷ श्रोता छन्', नेपाली संगीतका अन्तर्राष्ट्रिय एम्बेसेडर समूहका श्रेष्ठले भने । कार्यक्रममा भारतका राजनीतिज्ञ, कूटनीतिक नियोगका प्रतिनिधिबाहेक भारतमा स्थायी र अस्थायी रूपमा बसोबास गरिरहेका नेपालीहरू सहभागी थिए । श्रेष्ठले भने, ‘पहिलो प्रस्तुतिमा भारतका संगीतविज्ञको बाक्लो उपस्थिति थियो ।
नेपाली दर्शकको बाहुल्य थियो । हामीले दिल्लीमा रहेका नेपालीसँग जोडिने मौका पायौं ।' कुनै पनि मुलकमा प्रस्तुति दिँदा दर्शकलाई ध्यानमा राखेर संगीत बजाउने सुर-सुधाले दिल्लीमा फिसम्यान संगीतबाट प्रस्तुतिको सुरुआत गरेको थियो । क्रमैसँग दिएको जुगलबन्दी, कृष्ण ट्र्याकलगायत विकास सुनारको सोलो गिटारको प्रस्तुतिले दर्शकलाई तानेको थियो ।
करिब डेढ घन्टाको प्रस्तुतिमा समूहकी गायिका सरस्वती खत्रीले स्व. नातिकाजीको संगीतमा तारादेवीले गाएको ‘उकाली ओरालीहरूमा' गीत प्रस्तुत गर्दा श्रोताले गोल्डन म्युजिकल ऐरालाई सम्झिएका थिए । उनले ‘मै प्यारो हो कि रेशम गीत'को गीत प्रस्तुत गर्दा हलमा रहेका अधिकांश दर्शक नाच्न भ्याए । कूटनीतिक नियोगका अधिकारीहरूसमेत उनको गीतमा झुमे । वन्स मोरको अनुरोधसँगै उनले बहुचर्चित नेपाली गीत ‘रेशम फिरिरी' पस्किइन् ।
‘प्रस्तुतिको समय छोटो भयो, कतिपय प्रस्तुति काट्नु पर्यो', श्रेष्ठले भने । अन्तर्राष्ट्रिय कला परिषद्मा आयोजना गरिएको कार्यक्रमको सुरुआतमा भारतीय ओडीसी नृत्यांगना पौलमी गुहाले ओडीसी नृत्यका विभिन्न तीन प्रस्तुति दिएकी थिइन् । ‘युरोप, अमेरिका लगायतमा हल तथा अडिटोरियममा प्रस्तुतिको अनुभव सँगालेको समूह अब विशाल दर्शकसामु प्रस्तुति दिन आतुर छ', श्रेष्ठले नयाँ दिल्लीमा कुरा गर्दै भने, ‘दुईचार हजार दर्शकको समूहमा सुरसुधाको संगीतलाई गुञ्जाउनु छ ।'
नेपालको तराई, हिमाल, पहाडका समुदायका संगीतहरू फ्युजन गरेर सुर-सुधाले सिम्बल अफ नेपाल, इमेज अफ नेपाल, फेस्टिभल अफ नेपाल, मेलोडिज अफ नेपाल, दी थर्ड आई लगायतका सांगीतिक एल्बम निकालिसकेको छ । २६ वर्षे यात्राका क्रममा गिटार, सितार, तबला, बाँसुरीको आधुनिक फ्युजनको उत्कृष्ट प्रस्तुति दिएका यी संगीत साधकहरूको यात्रा जारी छ ।