च्याम्पियन्स ट्रफी फाइनलमा भारतमाथि पाकिस्तानको चर्को दवाव : सुरुमै रोहित, विराट र शिखर आउट
काठमाडौं : आईसीसी च्याम्पियन्स ट्रफी प्रतियोगिता अन्तर्गत पाकिस्तानसंगको फाइनल खेलमा भारतले सुरुमै तीन महत्वपूर्ण विकेट गुमाएको छ ।
भारतका उत्कृष्ट ब्याट्सम्यान रोहित शर्मा, विराट कोहली र शिखर धवन आउट भएका छन् । पाकिस्तानले ९ ओभरमा ३३ रनको क्षतिमा भारतका महत्वपूर्ण ब्याट्सम्यानलाई पेभेलियन फर्काएको छ ।
रोहित शर्मा पहिलो ओभरको पहिलो बलमै आउट भएका थिए भने कप्तान कोहली ५ रनमै आउट भए । लयमा देखिएका अर्का ओपनर शिखर धवनलाई पनि पेवेलियनको बाटो देखाएपछि भारत दवावमा देखिएको छ । लगातार भारतको विकेट लिएपछि पाकिस्तानले राहत महसुस गरेको छ ।
भारतलाई पाकिस्तानले ३३९ रनको चुनौती दिएको छ । पहिले ब्याटिङ गरेको पाकिस्तानले पूरा ओभर खेल्दै ३ सय ३८ रन बनाएको हो। पाकिस्तानका लागि फखार जमानले शतक प्रहार गर्दै १ सय १४ रन बनाए भने अहजर अली र मोहम्मद हफिजले अर्धशतक प्रहार गरेका थिए । भारतले पाकिस्तानको ४ विकेट लिएको थियो।
अलि ७१ बलमा ५९ रन बनाएर रन आउट भएका थिए भने फखार जमानले ९२ बल खेल्दै शतक प्रहार गरे । उनी हार्दिक पाण्डेको बलमा जडेजाबाट क्याच आउट भए । उनले १०६ बलम शानदार ११४ रन बनाए ।
शोहिव मल्लिक सस्तैमा आउट भए । बाबर अजाम ४६ रनमा आउट भए । उनी ४ रनले अर्धशतक बनाउनबाट रोकिए। केदार जादवले उनलाई पेवेलियन फर्काए । अर्का ब्याट्सम्यान हफिजले बिष्फोटक व्याटिङ गर्दै नटआउट ५७ रन बनाएका थिए।