सुर्खेत रंगशाला स्तरोन्नति गरिदै

सुर्खेत रंगशाला स्तरोन्नति गरिदै

सुर्खेत : आर्थिक वर्षको अन्तिममा सुर्खेत रंगशाला मर्मतका लागि बजेट विनियोजन भएको छ । राष्ट्रिय खेलकुद परिषद्ले रंगशाला मर्मतका लागि २५ लाख रूपैयाँ विनियोजन गरेको हो । उक्त बजेटबाट अहिले रंगशाला मर्मतको काम भइरहेको छ ।

जिल्ला खेलकुद विकास समिति सुर्खेतले टेण्डरमार्फत् रंगशाला मर्मतको जिम्मा लेकवेशी निर्माण सेवालाई दिएको छ । उक्त निर्माण सेवाले मर्मतको काम गरिरहेको छ । बजेट आर्थिक वर्षको अन्तिममा आएको र साउन १५ भित्र सम्पन्न गरिसक्नुपर्ने भएकाले तीव्र गतिका साथ काम भइरहेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष चन्द्रकुमार गिरीले जानकारी दिनुभयो ।

उहाँले उक्त बजेटबाट रंगशालाको मर्मत र स्तरोन्नति गरिने बताउनुभयो । मर्मत कार्य अन्तर्गत रंगशालाभित्रको उच्च भागलाई खनेर सम्म बनाइनेछ । दक्षिणतर्फको खाल्डोलाई पुरिनेछ र समथर बनाइनेछ । अध्यक्ष गिरीले भन्नुभयो, ‘उच्च भागको माटो काट्ने, फिलिंग गर्ने र रोलिंग गर्ने काम भइरहेको छ, यसपछि रंगशाला समथर मैदान बन्नेछ ।' त्यसैगरी रंगशालाको मर्मतका साथै यसको थप स्तरोन्नति गरिने पनि जनाइएको छ ।

जस अन्तर्गत प्याराफिट निर्माण गरिनेछ । हाललाई दुई लाइनको दर्शक बस्ने प्याराफिट बनाइने योजना रहेको अध्यक्ष गिरीले जानकारी दिनुभयो । चौरमा उभिएर र धुलाम्य जमिनमा बसेर खेल हेर्नुपर्ने दर्शकहरूको समस्या अब हट्ने उहाँको भनाइ छ ।

उक्त फुटबल मैदानलाई एथ्लेटिक्सका लागि पनि उपयोग गर्न सकिने गरी स्तरोन्नति गर्न लागिएको छ । यसका लागि ६ लेनको ट्रयाक निर्माण गरिनेछ । ६ लाइनको एथ्लेटिक्सको ट्रयाकिङ लाइन निर्माण गरिने गिरीले जानकारी दिनुभयो । उहाँले एथ्लेटिक्सका लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको मैदान बनाइने बताउनुभयो । फुटबलका साथै एथ्लेटिक्स अन्तर्गतका खेलहरू पनि सञ्चालन गर्न सकिने गरी रंगशालाको स्तरोन्नति गर्न लागिएको उहाँको भनाइ छ । अध्यक्ष गिरीका अनुसार रंगशालाभित्रै मञ्चको व्यवस्थापन समेत गरिने भएको छ।

कुनै प्रतियोगिता आयोजना गर्दा वा अन्य कुनै कार्यक्रम गर्दा आवश्यक पर्ने मञ्च पनि निर्माण गरिनेछ । त्यस्तै ढल निकासका लागि नाला निर्माण र पर्खालमा रंगरोगनको काम पनि यस योजना अन्तर्गत गरिनेछ । आवश्यक बजेटको अभावमा अहिलेसम्म रंगशालाको मर्मत र सुधार हुन सकेको थिएन । विभिन्न समयमा खेलकुद प्रतियोगिताहरू आयोजना हुने गरे पनि व्यवस्थित रंगशाला नहुँदा खेलाडीहरूका साथै दर्शकहरूले पनि समस्या झेल्दै आएका छन् ।

यद्यपि अब मर्मत सुधार भएपछि उक्त समस्या समाधान हुने जिल्ला खेलकुद विकास समितिले जनाएको छ । सुर्खेतको खेलकुद विकासका लागि केही दशकअघि नै खेलकुद गुरुयोजना बने पनि हालसम्म कार्यान्वयनमा आउन सकेको छैन । उक्त गुरुयोजनामा फुटबल, भलिबल, क्रिकेट, ब्याटमिन्टन, एथ्लेटिक्स तथा मार्सल आट्र्सका छुट्टाछुट्टै खेल मैदानका साथै इन्डोर खेलहरूका लागि सुविधा सम्पन्न कभर्डहल निर्माणको योजना समावेश गरिएको छ । उक्त गुरुयोजना कार्यान्वयनका लागि जग्गा समेत छुट्याइएको छ । तर बजेट अभावका कारण गुरुयोजना अनुसारका संरचना निर्माण हुनसकेका छैनन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.