मुग्लिन-नारायणगढ सडकको बिजोग : छिनछिनमै खस्छ पहिरो

मुग्लिन-नारायणगढ सडकको बिजोग : छिनछिनमै खस्छ पहिरो

भरतपुर : नारायणगढ-मुग्लिन सडकखण्डको कालिखोलामा शुक्रबार बिहानै पहिरो गएको छ । बिहान साढे आठ बजे गएको पहिरो हटाएर सकिनै लाग्दा उक्त स्थानमा दिउँसो १ बजे पुनः पहिरो खस्यो । दिनभरि पहिरो हटाउने काम गरिए पनि पहिरो हटाउन सकिएन । पाँच घन्टा लगाएर पहिरो हटाउने काम सकिनै लाग्दा फेरि त्यसैमा पहिरो थपिएको हो । ‘पहिलाको पहिरो हटाएर सकिनै लागेको थियो, त्यसैमा फेरि पहिरो गयो', चितवनका एसपी दीपक थापाले भन्नुभयो, ‘पानी परिरहेकाले थपिरहन्छ, छिनछिनमा पहिरो जाने हुनाले यात्रा जोखिमयुक्त बनेको छ ।' रातिसम्म पनि पहिरो हटाउने काम गरिएको थियो । राति काम गर्न मजदुर असुरक्षित महसुस गर्छन् ।

पहिरोले ५० मिटर सडक ढाकेको छ । करिब आठ हजार घनमिटर पहिरो खसेको छ । एउटा ब्रेकरले ढुंगा फोर्ने र लोडरले त्रिशूलीतर्फ पहिरो फाल्ने काम गरिएको थियो । १२ घन्टासम्म पनि पहिरो हटाउन सकिएको थिएन । पहिरोको कारण स्थानीय एकबहादुर मगरको ज्यान गएको छ । ६१ वर्षीय मगर पहिरो पन्छाएको हेर्न जाँदा पहिरोले पुरिएका हुन् । पहिरो हटाएर खोज्ने क्रममा उनको शव भीरमा भेटिएको थियो ।

निकै ठूलो पहिरो खसेपछि यातायात सञ्चालन अवरुद्ध भएको छ । बाटो अवरुद्ध भएपछि यात्रु अलपत्र परेका छन् । इच्छाकामना ६ मा बिहानै पहिरो गएको हो । ठूलो पहिरो गएपछि जाममा परेका सवारीसाधन प्रहरीले फर्काएको थियो । पश्चिम जाने सवारी साधनलाई पोखराको बाटो हुँदै पठाइएको थियो । राजधानी जाने सवारीसाधन हेटौडको बाटो हुँदै पठाइएको थियो ।

पहिरो हटाउनका लागि चारवटा मेसिन प्रयोग गरिएको छ । पहाडबाट ढुंगा खस्दा पहिरो हटाउन निकै जोखिम छ । पहिरोग्रस्त क्षेत्र मानिने यहाँ ठूलो पहिरो गएका कारण हटाउन निकै समय लागेको हो । मुग्लिनदेखि ९ किलोसम्मको क्षेत्रमा अधिकांश स्थानमा पहिरो खस्ने गरेको प्रहरीले जनाएको छ । कालिखोला, तोपेखोला, चार किलो, नौ किलो, साढे दुई किलोमा पहिरो खसिरहने गर्छ । त्यसै घुमाउनेमा पहिरोको जोखिम छ । सामान्य पानी पर्दा पनि पहिरो जाने गरेको छ । नारायणगढ-मुग्लिन सडक आयोजनाले भौगोलिक अध्ययनसमेत गरेको थियो । त्यसक्रममा २९ स्थानलाई पहिरो आउन सक्ने भनी जोखिम क्षेत्र मानेको थियो । आयोजनका इन्जिनियर शिव खनालले भूकम्प र सडक निर्माण क्रममा चट्टान कटान गर्दा पहिरोको जोखिम बढेको बताउनुभयो ।

वर्षासँगै पहिरो जाने क्रम बढेको छ । पहिरोका कारण घन्टौं सवारी जाम हुनाका साथै यात्रा पनि जोखिमपूर्ण रहेको छ । मुग्लिन प्रहरीको टोली पहिरो हटाउनेमा केन्द्रित हुने गरेको छ । असार १२ गते कालिखोला यसअघि प्रहरीको भ्यान र ट्रक बगाएको स्थलबाट करिब ५० मिटर मुग्लिनतर्फ पहिरो खसेको थियो । चार प्रहरीसहितको भ्यान र ट्रक बगाएको थियो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.