किन खुम्चियो माओवादी ?

किन खुम्चियो माओवादी  ?

काठमाडौं :  पहिलो चरणमा १० नगरपालिका जितेको माओवादीले दोस्रो चरणको मत परिणाम सार्वजनिक भइरहँदा तीनवटा नगरपालिकाबाहेक अन्यमा जित हासिल गर्न सकेको छैन । निर्वाचनबाट पहिलो पार्टी बन्ने दाबी नगरे पनि प्रतिस्पर्धी कांग्रेस-एमालेकै हाराहारीमा ‘स्ट्रोङ थर्ड' (बलियो तेस्रो शक्ति) हुने आकलन माओवादी केन्द्रको थियो । तर, माओवादीले यसपटक आफ्नै बलियो आधार इलाका मानिएको रोल्पाकै पनि तीनवटा तह गुमाएको छ । रोल्पाको दुई तह एमाले र एउटा कांग्रेसले माओवादीको पोल्टाबाट खोस्न सफल भएका छन् । दोस्रो चरणको निर्वाचनमा अहिलेसम्म जितेको नगरपालिकामध्ये एउटा रोल्पा नगरपालिका, अर्को बर्दियाको बाह्रबर्दिया नगरपालिका तथा तेस्रो अर्घाखाँचीको भूमिकास्थान नगरपालिका मात्रै हो ।

निर्वाचन तथ्यांक विश्लेषण गर्ने हो भने माओवादीले दोस्रो संविधानसभा निर्वाचनभन्दा केही हदसम्म मत प्रतिशत बढाएको छ । तर, जितेको परिणाम हेर्ने हो भने सहरमा होइन, गाउँमै माओवादी खुम्चन पुगेको छ । पछिल्लो मतपरिणाममा प्रदेश नम्बर १ मा ८, प्रदेश नम्बर ५ मा १६ र प्रदेश नम्बर ७ मा ४ तह माओवादीले जितेको छ । ७० को संविधानसभा निर्वाचनमा १ नम्बर प्रदेशका १४ जिल्लाका ४४ निर्वाचन क्षेत्रमध्ये उसले एक स्थानमा मात्र जितेको थियो । एमालेले २३, कांग्रेसले १७ क्षेत्रमा निर्वाचन जितेका थिए ।

त्यस्तै, प्रदेश नम्बर ५ का १२ जिल्लाका ४१ निर्वाचन क्षेत्रमध्ये माओवादीले ६ स्थानमा चुनाव जितेको थियो । यो प्रदेशभित्रका निर्वाचन क्षेत्रमध्ये कांग्रेसले १७, एमालेले १३ स्थानमा जितेको थियो । प्रदेश नम्बर ७ का ९ जिल्लाका २१ निर्वाचन क्षेत्रमध्ये १ स्थानमा मात्र माओवादीले जितेको थियो । त्यहाँका ९ क्षेत्रमा कांग्रेस, ९ क्षेत्रमा एमाले र अन्य क्षेत्र अन्य पार्टीले जितेका थिए ।

पार्टी विभाजित अवस्थामा परिणाम आफ्नो पक्षमा नआएको निष्कर्ष निकालेको माओवादीले आफ्नो छवि सुध्रेको, शीर्ष नेतृत्व सबै ठाउँ पुगेको दाबीका साथ यसपटकको निर्वाचनमा कांग्रेस-एमाले सरहकै प्रतिस्पर्धी पार्टी बन्ने उद्घोष गरेको थियो । ‘हाम्रो दाबी तेस्रो स्थानमै भए पनि कांग्रेस-एमालेकै प्रतिस्पर्धीका रूपमा आउने खालको थियो', माओवादी केन्द्रका हेडक्वार्टर सदस्य अग्निप्रसाद सापकोटाले अन्नपूर्णसँग भन्नुभयो, ‘तर अपेक्षित परिणाम आएन ।'

दोस्रो चरणमा निर्वाचन भएका कुल ३३४ स्थानीय तहमध्ये माओवादी केन्द्रले ३० स्थानीय तहमा तालमेल गरी निर्वाचन लडेको थियो । अधिकांश स्थानमा कांग्रेससँग तालमेल गरी निर्वाचन लड्दासम्म सहरमा माओवादीले जित्न सकेन । सहरमा पार्टीले नजित्नुमा सत्ता समीकरणका पक्षमा फैलाइएको भ्रम प्रमुख कारण ठान्छन्, माओवादी केन्द्रीय नेताहरू ।

‘धेरै भ्रम थिए, हाम्राविरुद्ध । सत्ता समीकरण बदलिएपछि भ्रम फैलाइएका थिए । राष्ट्रियताको मुद्दा उचालिएको थियो, हामीले गर्न खोजेका काम रिजल्टमा आउने तर भ्रम चिर्न असफल हुनाले पनि सहरमा माओवादीले जितेन', माओवादी नेता सापकोटाले भन्नुभयो ।

तर, चुनावी विश्लेषक माओवादी नेताको त्यस्तो पुष्ट्याइँसँग सहमत देखिँदैनन् । माओवादीले संगठन मजबुत बनाउन, पार्टी एजेन्डा र आफूले सरकारमा रहँदा गरेका कामको व्यवस्थित प्रचार गर्न नसक्दा माओवादीले निर्वाचन जित्न नसकेको विश्लेषकको भनाइ छ ।

‘माओवादीका लागि अहिलेको परिणाम अनौठो र आत्तिनुपर्ने खालको छैन', विश्लेषक तथा सांसद श्याम श्रेष्ठले भन्नुभयो, ‘संगठन मजबुत पार्न नसक्नु, एजेन्डालाई प्रचार गर्न नसक्नु, कमजोर बन्दै जाँदा पनि नेतृत्वले संगठन निर्माणमा ध्यान पुर्‍याउन नसक्नुले माओवादी निर्वाचन हारेको हो ।'

पछिल्लो चरण माओवादी नेता सहरमै बढी केन्द्रित थिए । तर, सहरमा मत ल्याउन सकेनन् । त्यसो हुनुको कारण संगठनभित्रको अस्तव्यस्तता नै मूल कारण भएको श्रेष्ठ बताउनुहुन्छ । ‘निर्वाचन परिणाम पार्टीको पक्षमा आउन सकेन भन्नेमा माओवादीले आत्मसमीक्षा गरेर समस्या पहिचान गर्छ । तर, त्यसलाई कहिल्यै सुधार्नेतिर नेतृत्व नदेखिँदाको अहिलेको चुनावी परिणाम हो', श्रेष्ठले भन्नुभयो ।

विश्लेषक हरि रोक्का माओवादीले अझै पार्टी संगठनलाई रूपान्तरण गर्न नसकेको बताउनुहुन्छ । आन्दोलनबाट आएको पार्टीले आफ्नो सांगठनिक जालोलाई जनस्तरमा फिँजाउने गरी रूपान्तरण गर्न नसक्दा निर्वाचनमा माओवादीले नजितेको रोक्काको विश्लेषण छ । ‘कांग्रेस-माओवादी आन्दोलनबाट आएका पार्टी हुन् तर एमाले आन्दोलनबाट भन्दा पनि संगठन बनाएर आएको पार्टी हो । निर्वाचन जित्नका लागि संगठन चाहिन्छ । त्यो एमालेसँग थियो, उसले निर्वाचन परिणाम आफ्नो पक्षमा बनायो', रोक्काले भन्नुभयो, ‘माओवादी-कांग्रेसले आफूलाई रूपान्तरण गर्न सकेनन्, परिणाम त्यहीअनुसार आयो।'

उम्मेदवार परिचित नभएकाले पनि परिणाम अपेक्षाकृत माओवादीको पक्षमा नदेखिएको हो । ०४८ सालका केही सीमित क्षेत्रमा बाहेक अन्य स्थानीय निर्वाचन लडेको अनुभाव पनि माओवादीसँग थिएन । ‘पहिलो हुने निर्वाचन भनेको पपुलर इमेज भएकाले जित्ने हो, त्यसो भएन भने पार्टीको टिकटले मात्र पनि निर्वाचन जितिँदैन', रोक्काले भन्नुभयो, ‘माओवादीमा पपुलर इमेज भएका उम्मेदवार सहरमा देखिएनन्, जसकारण परिणाम सकारात्मक आउन सकेन ।' कसलाई टिकट कसले कसरी दिएको छ भन्ने कुराले पनि निर्वाचनको नतिजालाई प्रभावित बनाउने परिणामहरूले देखाएका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.