फिफा वरीयतामा नेपाल एक स्थान खस्कियो
काठमाडौं : विश्व फुटबल महासंघ (फिफा) को नयाँ वरीयताक्रममा नेपाल एक स्थान तल झरेको छ। अघिल्लो महिना विश्व वरीयतामा एक सय ६९ औं स्थानमा रहेको नेपाल फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा एक स्थान तल झर्दै एक सय ७० औं स्थानमा पुगेको हो।
गत जुनमा एएफसी एसिया कप छनोट अन्तर्गत घरेलु मैदानमा भएको खेलमा यमनसँग गोलरहित बराबरी खेलेको नेपालले एक अंक थप गरे पनि वरीयतामा सुधार गर्न भने सकेन।
फिफाको नयाँ वरीयता अनुसार नेपाल दक्षिण एसियामा भने पाँचौं स्थानमा यथावत रहेको छ। नेपालभन्दा अघि भारत, माल्दिभ्स, अफगानिस्तान र भुटान रहेका छन्। दक्षिण एसियामा शीर्ष स्थानमा रहेको भारतले आफ्नो वरियतामा चार स्थान सुधार गर्दै ९६ औं स्थानमा उक्लिएको छ।
पछिल्लो २१ वर्षमा भारत पहिलोपटक सबैभन्दा राम्रो वरीयतामा पुगेको हो। भारत अघिल्लो महिना एक सयौं स्थानमा रहेको थियो। त्यसैगरी दक्षिण एसियामा दोस्रो स्थानमा रहेको माल्दिभ्स एक सय ४२औं वरीयतामा छ। यस्तै अफगानिस्तान एक सय ५५ औं, भुटान एक सय ६४औं स्थानमा छ। फिफाको नयाँ वरीयतामा नेपालभन्दा तल बंगलादेश एक सय ९०, श्रीलंका एक सय ९७ र पाकिस्तान २०० औं स्थानमा रहेका छन्।
फिफाले जारी गरेको नयाँ वरीयतामा विश्व विजेता तथा कन्फिडेरेसन कप विजेता जर्मनी शीर्ष स्थानमा पुगेको छ। यस्तै ब्राजिल दोस्रो स्थानमा झर्दा अर्जेन्टिना तेस्रो स्थानमा छ। त्यस्तै पोर्चुगल चौथो, स्वीजरल्याण्ड पाचौं, पोल्यान्ड छैटौं, चिली सातौं, कोलम्बिया आठौं, फ्रान्स नवौं र बेल्जियम दशौंमा स्थानमा छन्।