फिफाद्वारा सुडान निलम्बित
एजेन्सी/जुरिच: अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले अफ्रिकन राष्ट्र सुडानको फुटबल संघलाई निलम्बन गरेको छ । सुडानी फुटबल संघमा भएको सरकारी हस्तक्षेपको विरोध गर्दै आइरहेको फिफाले गत जुन २७ तारिखमा गरेको निलम्बनको निर्णय शुक्रबार सार्वजनिक गरेको हो ।
फुटबल संघ निलम्बनमा परेसँगै अफ्रिकन फुटबल महासंघको आयोजनामा सञ्चालन भइरहेको दुई छुट्टाछुट्टै प्रतियोगितामा सहभागी तीन सुडानी क्लबहरूसमेत प्रतियोगितामा अयोग्य घोषित भएका छन् ।
अफ्रिकन च्याम्पियन्स लिगमा सहभागी भइरहेका दुई सुडानी क्लबले शुक्रबार बेलुका प्रतिस्पर्धा गर्ने कार्यक्रम थियो । कन्फिड्रेसन कपको क्वार्टरफाइनलमा पुगिसकेको अर्को सुडानी क्लबले भने यसै साताको अन्त्यमा खेल्ने तालिका थियो । यद्यपि त्यसको केही घन्टाअघि आएको फिफाको निर्णयले ती क्लबलाई प्रतिस्पर्धा नगरी घर फर्कनुपर्ने भएको छ ।
यसअघि सुडानको न्याय मन्त्रालयले सुडानी फुटबल संघका अध्यक्षसहित संघका अन्य पदाधिकारीहरूलाई पदबाट हटाएको थियो । फिफाले सुडानी न्याय मन्त्रालयको सोही कार्यलाई सरकारी हस्तक्षेप मानेको हो । फिफाले पदबाट हटाइएका ती सबै पदाधिकारीलाई जिम्मेवारीमा नफर्काएसम्म सुडान निलम्बनमा रहिरहने जनाएको छ ।
फिफाको पत्र पुगेसँगै अफ्रिकी फुटबल महासंघले आफ्नो प्रतियोगिता अफ्रिकन च्याम्पियन्स लिगमा सहभागी भइरहेका सुडानी क्लबहरू अल हिलाल ओम्दुर्मान र अल मेरेइखलाई प्रतियोगितामा अयोग्य ठहर गर्दै हटाएको हो ।
अल हिलाल प्रतियोगिताबाट बाहिरिसकेको थियो भने अल मेरिकको एक जितले क्वार्टरफाइनल पुग्ने सम्भावना थियो । अर्को सुडानी क्लब अल हिलाल ओबेइड कन्फिडेरेसन कपको क्वार्टरफाइनलमा पुगिसकेको थियो । फिफाको निलम्बनमा परेका देशको राष्ट्रिय टोली वा कुनै पनि क्लबले फिफा र त्यसअन्तर्गतका निकायहरूले आयोजना गरेका प्रतियोगिता खेल्न पाउँदैनन् । साथै त्यस्ता कुनै पनि देशले फिफाबाट आर्थिक सहायतासमेत पाउँदैनन् ।
सुडान अर्को वर्ष रुसमा आयोजना हुने फिफा विश्वकपबाट यसअघि नै बाहिरिसकेको छ ।
यद्यपि सन् २०१९ मा आयोजना हुने अफ्रिकन कप अफ नेसन्सका लागि सञ्चालन भइरहेको छनोट प्रतियोगितामा भने सहभागी भइरहेको छ । सो छनोटअन्तर्गत सुडानको अर्को खेल अर्को वर्षको मार्चमा रहेको छ । त्यस बेलासम्म निलम्बन कायमै रहेको अवस्थामा सुडानले अफ्रिकन कप अफ नेसन्सको छनोट खेलसमेत खेल्न पाउने छैन ।