खाद्य मिसावट र जोगिने उपाय

खाद्य मिसावट र जोगिने उपाय

प्लास्टिकको चामल हुन्छ कि हुँदैन ? हुन्छ भने कसरी बन्छ ? यस्तो चामल खायो भने स्वास्थ्यमा के असर पर्छ ? कुनकुन खानेकुरामा के मिसावट हुन्छ ? चामलमा प्लास्टिकको चामल मिसावट भएको हल्लासँगै यतिबेला खाद्य बजारमा अनेक बहस भइरहेको सुनिन्छ । हुन त खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले प्लास्टिकको चामल भनी गरिएको हल्ला निराधार भएको प्रमाणित गरिसकेको छ ।

यो हल्लाले नेपाली खाद्य बजारमा मिसावट बहसलाई मात्र सतहमा ल्याएको छैन कुनै जमातले खानेकुरा जस्तो जीवनमरणसँग जोडिएको विषयमा भ्रम फैलाएर बजारमा आतंक पैदा गर्न सक्छन् भन्ने पनि संकेत गरेको छ । खाद्य विभागले प्रयोगशाला परीक्षणमार्फत बेलैमा भ्रम चिर्ने काम गरेको छ । तर यसको अर्थ बजारमा मिसावट नै छैन भन्ने हैन । नेपाली खाद्य बजार मिसावटले नराम्ररी गाँजेको छ ।

सामान्यतया हामी एउटा खानेकुरामा अर्को कुनै वस्तु मिसाउनुलाई खाद्य मिसावटका रूपमा बुझ्ने गर्दछौं । तर खाद्य ऐन २०२३ अनुसार यसको अर्थ फराकिलो छ । विद्यमान ऐनअनुसार मिसावटयुक्त खाद्यपदार्थ भनेको खाद्य वस्तुबाट कुनै तत्ववको सम्पूर्ण वा केही भाग झिकिएको वा घटाइएको, कुनै पनि प्रकारले क्षति वा कमसलता ढाकछोप गरिएको, कुनै वस्तुको सम्पूर्ण वा केही भाग परिवर्तन गरिएको, खाद्य पदार्थको मात्रा वा तौल बढाउन वा गुणस्तर वा क्षमता घटाउन वा वास्तविकभन्दा राम्रो वा बढी मूल्यको देखाउन वा गुणस्तर, क्षमता र मूल्य परिवर्तन गर्न कुनै वस्तु थप गरिएको वा मिसाइएको अवस्थालाई बुझिन्छ ।

कुनै पदार्थ लेबलमा लेखिएको वा नेपाल सरकारले तोकेको अधिकतम सीमाभन्दा बढी वा न्यूनतम सीमाभन्दा कम रहेको, जसको पूरै वा कुनै भागमा फोहोर, कुहिएको, सडेको, दुर्गन्धित भएको जनावर वा वनस्पतिको भाग रहेको वा कीराबाट संक्रमित वा अन्य प्रकारले मानव उपभोगको लागि अनुपयुक्त रहेको, अस्वस्थकर अवस्थामा प्रशोधन, प्याकेज, भण्डारण र वितरण गरिएको खाद्यलाई पनि मिसावटयुक्त भनि बुझिन्छ ।

विशेषगरी माइकोटिक्सिन नामक ढुसीजन्य सूक्ष्म जीवाणुले उत्पादन गर्ने विष भएका खानेकुराहरू, एन्टिबायोटिकको अवशेष धेरै भएका खाद्यहरू, निम्न कोटीको वा खानयोग्य नभएको कच्चा पदार्थको प्रयोगबाट तयार पारिएका खाद्यहरू, सही प्रशोधन तथा भण्डारण शैली नअपनाइएका खानेकुराहरूले उपभोक्ताको स्वास्थ्यमा नराम्ररी असर पारिरहेका छन् । सामान्यतया खाद्य पदार्थहरू हानिकारक सूक्ष्म जीवनहरूको प्रवेशबाट, चरा, कीरा, मुसाहरूबाट, वनस्पतिमा रहेका हानिकारक रसायनबाट, धातुहरूबाट, जीवनाशक विषादीको अवशेषको मात्रा बढी, अखाद्य निषेधित रङहरूको प्रयोगबाट, खाद्य योगशील वा परिरक्षीको अत्यधिक मात्रामा प्रयोग गर्नाले, माइकोटिक्सिनजस्ता हानिकारक रसायन, एन्टिबायोटिक्सको अवशेष बढी भएर, रेडियो एक्टिभिटीबाट, प्याकेजिङ गर्ने पदार्थहरू आदिबाट दूषित हुन सक्दछन् ।

 खाद्य विभागले प्रयोगशाला परीक्षणमार्फत बेलैमा भ्रम चिर्ने काम गरेको छ । तर यसको अर्थ बजारमा मिसावट नै छैन भन्ने हैन । नेपाली खाद्य बजार मिसावटले नराम्ररी गाँजेको छ ।

हुन सक्ने मिसावट


- चामल : बियाँ, कनिका, ढुंगा, उच्च जातको चामलमा निम्न जातका चामल मिसाउने
- तरल दूध : पानी थप्नु, दूधमा रहेको चिल्लो पदार्थ हटाउनु, चिल्लोरहित धूलो दूध मिसाउनु, बासी दूध फाट्ने डरले कार्बोनेट र बाइकार्बोनेट मिसाउनु, दूधलाई बाक्लो पार्न स्टार्च वा पीठो मिसाउनु
- धूलो दूधहरू : स्टार्च, चामलको पीठो वा मैदा, मेलामाइन
- घिउ र नौनी : वनस्पति घिउ, बोसो, मैन, पिडालु वा चिउरीको घिउ
- आइसक्रिम : निषेधित कृत्रिम रङहरू जस्तो मेटानिलएलो, कृत्रिम गुलियो
- चिया : असल चियामा कमसल चिया मिसाउनु, प्रयोग गरिसकेको खोस्टाहरू सुकाएर मिसाउने, काठको धूलो रङ्गाएर राख्ने
- मासु : खसीको मासुमा बाख्रीको मासु, स्वस्थ्य जनावरको मासुमा मरेको जनावरको मासु मिसाउनु
- तोरी दाना : आर्जिमोन दाना
- मिठाईहरू : विभिन्न अखाद्य रङहरूको प्रयोग, मेलामाइल मिसिएको दूध पाउडर
- कुराउनी : मैदा वा बिस्कुट मिसाउनु
- दालहरू : उच्चस्तरको र महँगा दालहरूमा निम्न गुणस्तरका दालहरू मिसाउने साथै रहरमा खेसरी, मुसुरोमा अकरा, पुरानो दाललाई रङयाउने ।
- खाद्य तेलहरू : अखाद्य र खनिज तेल- जस्तो: तोरी तेलमा आर्जिमोन, भटमास, आलसको तेल र भटमासमा खनिज तेल मिसाउने ।
- धुलो मसला : गहुँको पीठो, कोलटार रङबाट रंग्याइएको काठको धुलो मिसाउनु ।
- मरिच : मेवाको दाना ।
- बेसार : मेटानिल एलो, मकैको पीठो अन्य पहेँलदार रङहरू ।
- धनियाँ वा खुर्सानीको धुलो : धानको ढुटो रंग्याएर मिसाउने ।
- नून र चिनी : सेता, मसिना ढुंगाका टुक्राहरू, चकको धुलो, कनिका ।
- मह : चिनीको चास्नी ।
- वनस्पति घिउ : जनावरको बोसो ।
- हल्का पेय पदार्थहरू : चाहिनेभन्दा बढी मात्रामा परिरक्षी, पानी, निषेधित रङहरू ।

मिसावटको असर

मिसावटयुक्त खाद्य पदार्थको उपभोगबाट स्वास्थ्यमा नराम्रो असर पर्न सक्छ । खेसरी दाल मिसाएको दाल खाएमा प्यारालाइसिस, अखाद्य रङ प्रयोग गरिएको खानेकुरा उपभोग गरेमा मिर्गौला, कलेजोमा असर, क्यान्सर लाग्न सक्ने हुन सक्छ । नाबालकदेखि वृद्धसम्मले उपभोग गर्ने दूध नफाटोस् भन्नाका खातिर काष्टिक सोडा हाल्ने गरेको पाइन्छ । त्यसरी काष्टिक सोडायुक्त दूधको सेवनबाट पाचन प्रणालीमा समस्या ल्याउनुका साथै रक्त क्यान्सरजस्ता प्राणघातक रोगको सिकार बनाउँछ ।

सिसा, पारो, आर्सेनिक, टिन, जिंक, तामा आदि धातुहरूको अधिक उपस्थिति भएको खानेकुरा खाएमा बान्ता हुनु, आँखामा असर पर्नु, जाँगर नलाग्नु, प्यारालाइसिस हुनु, पाचन क्रियामा असर पर्ने, दिमाग, मिर्गौलालगायत अन्य अंगमा गम्भीर असरहरू हुन सक्दछन् । हानिकारक जीवाणु÷कीटाणु, परजीवीले संक्रमित खाना खाएमा बान्ता हुनु, पेट दुख्नु, प्यारालाइसिस हुनु, झाडापखाला लाग्नु, ज्वरो आउनु, कलेजो, मिर्गौलालगायत संवेदनशील अंगहरूमा गम्भीर असर पर्नुका साथै स्वास्थ्यमा नराम्रो असर पारी समयमा उपचार हुन नसकेमा कुनै कुनैको प्रभावले मृत्युसमेत हुन सक्छ । पशुजन्य खानेकुरामा एन्टिबायोटिक बढी भएको खानेकुरा खाँदा आरटरीहरू कडा हुनु, मुटुमा समस्या उत्पन्न हुनु र उपचार गर्दा औषधिको असर देखा नपर्न सक्छ । मेलामाइलले मिर्गौलामा पत्थरी, अन्य मूत्र रोगका साथै मृत्युसम्म हुन्छ ।

मिसावटबाट बच्ने उपाय

खाद्य मिसावटको असरबाट बच्न उपभोक्ताले खाद्यवस्तु खरिद तथा उपभोग गर्दा कुनै पनि प्याकिङ भएको खाद्य पदार्थको बाहिरी आवरणमा लेबलमा खुलाउनुपर्ने अनिवार्य मापदण्ड हेरेरमात्र खरिद गर्ने बानी बसाल्नु पर्दछ । उपरोक्त विवरणहरू उल्लेख नभएका प्याकिङ भएको खाद्य पदार्थको खरिद नगर्ने, चरा, मुसाको बिष्टा, रौं, ढुंगा आदि देखिएको वस्तु खरिद गर्नु हुँदैन । बढी रङ देखिने, रंगीबिरंगी, अखाद्य वस्तुहरूजस्तै प्लास्टिकका खेलौना, बेलुन, सिटी आदि प्रयोग भएका खाद्यपदार्थ खरिद नगर्ने, सडेगलेको, झिंगा भन्केको, विषाक्त अवस्थामा तयार पारिएको खाद्यवस्तु खरिद नगर्ने, उपभोग्य मिति समाप्त भएका, सडेगलेका, झिंगा भन्केका, फोहोरी वा बिरामी मानिसले तयार गरेका तथा फोहोर ठाउँमा राखिएका खाद्य वस्तुहरूको खरिद नगर्ने जस्ता सावधानी उपनाउनु आवश्यक हुन्छ ।

खाद्यवस्तुका उत्पादक तथा विक्रेताले खाद्यवस्तु उत्पादन तथा बिक्री वितरण गर्दा शुद्ध कच्चा पदार्थ प्रयोग गर्ने, कामदारको तथा वातावरणको सरसफाइ कायम गर्ने, लेबलमा खुलाउनुपर्ने अनिवार्य मापदण्ड (उत्पादन मिति, उपभोग्य मिति, ब्याच नम्बर, तौल÷आयतन, उद्योगको पूरा नाम, ठेगाना) उल्लेख गर्ने तथा कानुनमा तोकिएका अन्य मापदण्डहरू पूरा गरेर मात्र खाद्य उत्पादन गर्ने गर्नुपर्दछ । बजारमा हुने बेथितिलाई कम गर्न नियमनलाई प्रभावकारी बनाउन अत्यावश्यक छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.