विवादको घेरामा आईजीपी अर्याल

विवादको घेरामा आईजीपी अर्याल

काठमाडौं : प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवा सिफारिसमा परेपछि दंग नायब महानिरीक्षक (डीआईजी) मिङ्मार लामा केही दिनमै निराश बन्न पुगे । बढुवा सिफारिसमा परेको केही दिनमै उनलाई गृहमन्त्री जनार्दन शर्माले प्रहरी मुख्यालय काजमा ताने । गृह मन्त्रालयले लामालाई काजमा तान्न अनि प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सर्वेन्द्र खनाललाई ट्राफिक प्रहरी महाशाखा पठाउन मुख्यालयमा पत्र पठाएको स्रोतले जनाएको छ ।

प्रहरी महानिरीक्षक (आईजीपी) प्रकाश अर्यालले अडान लिन नसक्दा विनाआरोप लामालाई काजमा तानिएको चर्चा मुख्यालयमा छ । लामा असार ३० गते एआईजी बढुवाको सिफारिसमा परेका थिए । मंगलबार मात्र उनलाई मुख्यालय तानेर डीआईजी बढुवा सिफारिसमा परेका एसएसपी खनाललाई महाशाखाको जिम्मेवारी सुम्पिएको छ । उच्च प्रहरी अधिकारीको काज सरुवाबारे पूर्वआईजीपी कुवेरसिंह राना भन्छन्, 'बढुवा सिफारिसमा परिसकेको अवस्थामा नियमित प्रक्रियामा सरुवा गरेको भए राम्रो हुन्थ्यो, दबाब आयो भन्दैमा संगठन प्रमुखले गलत सन्देश दिने काम गर्नुहुँदैनथ्यो ।'

एसएसपीबाट डीआईजीका लागि बढुवा सिफारिस गर्दा पनि आईजीपी अर्याल विवादको घेराबाट बाहिर रहन सकेनन् । ब्याडमिन्टन खेल्दा लडेर अर्धचेत अवस्थामा रहेका एसएसपी राजेन्द्रमान श्रेष्ठ बढुवा सिफारिसमा परेनन् । उनी एसएसपीमा तेस्रो नम्बरका अधिकृत हुन् । उनकै ब्याचका एक प्रहरी अधिकृत भन्छन्, 'आईजीपीले यो राम्रो गर्नुभएन, उहाँले गृहमन्त्रीलाई कन्भिन्स गर्न सक्नुपर्थ्यो । एक तह सम्मानस्वरूप बढुवा दिएपछि अर्कोपटक विचार गर्न सकिन्थ्यो । श्रेष्ठलाई अन्तिम अवस्थामा अपमानित गरियो ।' प्रहरी स्रोतका अनुसार एसएसपी श्रेष्ठलाई बढुवा गर्नुपर्ने आशयसहितको पत्र मन्त्रालयमा पुगेको छ ।

'बाहिर जेजति टीकाटिप्पणी भए पनि म विधिसम्मत ढंगले चलेको छु ।' -प्रकाश अर्याल आईजीपी

प्रहरी नायब उपरीक्षक (डीएसपी)बाट प्रहरी उपरीक्षक (एसपी) बढुवा सिफारिसमा पनि आईजीपीको 'स्वेच्छाचारिता' देखिएको प्रहरी अधिकृत बताउँछन् । मध्यमाञ्चल क्षेत्रीय प्रहरी कार्यालय हेटौंडाबाट निलम्वनको सिफारिस गरिएका डीएसपी सञ्जीव शर्मा दासलाई बढुवा सिफारिस गरेपछि अर्याल आलोचित बन्न पुगे । शर्मालाई बढुवाका लागि सिफारिस गरेको सार्वजनिक भएपछि सर्वत्र विरोध भएका कारण गृहमन्त्री शर्माले निलम्बन गर्न निर्देशन दिए ।

क्षेत्रबाट निलम्बन गर्नुपर्ने पत्र, मुख्यालयले गृहमा पनि दासलाई निलम्बन गर्नुपर्ने आशयको पत्र पठाइसके पनि बढुवा सिफारिसमा राखेपछि अर्यालले मन्त्री शर्माको हप्की नै खानुपरेको थियो । मुख्यालयमा भने गृहमन्त्रीनजिक र शक्तिकेन्द्र धाएकाहरूलाई अर्यालले बढुवा सिफारिसमा पारेको चर्चा छ । एसपीबाट एसएसपी, एसएसपीबाट डीआईजी र डीआईजीबाट एआईजी बढुवा सिफारिसमा प्रहरी नेतृत्व चुकेको उनीहरूको भनाइ छ । प्रतिस्पर्धी भए पनि बढुवामा नपरेपछि डीआईजी मधु पुडासैनी, एसएसपी सुवास चौधरी र एसपी विभूतिराज पाण्डेले अन्याय गरिएको भन्दै लोकसेवा आयोगमा उजुरीसमेत दिएका थिए ।

पूर्वआईजीपी उपेन्द्रकान्त अर्यालले तत्कालीन गृहमन्त्री वामदेव गौतम र विमलेन्द्र निधिसँग बढुवा सिफारिस गर्दा खटपट परे पनि प्रहरी अधिकृतको पक्षमा लबिङ गरेका थिए । एसएसपी रमेश खरेललाई नसिहत दिन गौतमले दिएको निर्देशनको अवज्ञा गर्दै उनी 'राम्रा प्रहरी अधिकृतको वृत्तिविकासमा असर पर्ने खालको निर्णय नगरौं' भन्दै खरेलको पक्षमा उभिएका थिए । निधिले काठमाडौं परिसरमा छविलाल जोशीलाई ल्याउन दबाब दिएका थिए । उपेन्द्रकान्तले अस्वीकार गरेपछि जोशीलाई एकलौटी ढंगले काठमाडौं परिसरमा ल्याउन निधि सफल भएका थिए ।

'पूर्वआईजीपीजति पनि अडान अहिलेको आईजीपी साहेबमा छैन', एक प्रहरी अधिकृत भन्छन्, 'आईजीपी अर्यालको व्यस्तता अत्यधिक देखिए पनि विवादबाट मुक्त हुन सक्नुभएको छैन । गृह मन्त्रालयबाट एक सहसचिवले फोन गरे भने पनि आईजीपी साहेब आफैं पुग्नुहुन्छ, सचिवालयमा उहाँका सहयोगी राखेको के काम ? '

मुख्यालयका उच्च अधिकृतले संगठन सुदृढीकरणमा अर्यालको अडान नरहेको आरोप लगाए । 'उहाँले गृहमन्त्रीलाई संगठनको धारणा यो हो भनेर पेस गर्न सक्नुभएको छैन', ती अधिकृतले भने, 'यसरी त संगठनको वृत्तिविकासमा नकारात्मक असर पर्छ ।' प्रहरी नायब निरीक्षक (सई) बाट प्रहरी निरीक्षक (इन्स्पेक्टर)मा बढुवा गर्नुपर्ने प्रक्रियासमेत अहिले अवरुद्धजस्तै छ । धेरैजसो सई अहिले तत्काल बढुवा नभए अवकाशको मुखमा छन् ।

आईजीपी अर्यालले समकक्षीसँग आफूले राम्रो गर्न खोज्दाखोज्दै मन्त्री शर्माको चेपुवामा परेको बताउन थालेका छन् । प्रहरी अधिकृतले नेता प्रयोग गरी आफूलाई अनावश्यक दबाब दिन नछाडेको गुनासो उनले गर्न थालेका छन् । आईजीपी अर्याल भने आफू विधिसम्मत ढंगले अघि बढिरहेको दाबी गर्छन् । 'बाहिर जे जति टीकाटिप्पणी भए पनि म विधिसम्मत ढंगले चलेको छु', उनी भन्छन्, 'संगठनलाई अझै सुधार्ने पक्षमा छु ।' यसभन्दा बढी प्रतिक्रिया दिन उनले अस्वीकार गरेका छन् ।

 यस्ता छन् आईजीपीका कमजोरी
- गृहमन्त्री जनार्दन शर्मासामु निरीह
- बढुवा सिफारिसमा न्याय गर्न असफल
- निलम्वन सिफारिसकालाई पुरस्कार
- शक्तिकेन्द्र धाउनेलाई नै अवसर
- बढुवा सिफारिसविरुद्ध लोकसेवामा उजुरी
- पदीय मर्यादा कायम गर्न नसकेको आरोप
- अत्यधिक व्यस्तता
- संगठन सुदृढीकरणमा कमजोर अडान


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.