निर्वाचन क्षेत्र निर्धारण

निर्वाचन क्षेत्र निर्धारण

काठमाडौं : निर्वाचन क्षेत्र निर्धारण आयोगले पहिले 'प्रदेश स्तर' बाटै क्षेत्र निर्धारण गर्ने भएको छ । संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलसँगको छलफलपछि आयोगले दलहरूको सुझावका आधारमा 'प्रदेशस्तर' बाटै क्षेत्र निर्धारण गर्ने जनाएको हो ।

'पहिले प्रदेशस्तरमा जनसंख्या र भूगोललाई आधार बनाएर क्षेत्र निर्धारण गर्ने, त्यसपछि मात्र प्रत्येक जिल्लामा एउटा अनिवार्य हुने गरी क्षेत्र निर्धारण गर्न दलहरूले दिएको सुझावमा आयोग सहमत भएको छ,' आयोग र दलका प्रतिनिधिबीचको छलफलपछि कांग्रेस नेता विमलेन्द्र्र निधिले अन्नपूर्णसँग भने, 'अब आयोगले पनि सोहीअनुसार काम अगाडि बढाउनेछ ।'

सरकारले २१ दिनभित्र प्रतिनिधिसभा र प्रदेशसभाको क्षेत्र निर्धारण गरी प्रतिवेदन बुझाउन साउन ५ गते सर्वोच्च अदालतका पूर्वन्यायाधीश कमलनारायण दासको अध्यक्षतामा क्षेत्र निर्धारण आयोग गठन गरेको थियो । आयोगले आइतबार दलका नेतालाई आफ्नै कार्यालय सिंहदरबारमा बोलाई छलफल गरेको थियो ।

जनसंख्या र भूगोललाई प्रतिनिधित्वको आधार मानी जनसंख्याको घनत्व, भौगोलिक विशिष्टता, प्रशासनिक एवं यातायातको सुगमताका पक्षलाई ध्यान दिएर क्षेत्र निर्धारण गर्न दलहरूको सुझाव ।

दलहरूले जनसंख्या र भूगोललाई प्रतिनिधित्वको आधार मानी जनसंख्याको घनत्व, भौगोलिक विशिष्टता, प्रशासनिक एवं यातायातको सुगमताका पक्षलाई निर्वाचन क्षेत्र निर्धारण गर्दा ध्यान दिन आयोगलाई सुझाएका छन् । छलफलमा एमाले अध्यक्ष केपी ओली, वरिष्ठ नेता झलनाथ खनाल, माओवादी अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस नेता विमलेन्द्र निधि, रामशरण महत, मीनेन्द्र रिजाल, संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, राजपा अध्यक्षमण्डलका नेता राजेन्द्र्र महतो, फोरम लोकतान्त्रिकका नेता तथा उपप्रधानमन्त्री विजयकुमार गच्छदार, नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छेलगायत सहभागी थिए ।

आयोगले संविधानअनुसार १ सय ६५ सिटको प्रतिनिधिसभा र ३ सय ३० सिटको प्रदेशसभाका लागि निर्वाचन क्षेत्र निर्धारण गर्नुपर्ने छ । हाल कायम रहेको ७५ वटै जिल्लामा प्रतिनिधिसभाको एउटा निर्वाचन क्षेत्र हुने गरी क्षेत्र निर्धारण गर्नुपर्ने 'टिओआर' संविधानमै व्यवस्था छ ।
आयोगले खोज्यो दुई विषयमा प्रस्टता

क्षेत्र निर्धारण आयोगले प्रमुख राजनीतिक दलका नेताहरूसँग प्रतिवेदन तयार पार्नुअघि दुईवटा विषयमा संवैधानिक प्रस्टता खोजेर आइतबारको बैठक बोलाएको थियो । आयोगका सदस्य माधव अधिकारीका अनुसार संविधानको धारा २८६ को उपधारा ५ मा उल्लिखित आयोगको टिओआर र संविधानकै अनुसूचीमा रहेको ७७ जिल्लाको प्रावधानमा आयोगले प्रस्टता खोजेको हो ।

त्यसैलाई विषय बनाउँदै आयोगले विभिन्न दलका शीर्ष नेतासँग छलफल गरेको आयोगका सदस्य अधिकारीले बताए । 'संवैधानिक व्यवस्थामै भएका केही प्रावधानमा हाम्रा र दलका बुझाइ के–कस्ता छन्, कति समानता छ भन्ने विषयमा बुझ्न राजनीतिक दलका शीर्ष नेतासँग छलफल गरिएको हो,' अधिकारीले अन्नपूर्णसँग भने ।

संविधानको धारा २८६ (५) मा आयोगले क्षेत्र निर्धारण गर्दा जनसंख्या र भूगोललाई प्रतिनिधित्वको आधार मानी त्यस्तो निर्वाचन क्षेत्रको भूगोल, जनसंख्या र सदस्य संख्याबीचको अनुपात समान हुनेगरी निर्धारण गर्नुपर्ने व्यवस्था छ । यसअघि ७५ जिल्ला रहँदै आएकोमा रुकुम र नवलपरासीलाई टुक्र्याएर संविधानको अनुसूचीमा ७७ जिल्लाको व्यवस्था छ ।

अहिलेसम्म के गर्‍यो आयोगले ?

२१ दिनभित्र प्रतिवेदन बुझाउन सरकारले दिएको कार्यादेशअनुसार गठन भएको आयोगले सिंहदरबारमा कार्यालय स्थापना गरेर काम थालेको छ । यसै क्रममा उसले संवैधानिक व्यवस्थाअनुसार सूचना संकलन, तथ्यांक विश्लेषणलगायत काम गरिरहेको छ । क्षेत्र निर्धारणमा सुझाव दिन आयोगले सातदिने सार्वजनिक सूचना जारी गरिसकेको छ भने राजनीतिक दललाई लिखित रूपमै सुझाव दिन आग्रह गरेको छ ।

पोखरा, नेपालगन्ज, सुर्खेत, धनगढी, विराटनगरलगायत मुख्य सहरमा आयोगले सुझाव संकलनका लागि कार्यक्रम नै राखेको छ । यी स्थानमध्ये केहीमा आयोग पदाधिकारी नै पुगेर सूचना संकलन गरिसकेका छन् भने केहीमा जाने तयारीमा छन् ।

'हामीसँग समय छैन, सबै स्थानमा सुझाव संकलन गर्न जान भ्याउने अवस्था पनि रहेन,' आयोग सदस्य अधिकारीले भने, 'मुख्य सहरहरूमा मात्र सूचना संकलन गर्ने गरी कार्यविधि बनाएर काम थालेका छौं ।' राजनीतिक दलका नेतासँग परामर्श गर्नुअगाडि आयोग पदाधिकारीले कानुन, ग्रामीण विकास, भूगोल, समाजशास्त्रका ज्ञाता र विद्यार्थीसँग पनि छलफल गरेको थियो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.