१६ जिल्लामा रोपाइँ न्यून

१६ जिल्लामा रोपाइँ न्यून

 काठमाडौं : साउनको तेस्रो साता वितिसक्दा पनि सिँचाइको अभावमा राम्रो धान उत्पादन हुने १६ जिल्लामा रोपाइँ हुन सकेको छैन । आकाशे पानीको भरमा रोपाइँ गर्नु पर्ने ती जिल्लामा वर्षा राम्रोसँग नहुँदा रोपाइँ गर्न नसकेर धेरै जसो जमिन खाली छ ।

धान बढी फल्ने जिल्लामै रोपाइँ हुन नसक्दा धान उत्पादनमा कमी आउने अनुमान गरिएको छ । अहिलेसम्म बाँकेमा कूल ३६ हजार पाँच सय हेक्टरमध्ये ३० प्रतिशत अर्थात् १० हजार नौ सय ५० हेक्टरमा मात्रै रोपाइँ सकिएको छ । त्यसपछि महोत्तरीमा ३६ प्रतिशत रोपाइँ सकिएको छ । महोत्तरीमा ३४ हजार पाँच सय हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेकोमा हालसम्म १२ हजार चार सय २० हेक्टरमा रोपाइँ सकिएको हो ।

सिराहामा कूल ५१ हजार पाँच सय ७५ हेक्टरमध्ये ३९ प्रतिशत अर्थात् २० हजार एक सय १४ हेक्टरमा मात्रै रोपाइँ भएको छ । यसैगरी धनुषामा ४० प्रतिशतका दरले २६ हजार दुई १६ हेक्टरमा रोपाइँ सम्पन्न भएको छ । मन्त्रालयका सहप्रवक्ता शंकर सापकोटाकाअनुसार आकाशे पानीको अभावमा तराईका धेरै जसो ठाउँमा रोपाइँ हुन सकेको छैन ।

‘समयमा पानी नपर्दा तराईका अधिकांश किसानले पम्पसेट र ट्युबवेलको सहयोगमा रोपाइँ गरेका छन्,' सापकोटाले भने, ‘रोपाइँ भइसकेको जमिनमा पनि सिँचाइको अभावमा जमिनमा धाजा फाट्न थालेको छ ।' उनकाअनुसार सप्तरीमा ६५, सुनसरीमा ७५, मोरङमा ५५, झापामा ७२, सर्लाहीमा ५०, पर्सा र बारामा ९८-९८, रौतहट र चितवनमा ८५-८५, कपिलवस्तुमा ७५, रूपन्देहीमा ९९ र नवलपरासीमा ९८ प्रतिशतको हाराहारीमा रोपाइँ सकिएको छ । यस्तै बर्दियामा ९१ प्रतिशत, दाङमा ६५ प्रतिशत रोपाइँ सकिएको छ । मन्त्रालयका प्रवक्ता योगेन्द्र कार्कीले भने यो वर्ष अघिल्लो आर्थिक वर्षको तुलनामा थप दुई लाख मेट्रिक टन बढी धान फल्ने दाबी गरे ।

मौसमविद् शान्ति कँडेलकाअनुसार तुलनात्मक रूपमा पश्चिमभन्दा पूर्वमा पानी कम पर्दा रोपाइँमा समस्या आएको हो । उनले यो वर्ष बंगालको खाडीबाट कमजोर अवस्थामा मनसुन प्रवेश गरेको बताए । त्यो पनि पूर्ण रूपमा सक्रिय हुन सकेन । उनले भने, ‘पूर्वी क्षेत्रमा जल वाष्प राम्ररी विकसित हुन सकेन, जसले गर्दा पश्चिमी क्षेत्रको तुलनामा पूर्वमा पानी राम्रोसँग पर्न सकेन ।'

अहिलेसम्म देशभर करिब ७७ प्रतिशत क्षेत्रफलमा रोपाइँ सकिएको छ । उच्चपहाडमा ८५.१६, मध्यपहाडमा ८५.४३ र तराईमा ७३.५३ प्रतिशत क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको छ ।

धान बढी फल्ने जिल्ला कैलाली, कञ्चनपुर र थोरै क्षेत्रफल भएको बझाङ, जुम्ला, डोल्पा र हुम्लामा शतप्रतिशत रोपाइँ भएको मन्त्रालयले जनाएको छ । काठमाडौंमा ९५, भक्तपुरमा ८५ र ललितपुरमा ८८ प्रतिशतको हाराहारीमा रोपाइँ सम्पन्न भएको छ । अन्य जिल्लामा भने ६० देखि ९५ प्रतिशतको हाराहारीमा रोपाइँ भएको छ । गत वर्ष इतिहासमै सर्वाधिक धान उत्पादन भएको थियो । गत वर्ष ५२ लाख ३० हजार मेट्रिक टन धान फलेको थियो । अघिल्लो वर्ष भने ४२ लाख ९९ हजार मेट्रिक टन धान फलेको थियो ।

धान उत्पादनका हिसाबले गत वर्ष झापा पहिलो थियो । झापामा गत वर्ष तीन लाख ३८ हजार मेट्रिक टन धान उत्पादन भएको थियो । यसैगरी दोस्रो नम्बरमा मोरङ थियो । मोरङमा गत वर्ष तीन लाख २५ हजार आठ सय मेट्रिक टन धान उत्पादन भएको थियो । तेस्रो नम्बरमा कैलालीमा दुई लाख ८३ हजार दुई सय २४ मेट्रिक टन र चौथो रूपन्देहीमा दुई लाख ७२ हजार एक सय ८४ मेट्रिक टन धान फलेको वरिष्ठ तथ्यांक अधिकृत रामकृष्ण रेग्मीले जानकारी दिए ।

यस्तै बारामा दुई लाख ४० हजार चार सय २५ मेट्रिक टन, धनुषामा दुई लाख २५ हजार तीन सय ९८ मेट्रिक टन, कपिलवस्तुमा दुई लाख १० हजार पाँच सय ८२ मेट्रिक टन, बर्दियामा दुई लाख दुई हजार मेट्रिक टन, सुनसरीमा एक लाख ८४ हजार मेट्रिक टन र सुनसरीमा एक लाख ८४ हजार मेट्रिक टन धान उत्पादन भएको थियो ।

नवलपरासीमा एक लाख ८२ हजार, पर्सामा एक लाख ८० हजार, कञ्चनपुरमा एक लाख ६७ हजार, सप्तरीमा एक लाख ६२ हजार र सिराहामा एक लाख ५५ हजार मेट्रिक टन धान फलेको थियो । सात-आठ वर्षदेखि सुनसरी, सप्तरी, सिराहा, धनुषा, सर्लाही, महोत्तरीलगायत जिल्लामा कम परिमाणमा धान फल्दै आएको छ ।

अहिलेसम्म देशभर करिब ७७ प्रतिशत क्षेत्रफलमा रोपाइँ सकिएको छ । उच्च पहाडमा ८५.१६, मध्यपहाडमा ८५.४३ र तराईमा ७३.५३ प्रतिशत क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको मन्त्रालयको ठहर छ । धानको कूल क्षेत्रफलमध्ये झन्डै तीन चौथाई जमिन तराईमै छ ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.