केन्द्रीय डाँक परिवहन सेवाको तयारी

केन्द्रीय डाँक परिवहन सेवाको तयारी

 भरतपुर : सार्वजनिक यातायातबाट डाँक परिवहन सेवा प्रभावकारी नभएपछि सरकारले गाडी खरिद गरी केन्द्रीय डाँक परिवहन सेवा सुरु गर्ने तयारी थालेको छ । जिल्ला हुलाक कार्यालय चितवनबाट दुई साताभित्रै केन्द्रीय डाँक परिवहन सेवा सुरु गर्ने जनाएको हो । डाँक परिवहनका भरतपुरस्थित जिल्ला हुलाक कार्यालय परिसरमा चारवटा गाडी तयारी अवस्थामा राखिएका छन् ।

काठमाडौंको सुन्धारास्थित केन्द्रीय डाँक परिवहन सेवा भरतपुरबाट सञ्चालन गर्न आवश्यक प्रक्रिया सुरु भइसकेको जिल्ला हुलाक कार्यालय चितवनका कार्यालय प्रमुख नेत्रविलास पन्तले जानकारी दिए । ‘अबदेखि सरकारी गाडीमा सबै डाँक (चिठ्ठीपत्र, पार्सल) काठमाडौंबाट भरतपुर ल्याएर देशका सबै क्षेत्रमा पुर्‍याइनेछ', उनी भन्छन्, ‘साउन अन्तिम साताबाट दुईवटा गाडीले पूर्व क्षेत्रमा र दुईवटाले पश्चिम क्षेत्रमा डाँक परिवहन सेवा दिनेछन् ।'

चितवनबाट पूर्व र पश्चिमका चिठ्ठीपत्र एवं पार्सल छुट्याएर डाँक परिवहन सेवामार्फत सम्बन्धित जिल्लामा पठाइनेछ ।

पूर्वपश्चिम राजमार्गले छोएका जिल्लास्थित जिल्ला हुलाक र इलाका हुलाक कार्यालयमा सरकारी गाडीले डाँक पुर्‍याउने र ल्याउने जिल्ला हुलाक अधिकृत पन्त बताउँछन् । डाँक बोक्ने सरकारी गाडीमा चालक, सहचालक र तत्कालका लागि एक जना हुलाक कार्यालयकै कर्मचारी परिचालन गरिने पन्तको भनाइ छ ।
काठमाडौंस्थित हुलाक गोश्वारा कार्यालयमा ठाउँ अपर्याप्त भएको र सार्वजनिक यातायातबाट डाँक सेवा प्रभावकारी नभएपछि केन्द्रीय डाँक विनिमय केन्द्र चितवनमा सार्न लागिएको हो ।

केन्द्रको काम चितवनबाट सुरु भएपछि विदेशबाट काठमाडौं आइपुगेका चिठ्ठीपत्र र पार्सल गोश्वारा कार्यालयकै गाडीमा चितवनसम्म ल्याइनेछ । चितवनबाट पूर्व र पश्चिमका चिठ्ठीपत्र एवं पार्सल छुट्याएर डाँक परिवहन सेवामार्फत सम्बन्धित जिल्लामा पठाइनेछ । पहिले सार्वजनिक यातायातबाट ठेक्कामा डाँक विनिमय हुँदै आएको थियो । डाँक सेवालाई प्रभावकारी बनाउन जिल्लामा डाँक सेवा विनिमय केन्द्र स्थापना गरिएको जिल्ला हुलाक अधिकृत पन्तको भनाइ छ ।

हुलाक टिकटबाट ५६ लाख आम्दानी

गत आर्थिक वर्षमा जिल्ला हुलाक कार्यालय चितवनबाट ५६ लाख रुपैयाँको हुलाक टिकट बिक्री भएको छ । सरकारी कामको सिलसिलामा निवेदन दिन हुलाक टिकट प्रयोग हुँदै आएको छ । चिठ्ठीपत्र पठाउने क्रम कम भए पनि सरकारी कार्यालयमा दिइने निवेदनमा हुलाक टिकट टास्नुपर्ने प्रावधानले हुलाक टिकटको बिक्रीबाट राजस्व संकलन बढेको हो ।

जिल्ला हुलाक कार्यालयले गत आर्थिक वर्षमा आम्दानी गरेको कुल ९२ लाख २२ हजार रुपैयाँ राजस्वमध्ये हुलाक टिकट बिक्रीबाट ५६ लाख रुपैयाँ संकलन भएको छ । विदेशबाट पठाइने पार्सलको भन्सार कर र मूल्य अभिवृद्धि करबाट गत आर्थिक वर्षमा पाँच लाख २४ हजार रुपैयाँ संकलन भएको जिल्ला हुलाक कार्यालयले जनाएको छ । हुलाक कार्यालयले लोक सेवा आयोगको परीक्षा दस्तुरबाट १५ लाख ३८ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । पाँच सय वाटसम्मको एफएम रेडियोको लाइसेन्स नवीकरण एवं रोयल्टी शुल्क र केबुल टीभी सञ्चालन इजाजतपत्रको नवीकरण एवं रोयल्टीको कामसमेत जिल्ला हुलाक कार्यालयबाट हुँदै आएको छ ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.