पहिरोमा पुरिएर एकै परिवारका तीन जनाको मृत्यु
फिदिम: लगातारको बर्षाका कारण पाँचथरमा पहिरोमा परी एकै परिवारका तीन जनाको मृत्यु भएको छ भने एक बृद्ध वेपत्ता छन्।
शुक्रबार बिहान आठ बजे गएको पहिरोमा पुरिएर फालेलुङ ३ ताङ्लेपाका एकै परिवारका तीन जनाको मृत्यु भएको वडाध्यक्ष विरविक्रम थाम्सुहाङले जानकारी दिए।
मृत्यु हुनेमा विष्णुभक्त राई, उनकी छोरी र नाति रहेका छन्। त्यस्तै शुक्रबार बिहान पहिरोमा परी फालेलुङ १ चुम्पादिनका ७३ बर्षीय बृद्ध तिलोचन विक पहिरोमा पुरिएका छन्। उनको हात मात्र देखिएको तर अहिलेसम्म उद्धार हुन नसकेको स्थानीय प्रेम खड्काले बताए। उद्धारका लागि प्रहरी घटनास्थल पठाएको प्रहरी नायब उपरीक्षक नकुल पोख्रेलले बताए।
उता फालेलुङ तीन माङ्लेबुमा पनि शुक्रबार बिहान पहिरो जाँदा चार घर पुरेको वडा अध्यक्ष वीर विक्रम थाम्सुहाङले बताए। मान बहादुर जवेगु, मंगल बहादुर राई, तेज बहादुर जवेगु, र नरेन्द्रलाल चौहाको घर पुरिएको बताइएको छ। दर्जनौ घरहरु पहिरोको उच्च जोमिमा परेका स्थानीयले बताए। यस्तै फालेलुङको वडा नं १ चुम्पादीनमा पनि पहिरोले चार घर पुरेको छ।