संगीतमा लीन
![संगीतमा लीन](https://annapurnapost.prixacdn.net/media/albums/balika_music-598feb40119bd5.65116759_guMbARfSlK.jpg)
सिन्धुपाल्चोक बिसिखंरकी १४ वर्षीया सुजालक्ष्मी तामाङको घर भूकम्पले ध्वस्त बनायो । आमालाई पनि उनले त्यही भूकम्पमा गुमाइन् । आमाको मृत्युपछि बिचल्लीमा परेको परिवारमा उनलाई पनि अब के गर्ने र पढाइलाई कसरी अगाडि बढाउने भन्ने चिन्ता लाग्यो । यही क्रममा आफन्तको सहयोगमा उनी गौशालास्थित शान्ति सेवागृहमा आइपुगिन् । सानैमा विभिन्न समस्या झेलेका कारण उनको आत्मबल त उति बलियो थिएन यहाँ पनि । यद्यपि मन बहलाउनकै लागि भए पनि उनले त्यहाँ संगीत सिक्न थालिन् । पियानो पारखी सुजालक्ष्मी किबोर्ड बजाउन पनि रमाइलो मान्छिन् । संगीतले जीवनमा ऊर्जा भरिदिएको महसुस गरेकी उनले भनिन्, ‘संगीतले खुसी दिँदोरहेछ ।’
हाल उनी गृहले नै सञ्चालन गरेको शान्ति प्राथमिक अंग्रेजी विद्यालयमा पढ्छिन् । यसै विद्यालयमा कक्षा ५ मा पढ्ने हुम्ला खोल्चीका धर्मराज शाही पनि अहिले गितार सिकिरहेका छन् । एक वर्षदेखि गितार सिकिरहँदा धर्मराजले विस्तारै गितारको कोर्ड्स, स्ट्रिङ्स र विट्स बुभ्mन थालेका छन् । ‘संगीतमा सूत्रहरू बुझ्न थालेपछि झनै मजा हुने रहेछ,’ उनले सुनाए । उनी गितारमात्रै होइन पियानो पनि बजाउन चाहन्छन् ।
तबलाबादक सरिता मिश्रका अनुसार संगीतले रौंरैाँमा पुगेर सकारात्मक भाइब्रेसन जगाउने हुँदा यसको लतमा लागेका बालबालिका कहिल्यै दुव्र्यसनमा नफस्ने प्रमाणित भइसकेको छ ।
विभिन्न कि थिच्दा आवाज आउने भएकाले पियानो बजाउने रहर जागेको उनले बताए । हुम्लामा घरायसी र आर्थिक समस्या परेका कारण शान्ति स्कुलमा आइपुगेका हुन् धर्मराज । संगीतले दिनभरि विद्यालयको ह्याङआउट मेटाउने र ज्ञानगुनको कुरा र अनुभव सिकाउने उनको अनुभव छ । उनी गितारबाट साँच्चै नै राम्रो धुन भर्न सक्ने भइसकेका छन् । ‘फूलको आँखामा फूलै संसार’, ‘सैयौं थुंगा फूलका हामी एउटै माला नेपाली’ जस्ता गीतमा धुन बजाउँदा उनलाई रमाइलो लाग्छ ।
धर्मराज र सुजालक्ष्मी जस्तै शान्ति स्कुलका ३७ जना विद्यार्थी गौरीघाटस्थित ‘नाद संगीत पाठशाला’ मा तबलावादक सरिता मि श्रलगायत १० जना प्रशिक्षकसँग संगीत सिक्दै आएका छन् । मि श्रका अनुसार संगीतले रौंरैाँमा पुगेर सकारात्मक भाइब्रेसन जगाउने हुँदा यसको लतमा लागेका बालबालिका कहिल्यै दुव्र्यसनमा नफस्ने प्रमाणित भइसकेको छ । सुरुसुरुमा धेरै नै निरास बालबालिका पनि संगीत सिकेपछि ठीकठाक भएको उनी स्वयंले देखेकी छिन् ।
संगीत सिक्न थालेपछि त्यहाँका बालबालिकाले पढाइमा पनि उत्तिकै ध्यान दिन लागेका उनले बताइन् । सुरुसुरुमा आउँदा आँखा जुधाएर हेर्न नसक्ने बालबालिका पनि महिना दिनपछि नै आत्मविश्वासी बनेका उनले देखेकी छिन् । विशेषगरी जोखिममा परेका बालबालिकालाई विगत आठ वर्षदेखि संगीत सिकाउँदै आएकी मि श्र भन्छिन्, ‘बालबालिकालाई सानैदेखि संगीत सिकाउन सकियो भने उनीहरूलाई आत्मविश्वासी बनाउन सकिन्छ ।’
बालबालिकाले गितार, मादल, तबला, बाँसुरी, भायोलिन, भोकल र नृत्य कला सिक्ने गरेका छन् । संगीत प्रशिक्षणकै क्रममा बालबालिका संगीतको रागमा रमाउन थालेकाले उनीहरूको मनमा लुकेको त्रास र शंका पनि भाग्दै गएको छ । यहाँ पाँच वर्ष उमेरसमूहदेखिका बालबालिका आआफ्नो रुचिअनुसारको सांगीतिक विधामा लागेका छन् ।
शान्ति स्कुलमा होस्टल इन्चार्जको रूपमा काम गर्दै आएकी रोशनी खड्काका अनुसार बालबालिकाको रुचिअनुसार संगीतको विधा छान्ने छुट उनीहरूलाई दिइएको छ । पढाइलाई बोझ मान्नेहरू संगीतले दिमाग शान्त पारेको अनुभव गर्न थालेका पनि उनले बताइन् । विभिन्न संघसंस्थाका कार्यक्रमका साथै आन्तरिक कार्यक्रममा उनीहरूले आफूले सिकेका बाजा बजाउँदै आएका छन् ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)