सुगममै हवाई यात्रुको चाप

सुगममै हवाई यात्रुको चाप

काठमाडौं : बाढीपहिरोका कारण देशमा प्रमुख राजमार्गमा अवरुद्ध हुँदा हवाई यात्रुको चाप बढेको छ । यात्रु चापका कारण सुगमका लागि पनि जहाजको टिकट पाउन कठिन भएको छ ।

सडकभन्दा सुरक्षित र भरपर्दो मानिने हवाई यात्रा टिकट अभावकै कारण कठिन बन्दै गएको छ । तराईमा शनिबारदेखि आएको बाढी र पहाडी जिल्लामा आएको पहिरोले अधिकांश सडक सञ्चालन हुन सकेका छैनन् । देशकै लाइफ लाइन मानिने पूर्वपश्चिम राजमार्गअन्तर्गतको मुग्लिङ-नारायणगढ सकडखण्ड पनि पहिरोका कारण दैनिकजसो बन्द हुने गरेको छ ।

यसकारण हवाई यात्रा गर्नेको संख्या बढिरहेको छ । सडकको यात्रा निश्चित नभएपछि उपत्यकाबाहिर जाने यात्रुको रोजाइमा हवाई यात्रा परेको छ । तर हवाई यात्राका लागि अहिले अफ सिजन हो । अफ सिजन भए पनि जहाज भरिभराउ नै उडिरहेका छन् । अन्य वर्षको तुलनामा अहिले अफ सिजनमा पनि हवाई यात्रा गर्नेको संख्या बढी रहेको व्यवसायी बताउँछन् ।

विशेषगरी भैरहवा, पोखरा, भरतपुर, नेपालगन्ज, विराटनगर र भद्रपुर जाने हवाई यात्रुको चाप बढ्दो छ । अविरल वर्षाकै कारण विराटनगर विमानस्थल सञ्चालनमा आउन नसके पनि सोमबारबाटै अन्य सबै विमानस्थल भने सञ्चालनमा आइसकेका छन् । विमानस्थल सञ्चालनमा आए पनि यात्रुले सहजै टिकट पाउन सक्ने अवस्था छैन ।

कतिपय एयरलाइन्स कम्पनीले यात्रु चाप बढेपछि पोखरा, भरतपुर, नेपालगन्ज र भैरहवाको उडान बढाइसकेका छन् । अहिले आन्तरिकतर्फ एक दर्जनभन्दा बढी एयरलाइन्स कम्पनीका ४० भन्दा बढी जहाजले सेवा दिइरहेका छन् ।

महिनैपिच्छे एक वा दुई नयाँ ठूला जहाज थपिएका छन् । तर यात्रुले सहज रूपमा टिकट भने पाउन सकेका छैनन् । आन्तरिक उडानमा धेरै जहाज थपिएपछि सस्तो र सहज यात्रा गर्न पाउने हवाई यात्रुको आशा पनि साकार हुन सकेको छैन ।

यात्रु चापका कारण सुगमका लागि पनि जहाजको टिकट पाउन कठिन भएको छ ।

पछिल्लो समय बाढी र सडकमा देखिएको समस्याका कारण ८० प्रतिशतको हाराहारीका रहेको अकुपेन्सी अहिले शतप्रतिशत पुगेको सिम्रिक एयरलाइन्सका बजार व्यवस्थापक प्रज्वल थापा बताउँछन् । ‘शुक्रबारसम्म जहाज उड्नै लाग्दा पनि यात्रुले टिकट पाउने अवस्था थियो', उनले भने, ‘आइतबारदेखि भने दुई दिनअगाडि नै जहाजको टिकट फुल भएको छ ।'

अफ सिजनमा पनि यात्रुले टिकट पाउन मुस्किल हुनुको प्रमुख कारण तराईमा आएको बाढी र सडकमा देखिएको समस्या रहेको उनको भनाइ छ । यात्रु चाप बढेपछि सिम्रिक एयरलाइन्सले दुई र कहिलेकाहीँ तीनवटासम्म उडान गर्दै आएको पोखरामा अहिले चारवटासम्म उडान गरे पनि जहाज भरिभराउ नै रहेको थापाले बताए । सिम्रिकले अहिले पोखरा, भरतपुर र भैरहवामा नियमित उडान गर्दै आएको छ ।

सडक सञ्चालनमा देखिएको समस्याका कारण अहिले टिकट सहजै पाउने अवस्था नरहेको सौर्य एयरलाइन्सका बजार व्यवस्थापक मुकेश खनालले बताए । यात्रा गर्ने एक-दुई दिनअगावै टिकट लिनुपर्ने अवस्था रहेको उनको भनाइ छ । ६० प्रतिशतभन्दा बढी बजार हिस्सा ओगट्न सफल बुद्ध एयरलाइन्सले पनि टिकटमा अहिले केही चाप बढेको जनाएको छ ।

सडक यात्रा कष्टकर बन्दै गएका कारण पनि हवाई यात्रा गर्नेको संख्या बढेको एयरलाइन्सका रूपेश जोशी बताउँछन् । अन्य वर्षमा यो समयलाई अफ सिजन भन्ने गरिए पनि अहिले त्यस्तो नरहेको उनले बताए । टिकट आजका लागि आजै पाउने अवस्था छैन । यती एयरलाइन्सले पनि सडक समस्याका कारण एक सातादेखि हवाई यात्रु ह्वात्तै बढेको र टिकटमा केही समस्या सिर्जना भएको जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.