मोटरसाइकललाई २५ सय र कारलाई ३२ सय आर्थिक भार थपियो

मोटरसाइकललाई २५ सय र कारलाई ३२ सय आर्थिक भार थपियो

काठमाडौं : सरकारले सोमबारदेखि सवारीसाधनमा उच्च प्रविधिको ‘इम्बोस्ड' नम्बर प्लेट जडान गर्ने भएको छ । इम्बोस्ड नम्बर प्लेट जडानपछि सवारीसाधनको सम्पूर्ण अवस्था एकै स्थानबाट जानकारी लिन सकिनेछ । सवारीसाधन प्रयोगकर्ता, गन्तव्य, सवारीधनी सवारी विवरणलगायत सम्पूर्ण जानकारी प्राप्त गर्न सहज हुने भएकाले इम्बोस्ड प्लेट जडान गर्न लागिएको हो । यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरीले यसको सहजै जानकारी लिन सक्नेछन् । नम्बर प्लेट जडान भएपछि सवारीसाधनले तिर्नुपर्ने कर दाखिला गरे नगरेको थाहा हुने र चोरीका सवारीसाधन प्रयोग अन्त्य हुने सरकारको दाबी छ ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री वीरबहादुर बलायरले औपचारिक रूपमा सुरु गर्नेछन् । नम्बर प्लेट उद्घाटन भएको तीन दिनपछि प्रक्रिया पूरा गरी यातायात कार्यालयले पहिलो इम्बोस्ड नम्बर प्लेट विभागका महानिर्देशकको गाडीमा जडान गर्नेछ । विभागलाई इम्बोस्ड नम्बर प्लेट जडान सुरु गर्न कम्पनी छनोट गर्न १६ महिना लागेको थियो । विभागले २०७३ वैशाखमा बंगलादेश र अमेरिकाको संयुक्त कम्पनी डेकाटुर टाइगरसँग पाँच वर्षभित्र २५ लाख सवारीमा उच्च प्रविधिको नम्बर प्लेट जडान गर्ने सम्झौता गरेको थियो ।

कुल ३८.७५० मिलियन अमेरिकी डलरका नम्बर प्लेट जडानका लागि कम्पनी सहमत भएको थियो । अब डेकाटुर कम्पनीले करिब साढे तीन वर्षभित्र २५ लाख सवारी नम्बर प्लेट बनाउनु पर्नेछ । पहिलो चरणमा बागमती अञ्चल यातायात कार्यालयमा दर्ता भएका सरकारी र निजी चारपांग्रे सवारीसाधनमा नम्बर जडान गरिनेछ । त्यसको तीन महिनापछि बागमती अञ्चल कार्यालयमा दर्ता भएका मोटरसाइकलमा सुरु हुने विभागका महानिर्देशक रुपनारायण भट्टराईले जानकारी दिए । त्यसपछि क्रमशः उपत्यकाबाहिर र सबै प्रकारका सवारीमा इम्बोस्ड नम्बर प्लेट जडान सुरु हुनेछ ।

लागत कति

इम्बोस्ड नम्बर प्लेट जडानलाई चार तहमा वर्गीकरण गरिएको छ । नम्बर प्लेट जडान गर्न मोटरसाइकलका लागि २५ सय र तीन पांग्रे सवारीका लागि २९ सय रुपैयाँ तोकिएको छ । यसैगरी चारपांग्रे सवारीका लागि ३२ सय र हेभी सवारीको हकमा ३६ सय रुपैयाँ तय भएको छ । सवारीधनीले राष्ट्रिय वाणिज्य बैंकको खातामा दाखिल गर्नुपर्छ । एक पटक नम्बर प्लेट जडान भएपछि सवारीसाधन दुर्घटना भएको अवस्थाबाहेक अन्य सयमा फेर्न नपर्ने हुँदा उपभोक्तालाई सस्तो पर्छ ।

यसरी गरौ जडान

सवारीधनीले इम्बोस्ट नम्बर प्लेट जडानका लागि घरबाटै अनलाइन विवरण भर्न सक्नेछन् । उपभोक्ताले अनलाइनमा विभागले उपलब्ध गराएको फारममा आफूले प्रयोग गरेको सवारी र आफ्नो विवरण भर्नुपर्ने हुन्छ । विवरण पेस गर्दा राष्ट्रिय वाणिज्य बैंकमा तिरेको शुल्कको भौचर नम्बरसमेत राख्नुपर्छ ।

पहिलो चरणमा बागमती अञ्चल यातायात कार्यालयमा दर्ता भएका सरकारी र निजी चारपांग्रे सवारीसाधनमा इम्बोस्ड नम्बर जडान गरिनेछ ।


सवारीधनीको विवरण विभागले इम्बोस्ड नम्बर उत्पादक डेकाटुर टाइगर पठाउनेछ । विभागबाट आएको विवरणअनुसार नम्बर प्लेटमा रहेको आरएफआईडी चिप्ससहितको स्टिकरमा सम्पूर्ण विवरण राखेर कम्पनीले विभागमा पठाउनेछ । त्यसपछि विभागले सम्बन्धित यातायात कार्यालयमा नम्बर प्लेट पठाउनेछ । कार्यालयले सवारीधनीलाई एसएमएस पठाएर नम्बर जडान गर्न बोलाउँछ । यसका कारण उपभोक्तालाई पनि कुनै दोहोरो झन्झट नहुने भट्टराईको भनाइ छ ।

के हो इम्बोस्ड नम्बर ?

इम्बोस्ड नम्बर एक प्रकारको डिजिडल नम्बर प्लेट हो । यातायात व्यवस्था विभागले उच्च प्रविधिको नम्बर प्लेट भनेर परिभाषा गरेको छ । मोटरसाइकलको पछाडि र अन्य सवारीको अगाडि सिसामा नम्बर प्लेट ‘सिंगल स्क्रोल लक' प्रणालीमा जडान हुन्छ । यसलाई कसैले पनि निकाल्न सक्दैन । नम्बर प्लेटमा एउटा चिप्ससहितको स्टिकर हुन्छ । स्टिकरलाई आरएफआईडी भनिन्छ । आरएफआईडी भनेको ‘रेडियो फ्रिक्वेन्सी आइडेन्टिफिकेसन' हो । सोही स्टिकरमा विभागले सवारीधनीको विवरणसहित साधन कहाँ बनेको, इन्जिन नम्बर, सवारीले कर तिरेको मिति, ठाउँलगायत विवरण राखेको हुन्छ ।

१० ठाउँमा आरएफआईडी स्टेसन

सवारीसाधनमा प्रयोग हुने इम्बोस्ड नम्बर प्लेट कार्यान्यवनका लागि आरएफआईडी स्टेसन आवश्यक पर्छ । स्टेसनले सवारीसाधनमा प्रयोग भएको ‘आरएफआईडी' रेडियो फ्रिक्वेन्सी आइडेन्टिफिकेसन स्टिकरलाई ट्र्याक गर्छ । स्टेसनमा ट्र्याक भएको सवारीसाधनको नम्बर प्लेट विभाग र ट्राफिक प्रहरी महाशाखाले आफ्नै कार्यकक्षका बसेर सवारीसाधनको विवरण हेर्न सक्छ । सोही आधारमा कुन सवारी कहाँ प्रवेश गरेको हो । कसको सवारी हो र यसले सवारी राजस्व तिरेको छ÷छैन सहजै थाहा पाउन सकिन्छ । विभागले उपत्यका छिर्ने प्रमुख पाँच नाकाका लागि ठाउँसमेत यकिन गरेको छ । निर्माण कम्पनीले सामान पनि ल्याइसकेको छ । नम्बर प्लेट जडान सुरु भएसँगै गेट बन्ने उनको भनाइ छ । उपत्यका छिर्ने नागढुंगा, फर्पिङ, जोरपाटी, जगाती र नागार्जुनमा गेट बनेछ । यसैगरी उपत्यकाबाहिर बुटवल, इटहरी, पथलैया, अतरिया र कोहोलपुरका गेट बनाउने भनिए पनि स्थान तय भइसकेको छैन ।

फाइदा के ?

सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान भएपछि कुन सवारी कुन ठाउँमा गइरहेको छ । कहाँबाट कुन सवारी उपत्यका छिरेको छ । कसले प्रयोग गरिरहेको छ । कसको सवारी हो सबै विवरण विभागका कर्मचारी तथा ट्राफिक प्रहरीले सहजै थाहा पाउन सक्नेछन् । यो नम्बर प्लेट जडान भएपछि सवारीसाधनले राज्यलाई तिर्नुपर्ने कर दाखिला गरे÷नगरेको थाहा हुने र चोरीका सवारीसाधन प्रयोग अन्त्य हुने भट्टराईको भनाइ छ । यसका कारण वर्षौंसम्म राज्यलाई सवारी कर नतिर्ने सवारीधनी पनि करको दायरामा आउने उनको विश्वास छ । सवारी प्रयोग गरी हुने आपराधिक घटना शूल्य हुनेछ ।

सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट प्रयोग गरिसकेपछि पुनः पाँचदेखि १० वर्षसम्म परिवर्तन गर्नु नपर्ने र परिवर्तन गर्न परे प्लेट कसेको लक नै काट्नु पर्ने अवस्था आउँछ', उनले भने, ‘सवारीसाधन दुर्घटनामा परेर टुटफुट भए मात्र प्लेट परिर्वतन गर्नुपर्ने हुन्छ ।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.