नायिकासँगको प्रेमसम्बन्धका कारण बेलायती राजकुमार ह्यारी तनावमा
विश्वमा ‘द मोस्ट इलेजेबेल ब्याचलर’का रूपमा चिनिएका बेलायती राजकुमार ह्यारीको प्रेमसम्बन्ध र विवाहलाई लिएर बेलाबेलामा तरंग आउने गरेको छ । ह्यारीको प्रेमसम्बन्ध र प्रेमिकाका कारण बेलायती राजपरिवार हैरानीमा रहेको प्रसंगले अहिले त्यस्तै तरंग ल्याइदिएको छ । ३६ वर्षीया हलिउड अभिनेत्री मेघन मार्कललाई ह्यारीले प्रेमिकाका रूपमा रोजेपछि बेलायती राजपरिवारमा विभिन्न मत देखिएको हो ।
ह्यारी र मेघनको प्रेमसम्बन्ध बाहिरिएपछि मेघनमाथि पनि विभिन्न दबाब परेको छ । पछिल्लो समय उनलाई अभिनयबाट अलग हुन आग्रह गरिएको छ । तर, यो कुरामा उनी सहमत देखिएकी छैनन् । मेघन अभिनय क्षेत्रमा लागिरहने हो भने उनीबाट अलग हुन ह्यारीलाई पनि राजपरिवारबाट दबाब आएको सार्वजनिक भएपछि उनीहरूको प्रेमप्रसंगले पुनः चर्चा पाएको हो । ह्यारी पनि विवाहपछि मेघनले अभिनयलाई निरन्तरता दिए हुन्छ भन्ने पक्षमा छन्, जुन मेघनको पनि चाहना हो ।
निकै संघर्ष गरेर हलिउडमा स्थापित भएकी अभिनेत्री मेघनले अब राजपरिवारका रूपमा रहने कि अभिनयलाई निरन्तरता दिने हो, चासोको विषय बनेको छ । यस विषयमा उनले कुनै प्रतिक्रिया दिएकी छैनन् । उनी विवाहित महिला पनि हुन् । सात वर्ष लामो अफेयर्सपछि उनले प्रेमी टेभोर एंगेलसेनसँग सन् २०११ मा विवाह गरेकी थिइन् । जमैकामा लगभग २० मिनेटमा उनीहरूको वैवाहिक कार्यक्रम सम्पन्न भएको थियो । तर, उनीहरूको वैवाहिक सम्बन्ध दुई वर्ष पनि चल्न सकेन ।
विवाहपछि मेघन एउटा सिरिजको छायांकनका लागि छुट्टै राज्यमा बस्नु परेपछि त्यही असमझदारीका कारण उनीहरू अलग भएका थिए । मेघनका पूर्वपति टेभोर चलचित्र निर्माता हुन् ।मेघन डिभोर्सी भएकाले ह्यारीसँग उनको सम्बन्ध कस्तो होला भनेर प्रश्न पनि त्यत्तिकै उठ्ने गरेको छ । तर, ह्यारी र मेघन अहिले गहिरो प्रेमसम्बन्धमा रहेको बताइएको छ । विवाहअगाडि पनि मेघन निकै विवादास्पद बनेकी थिइन् । एकपटक राजपरिवारले आयोजना गरेको कायक्रममा आउन लागेकी मेघनलाई महारानीले दरबार प्रवेशमा निषेध गरे पनि कार्यक्रममा सहभागी भएर महारानीको अपमान गरेको आरोपसमेत लागिसकेको छ । तर, अहिले भने उनलाई बेलायती राजदरबारमा आउनजान कुनै रोकतोक छैन ।
मेघन हलिउडकी अभिनेत्री एवं गायिका सेलेना गोमेजको मिल्ने साथी हुन् । मेघनकी आमा अमेरिकी काला जातिकी महिला हुन् । उनका बुवा आइरिस नागरिक एवं गोरा जातिका हुन् । मेघन ६ वर्षको हुँदा उनको अभिभावकको डिभोर्स भएको थियो । आमाबाबा सानैमा अलग भएकाले बाल्यकालमा उनले आर्थिक समस्या भोग्नु परेको थियो । तर, निकै संघर्षका साथ हलिउडमा स्थापित मेघनले आफूलाई साथ दिन राजकुमार ह्यारी तयार रहेको बताएकी छन् ।
मेघनलाई उनको वास्तविकता के हो भनेर धेरैले प्रश्न गर्थे । उनी आफूलाई आधा कालो, आधा सेतो महिलाका रूपमा चित्रण गर्छिन् । उनले आफ्नो बाल्यकालका बारेमा एक म्याग्जिनका लागि लेख लेखेकी थिइन् । उनकी आमा योग प्रशिक्षक तथा समाजसेवी पनि हुन् । मेघन पनि आमाजस्तै योगको पारखी हुन् । आफूलाई फिट एन्ड फाइन राख्न योग गर्ने गर्छिन् ।
तनावमा ह्यारी
अहिले विश्वमै चर्चामा रहेका बेलायतका अविवाहित राजकुमार ह्यारीलाई उनको मंगेतर तथा प्रेमिका हलिउड अभिनेत्री मेघन मार्केललाइ अभिनयबाट अलग गराउन दबाब परेको छ । राजपरिवारले उनीहरूको विवाहपछि अभिनयमा जान नपाउने सर्त राखेपछि ह्यारी तनावमा परेको बताइएको छ । ३२ वर्षीय राजकुमारका कारण बेलायती राजपरिवारका शुभचिन्तकसमेत अहिले चिन्तित छन् । तर, यस विषयमा बेलायती राजपरिवारबाट औपचारिक रूपमा कुनै भनाइ बाहिर आएको छैन ।
हजुरआमा महारानी एलिजावेथबाट अनुमति पाएपछि ह्यारीले मेघनलाई भेट्दै आएका छन् । ह्यारी र मेघन बिदा मनाउन अफ्रिका पुगेका छन् । बिदामा रमाइलो गरिरहेका उनीहरूलाई आफ्नै परिवारका लागि अझै धेरै कुरा प्रस्ट पार्नुपर्ने चुनौती देखिएको छ । परिवारले जे भने पनि ह्यारीले प्रेमिकालाई जुनै क्षेत्रमा लागे पनि फरक नपर्ने प्रतिक्रिया दिइसकेको बताइएको छ । अभिनयको लतमा फसिसकेकी मेघन यो क्षेत्रबाट बाहिर आउन चाहेकी छैनन् । ह्यारीले अभिनयका लागि पनि छुट दिएका छन् तर त्यो कुरा उनले राजपरिवारमा प्रस्ट पार्न र सम्झाउन सकेका छैनन् । राजपरिवारले भने ‘स्क्यान्डल नचाहेको’ जनाएको छ ।