विद्युतीय गाडी र स्कुटीको बढ्दो क्रेज

विद्युतीय गाडी र स्कुटीको बढ्दो क्रेज

काठमाण्डौ‌ं: पूर्वअर्थसचिव रामेश्वर खनाल विगत आठ महिनायता विद्युतीय गाडी चढ्छन् । विद्युतीय गाडी चढ्न थालेपछि महिनामा ९ सयदेखि १२ सयभन्दा बढी खर्च नहुने उनी बताउँछन्।

‘पेट्रोलियम गाडीको तुलनामा विद्युतीय गाडी कैयौं गुणा सस्तो छ', उनले भने, ‘हरेक महिनाजसो पेट्रोल, मर्मत, सर्भिसिङ डाइनामो, क्लच, गियरलगायतमा हजारौं खर्च लाग्थ्यो, अहिले विद्युतीय गाडी चढ्दा त्यो सबै बचेको छ।'

२०५३ सालदेखि पेट्रोल गाडी चढेका खनालले पछिल्लो आठ महिनायता विद्युतीय गाडी चढ्दाको मज्जा बेग्लै भएको बताए । विद्युतीय गाडीबाट एक सय किलोमिटर यात्रा गर्दा एक सय ३० रुपैयाँभन्दा बढी खर्च लाग्दैन। ‘पैसा नहुने सर्वसाधारणका लागि विद्युतीय गाडी धेरै राम्रो छ', उनले भने।

खनाल महिनामा करिब ७ सय किलोमिटर यात्रा गर्छन्। चारपटक चार्ज गरेपछि महिनाभर पुग्ने उनले बताए । विद्युतीय गाडी उकालोमा बे्रक लगाउनुपर्दा पछाडि नफर्किने र स्टार्ट बन्द हुने समस्या नहुने उनको भनाइ छ। विद्युतीय गाडीबाट उपत्यकाबाहिर जाँदा होटलमा चार्ज गर्ने गरेको उनले बताए । ‘ठाउँठाउँमा चार्ज गर्ने स्टेसन हुने हो भने यो गाडी धेरै प्रभावकारी छ', उनले भने।

 

फ्युचर ग्रिन इनर्जीका कार्यकारी प्रमुख राजन रायमाझी विद्युतीय गाडी नेपालमा स्थापित गराउन लागिपरेका छन् । रायमाझीले कियाको विद्युतीय गाडीको एक्जुकेटिभ डिलरका रूपमा काम गर्दै आएका छन्।

पाँच वर्षमा दुई सय ५५ स्थानमा चार्ज स्टेसन राख्ने उनको लक्ष्य छ। वातावरणमैत्री उक्त गाडीमा मोटर र ब्याट्री मात्र हुने भएकाले सर्भिसिङ गर्नुपर्ने र मोबिल फेर्नुपर्दैन । ओरालोमा जाँदा मोटरले ब्याट्री चार्ज गर्न सघाउ पुर्‍याउँछ।

विद्युतीय गाडी तीन चरणमा चार्ज गर्न सकिन्छ । सामान्य किमिमले चार्ज गर्दा फुल चार्ज हुन १५ देखि १८ घन्टा लाग्छ । फुल चार्ज हुन दुई सय ७० रुपैयाँ लाग्छ। डीसी चार्ज (फास्ट चार्ज) गर्दा ३३ मिनेटमै ब्याट्री फुल हुन्छ । त्यस्तै एसी चार्ज दुई सय ३० भोल्टेजदेखि ३५ एमपी चार्ज हुन चार घन्टा लाग्छ।

२६ लाखदेखि ५८ लाख रुपैयाँसम्ममा विद्युतीय गाडी पाउन सकिन्छ । महिन्द्रा र हिरोका विद्युतीय गाडी नेपाली बजारमा छन् । महिन्द्राको विद्युतीय कारको ईटुओ मूल्य भने २६ लाख रुपैयाँ छ । अहिले बजारमा दर्जनौं मोडलका विद्युतीय गाडी उपलब्ध छन्।

पेट्रोल उत्पादन नभएको देशमा विद्युतीय गाडी प्रभावकारी हुने बताइएको छ । विद्युतीय गाडी मात्र होइन, स्कुटीमा समेत आकर्षण बढ्दै गएको छ । गाडीको तुलनामा स्कुटी खरिदमा धेरैको पहुँच पुग्ने भएकाले पछिल्लो समय विद्युतीय स्कुटी चढ्नेको संख्या बढ्दै गएको छ।

गोल्छा अर्गनाइजेसनको लगानीसमेत भएको इको इन्फिनिटी प्रालिले नाडा अटो सोको अवसर पारेर विद्युतीय स्कुटी बजारमा ल्याएको छ । विद्युतीय स्कुटीको आकर्षण बढेकाले करिब एक महिना अघिदेखि इन्फिनिटीले विद्युतीय स्कुटी बजारमा ल्याएको हो।

विद्युतीय स्कुटीको आकर्षण र क्रेज बढ्दै गएकाले यसको बजार राम्रो हुने इको इन्फिनिटीका जनरल म्यानेजर प्रणयना केसीले बताइन् । पेट्रोलको विकल्पका रूपमा विद्युतीय स्कुटी भएकाले यसतर्फ बिस्तारै सबैको आकर्षण बढ्ने उनको विश्वास छ । दक्षिण कोरियामा निर्मित उक्त विद्युतीय स्कुटीले बजार पाउनेमा इन्फिनिटी विश्वस्त रहेको उनको भनाइ छ।

दुई लाख ६५ हजार रुपैयाँमा पाइने विद्युतीय स्कुटी दैनिक ब्याट्री चार्ज गर्न चारदेखि ६ घन्टा लाग्छ । पूरा चार्ज स्कुटी ८० किलोमिटर गुड्छ ।
स्मार्ट स्कुटी (सिम हाल्न मिल्ने) भएकाले चोरी हुँदा पनि सजिलै पत्ता लगाउन सकिने इको इन्फिनिटी प्रालिका सेल्स एक्जुकेटिभ प्रतीकराज श्रेष्ठले जानकारी दिए । ‘डबल डिस्क ब्रेक छ, घर तथा अफिसमै सजिलै चार्ज गर्र्न मिल्छ', उनले भने । ब्याट्री पूरा चार्ज गर्दा पाँच युनिट अर्थात् ५५ रुपैयाँ खर्च हुन्छ ।

कुनै समयमा इलेक्ट्रिक स्कुटीले खासै महत्व पाएको थिएन । तर भारतीय नाकाबन्दीपछि स्कुटीको माग र आकर्षण बढ्दै गएको हो । पछिल्लो समय लोडसेडिङ अन्त्य भएसँगै विद्युतीय स्कुटीको माग दिनानुदिन बढ्दै गएको छ । सस्तो तथा वातावरणमैत्री हुने भएकाले अहिले सबैको आकर्षण र रोजाइ विद्युतीय स्कुटी बनेको छ।

करिब डेढ वर्षअघि नेपाल भित्रिएको इटालियन ब्रान्डको बेला स्कुटरको माग बढ्दै गएको बेला मोटर्स नेपालका सीईओ विजयकुमार रायले बताए । बेलाले देशका प्रमुख सहरमा सोरुम खोल्ने योजना बनाएको उनको भनाइ छ।

नेपालमा अहिले आधा दर्जनभन्दा बढी ब्रान्डका विद्युतीय स्कुटर उपलब्ध छन्। अहिले याडी, बेला, हिरो, ताइलिङ, एभोन, टेर्रालगायत विद्युतीय स्कुटर बजारमा उपलब्ध छन् ।

विद्युतीय स्कुटरमा आकर्षण बढेसँगै नयाँ ब्रान्ड नेपाल भित्रिने क्रम पनि तीव्र छ। नाडा अटो सोका अवसरमै धेरै विद्युतीय स्कुटी आएका छन् । विद्युतीय स्कुटी एक लाख १५ हजार रुपैयाँमै किन्न सकिन्छ । लाइन लागेर महँगो रुपैयाँ तिरेर पेट्रोल हालिरहनु नपर्ने भएकाले विद्युतीय स्कुटरले बजार पाउन थालेको हो । विद्युतीय स्कुटी तथा गाडीमा बारम्बार सर्भिसिङ गर्ने, मोबिल फेर्ने झन्झट नहुने भएकाले अधिकांशको आकर्षण बढ्दै गएको व्यवसायीको बुझाइ छ।

याडी स्कुटर तीन हजार, १२ सय र हजार वाटमा उपलब्ध छ । नेपालमा एक लाखदेखि एक लाख ७५ हजारसम्ममा याडी स्कुटर किन्न सकिन्छ । ताइलिङका ६ वटा मोडल छन् । थन्डर, टर्टल, ब्लेज, रेन्जर र ल्यान्ड रोभर स्कुटी नेपालमा राम्रो बिक्री भइरहेको नेचुङ ट्रेडर्सले जनाएको छ । यी स्कुटरमा कोल्ड सिस्टम, म्युजिक सिस्टम, मोबाइल चार्ज प्वाइन्ट, ब्लुटुथलगायत फिचर्स छन्। ताइलिङ स्कुटरको मूल्य एक लाखदेखि एक लाख ७५ हजार रुपैयाँसम्म पर्छ।

अस्ट्रेलियन ब्रान्डको भिमोटा दुई वर्षअघि नेपाल भित्रिएको हो । यसका एलिन, इम्याक्स भी र इम्याक्स भीएक्स गरी तीनवटा मोडल उपलब्ध छन् । स्कुटरमा कोल्ड मोड, डबल डिक्स, मोबाइल चार्ज पोर्टलगायत सुविधा रहेको कम्पनीको भनाइ छ । एक लाख ४५ हजार रुपैयाँदेखि दुई लाख ६० हजार रुपैयाँसम्मका भिमोटा स्कुटर नेपालमा उपलब्ध छन्।

चिनियाँ ब्रान्डको विद्युतीय स्कुटर एभोन नेपाली बजारमा राम्रै बिक्री भइरहेको कम्पनीको दाबी छ । नेपालमा दुई मोडेलमा एभोन स्कुटर उपलब्ध छन् । यी स्कुटर एकपटक चार्ज गरेपछि ६० किलोमिटरसम्म कुदाउन सकिन्छ । नेपालमा एभोन ई–स्पोर्ट र एभोन ई–म्याजिकलको मूल्य एक लाख ५० हजार रुपैयाँको हाराहारीमा छ।

टेर्रा विद्युतीय स्कुटर पनि नेपालमा लोकप्रिय छ । नेपालमा टेर्राका पाँचवटा मोडल उपलब्ध छन् । भियतनाममा बनेको टेर्रा स्कुटरमा डिक्स र ड्रम ब्रेक छ । हिरो ब्रान्डको विद्युतीय स्कुटर चार मोडेलमा उपलब्ध छ । यो स्कुटर एक लाख १२ हजारदेखि साढे एक लाख रुपैयाँसम्ममा उपलब्ध छ ।
सबै ब्रान्डका स्कुटर विभिन्न वाटमा उपलब्ध छन् । वाटअनुसार सुविधा र मूल्य फरक÷फरक हुने व्यवसायी बताउँछन् । वाटको क्षमताका आधारमा स्कुटरको गति, माइलेज फरकफरक हुने गर्छ।

विद्युतीय सेगमेन्टमा पनि हल्कादेखि हेभी स्कुटर उपलब्ध छन्। ती स्कुटर डिजाइन, पर्फमेन्समा पनि आकर्षक रहेको प्रयोगकर्ताको अनुभव छ। वातावरणमैत्री विद्युतीय स्कुटर प्रयोगकर्ताकै प्रचारले बिक्री बढिरहेको व्यवसायी बताउँछन्।

विद्युतीय स्कुटर पछिल्लो समयमा सबैले प्रयोग गर्न थालेका छन् । खासगरी गृहिणी, कम्पनी, विदेशी निकाय, एनजीओ, आईएनजीओ क्षेत्रमा बढी बिक्री हुने गरेको छ।

आर्थिक वर्ष २०७१/७२ मा १२ लाख ९ हजार एक सय ८७ किलोलिटर डिजेल/पेट्रोल आयात भएको थियो । उक्त परिणामको मूल्य ९६ अर्ब ३७ करोड ९१ लाख ९० हजार रुपैयाँ बाहिरिएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.