गीतसंगीतमा कृषि विशेषज्ञ
पेसाले कृषि विशेषज्ञ हुन् सुरेन गौतम । उनको रुचि गीतसंगीतमा छ । कृषि विषयमा स्नातक गर्न चितवन झर्नुअघि उनले आफ्नो रुचि दबाएर राखेका थिए । गीतसंगीतमा परिवारको साथ पनि थिएन । चितवन रामपुर कलेजमा अध्ययन गर्दा स्टेजमा सुरेनको गायकीले स्थान पायो । साथीभाइले गीत सुनेपछि राम्रो छ भने । गीत रेकर्ड गर्न उक्साए । त्यसपछि परिवारलाई थाहै नदिई सुरेन काठमाडौं पुगे । गीत रेकर्ड गराए । एफएम रेडियोबाट उनका गीत बज्न थाल्यो । तबमात्रै छोरो गायक भएको बाबुआमालाई थाहा भयो । ‘त्यसपछि परिवारको प्रतिक्रिया नराम्रो रहेन । खुसी नै हुनुभयो’, सुरेनले भने ।
जर्मनीबाट कृषिमा स्नातकोत्तर गरेका उनी फुर्सदको समय गायनमा लगाउने गर्छन् । गीत लेखन, संगीत सिर्जना र गायनलाई एकैसाथ अगाडी बढाइ रहेका छन् । अहिले एल्बमको तयारीमा लागेका सुरेनको रिमेक गीत ‘रेशमी पर्दाले छेकेन’ श्रोता÷दर्शकमाझ लोकप्रिय भएको छ । भिडियोमा सुरेनका साथै भीमफेदी गाइज र सोनुले मोडलिङ गरेका छन् ।