सार्वजनिक सवारीको फेरिँदो रूप

सार्वजनिक सवारीको फेरिँदो रूप

काठमाडौं : गठ्ठाघरमा सार्वजनिक बस कुर्दा नरेश महर्जनका अघिल्तिर माइक्रोबस, मिनीबस रोकिए, चढ्लान् भन्ने आसमा । तर नरेशले वास्ता गरेनन् । केही बेरमा साझा बस आएपछि उनी चढे । ‘बरु केही बेर कुरिन्छ, चढ्न त ठूलै बस चढिन्छ’, बसमा उक्लिएपछि उनी भन्दै थिए । दिनहुँ गठ्ठाघरबाट कलंकी जाने नरेश माइक्रोबस÷मिनीबस रुचाउँदैनन् ।

ranjanकारण, ठूला गाडीमा ठेलमठेल कम हुने र यो भरपर्दो एवं सुरक्षितसमेत छ । ‘ठूला बसमा यात्रा गर्दा उभिनुपरे पनि ठेलमठेल हुन्न’, उनको अनुभव छ, ‘ड्राइभिङ पनि रफ हुन्न, कति समयमा पुगिन्छ भन्ने अनुमान गर्न सकिन्छ ।’

उपत्यकामा ठूला बसको आकर्षण बढेपछि यातायात कम्पनीले पनि ठूला बसमा लगानी गर्न थालेका छन् । साझाका साथै महानगर, सिटी मेट्रो, ओरेन्ज यातायातलगायत कम्पनीले ठूला बस थपिरहेका छन् । साना गाडीलाई छाडेर कुरेरै भए पनि ठूला बस चढ्ने नरेशजस्ता प्यासेन्जरको संख्या बढ्दै छ । यतिसम्म कि आफ्नो अगाडि खाली रोकिरहेको पुराना सार्वजनिक यातायात हुन्छ, अनि पछाडि भरिएर आउँदै गरेका ठूला बस । तर पनि मानिसको ठूलो हुल दौडिँदै ठूला सार्वजनिक यातायातमा चढ्न तँछाडमछाड गरिरहेका देखिन्छन् ।

यो माहोल, काठमाडौंका रोडमा साझाका ठूला बस कुद्न थालेपछिको हो । ‘जब साझा यातायातले २०७० सालबाट पुनरागमन गर्‍यो, सुरुमा मानिस हरिवंश आचार्यको गीत ‘साझा बसमा जो पनि चढ्दछ...’ लाई सम्झिएर एकपटक साझा चढ्न पुगे । अनि विस्तारै साझाले दिएको सेवा, यात्रुप्रति बसका परिचालकको आत्मीय व्यवहारले यात्रु तान्दै गयो र अहिले फेरि पनि पुरानो साझाको झझल्को दिन सकेको छ’, साझा यातायातका कायममुकायम कार्यकारी निर्देशक महेन्द्रराज पाण्डे बताउँछन् ।

साझाले १६ वटा ठूला बसका साथ सडकमा पुनरागमन गर्‍यो ।

सुरुमा ठूलो बस कुदाउँदा काठमाडौंको साँघुरो र ट्राफिक बढी हुने सडक छिचोल्न गाह्रो पर्ने त होइन भन्ने आशंका थियो । त्यस्तो भएन । पाँच मिनीबसबराबर एक साझालाई रोडमा असहज त परै जाओस्, सबै क्षेत्रबाट प्रोत्साहन मिल्यो । सरकारले पनि ठूला सवारीसाधनलाई प्रोत्साहन गर्दै ८० प्रतिशतसम्म राजस्वमा छुट दियो । अनि ठूला बस र त्यसमा सुविधा थप्ने प्रतिस्पर्धा सुरु भयो, जसले काठमाडौंका साथै बाहिरी सहरमा समेत सार्वजनिक यातायातमा केही परिवर्तन आएको छ । ग्राहकले सार्वजनिक यातायातमै आधुनिक सुविधा पाएका छन् ।

बसमा एयर होस्टेजजस्तै बस होस्टेज नै राख्ने क्रम पनि सुरु भएको छ । लामो दूरीका बसमा मात्र नभई काठमाडौंमा कुद्ने बसमा पनि महिला परिचारिका राख्ने गरिएको छ ।

साझापछि काठमाडौंको सडकमा प्रवेश गर्दा महानगर यातायातले केही नयाँ गर्ने कोसिस गर्‍यो । ‘महानगर यातायातले बसमा जीपीएस ट्र्याकिङ सिस्टम जडान गरी यात्रुलाई बस कुन ठाउँमा आइपुगेको छ, सबै जानकारी दिएको छ । ‘यसले नयाँ अनि दृष्टिविहीन यात्रुलाई यात्रा गर्न सहज बनायो’, महानगर यातायात प्रालिका उपाध्यक्ष सन्तोष खतिवडा बताउँछन् । यतिसम्म कि महानगर यातायातले मोबाइलमा कम्पनीको ‘भेहिकल ट्र्याकिङ एप’ डाउनलोड गरी बस कुन स्थानमा छ, मोबाइलबाटै हेरेर प्रतीक्षालय पुग्न सकिने व्यवस्था ल्यायो ।

यो रोडमा गएर बस कुर्नुपर्ने यात्रुको समय बचत गर्ने कोसिसको सुरुवात थियो । तर यो खासै प्रयोगमा भने आउन सकेको छैन । यो सेवालाई पछिल्लो समय साझाले पनि पछ्याएको छ । यसले यात्रुको मुभमेन्टमा परिवर्तन गरेको छ । पुराना गाडीको हुलमा यी आकर्षण भएका छन् । ट्राफिक व्यवस्थापनमा सहज बनाएको छ । ग्राहकले भ्यालु फर मनी पाएका छन् । उता, पाँच मिनीबसबराबर एक ठूला बस हुँदा इन्धन खपतमा कमी हुनेछ । अर्को महत्वपूर्ण कुरा, सडक दुर्घटनामा कमी आएको छ ।

 

सार्वजनिक यातायातमा एलईडी टेलिभिजन, मोबाइल एप, स्मार्ट कार्डलगायतका सेवा सञ्चालनमा आउनु यात्रुलाई पनि नौलो हो । स्मार्ट पुस्ता लक्षित सुविधाका साथ साझाले सुरु गरेको यात्रामा निजीक्षेत्रका महानगर यातायात, सिटी मेट्रो यातायात, दुप्चेश्वर यातायात आदि पनि थपिएका छन् । काठमाडौं भक्तपुर सेवाले पनि ठूला सार्वजनिक बस सुरु गरिसकेको छ । यो क्रम बाहिरी सहरमा पनि सुरु भइसकेको छ । पोखरामा कुद्ने सार्वजनिक बसमा जीपीएस प्रविधि जडान भएको छ ।

त्यस्तै विराटनगरमा पनि यो क्रम सुरु भइसकेको महानगर यातायात प्रालिका उपाध्यक्ष खतिवडाले भनाइ छ । मानिसले सुविधा खोज्ने हो । त्यो क्रममा साझा, महानगरलगायत सार्वजनिक यातायात भित्रिए । अझ परिष्कृत बन्दै जाँदा अबको तीन वर्षमा काठमाडौंका सडकमा कुद्ने सार्वजनिक सवारीसाधनमा एसी र वाइफाई हुनेछ, जुन अहिले लामा दूरीका गाडीमा प्रयोग भइसकेको छ ।

स्मार्ट अनि सहज यात्रा

सार्वजनिक यातायातमा हुने नराम्रा गतिविधिलाई रोक्न सीसी क्यामेरा जडान भएको छ । यात्रुलाई मनोरञ्जन प्रदान गर्न एलईडी टीभी र सहजताका लागि पछाडिको ढोकाबाट चढ्ने र अगाडिको ढोकाबाट झर्ने दुईवटा छुट्टाछुट्टै ढोका छन् । त्यस्तै साझाले नेपाल बैकसँग सहकार्य गरेर स्मार्ट कार्ड कार्यान्वयनमा ल्याएको छ ।

साझाका कामु प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेका अनुसार बसको पछाडि र अगाडिको ढोकामा भाडा तिर्न सजिलो होस् भनेर दुईवटा मेसिन राखिएको छ । उक्त मेसिनले कार्ड देखाएपछि भाडा काट्छ । यसका लागि यात्रुले बस चढ्दा पछाडिको ढोकामा रहेको मेसिनमा र झर्ने बेला अगाडिको ढोकामा रहेको मेसिनमा कार्ड देखाउनुपर्नेछ । यो पैसा बोकिरहनुपर्ने झन्झन्ट अनि पैसा चोरिने वा हराउने त्रासलाई अन्त्य गर्ने कार्यको थालनी पनि हो।

त्यस्तै सबै बसमा जीपीएस ट्र्याकिङ सिस्टम प्रयोगमा आएको छ । यसले बस अहिले कुन ठाउँमा कुदिरहेको भन्ने जानकारी दिन्छ । मोबाइलमा एप डाउनलोड गरेर बस रहेको स्थान सजिलै पत्ता लगाउन पनि सकिन्छ । त्यस्तै गन्तव्यको सूचना दिन बसमा डिस्प्ले स्क्रिन र स्पिकर प्रयोगमा आएका छन् । लामो दूरीका बसमा यात्रुले इन्टरनेट र एसीको सुविधा पाएका छन् । सीसी क्यामेराको निगरानीमा याुत्रले यात्रा सुरक्षित महसुस गर्न पाएका छन् । बस रिमोटबाट चल्छ । सिट फोल्ड गर्न, उचाल्न सबै काम रिमोट हुन्छ । मोबाइल चार्ज गर्ने सुविधा छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.