गाडी किन्न ब्याजदरमा छुट

गाडी किन्न ब्याजदरमा छुट

काठमाडौं : नाडा अटो सोलाई लक्ष्य गरेर अधिकांश वाणिज्य बैंकले ब्याजदरमा विशेष छुट दिएका छन् । नाडा अटो सोमा आउने ग्राहकलाई आकर्षित गर्न बैंकहरूले कम ब्याजदरमा गाडी किन्ने योजना सार्वजनिक गरेका हुन् । अटो सोमा आउने ग्राहकलाई बैंक कर्जाबारे जानकारी दिने गरेको सानिमा बैंक महाराजगन्ज शाखा प्रमुख राजु महर्जनले जानकारी दिए । अटो सोमा न्यूनतम १० दशमलव ८२ प्रतिशतदेखि साढे १२ प्रतिशतसम्म ब्याजदरमा कर्जा प्रवाह गर्ने व्यवस्था गरिएको छ । मेलामा गाडी बुक गर्नेले एक महिनासम्म हाल तोकिएको ब्याजदरमा कर्जा उपभोग गर्न पाउनेछन् ।

गतवर्ष नाडा अटो सोमा बैंकहरूले करिब ६ देखि ७ प्रतिशत ब्याजदरमा लोन दिने व्यवस्था मिलाएका थिए । यस वर्ष बैंकहरूले लगानीयोग्य पुँजी अभाव भएका बेला बढाएको ब्याजदर नघटाएका कारण गाडी लिन चाहने ग्राहकले दोब्बर ब्याज तिर्नुपर्ने भएको छ । बैंकसँग थप ऋण दिने क्षमता नभए पनि ग्राहकलाई आकर्षित गर्न नाडा अटो सोमा ब्याजदर भने केही कम गरेका छन् ।

 

अटो सोमा लिएको कर्जा ग्राहकले पाँचदेखि नौवर्षसम्म किस्ताबन्दी रूपमा तिर्न सक्नेछन् । बैंकका हरेक स्टलमा औसतमा दैनिक एक सयजनाले गाडी खरिदका लागि नाम दर्ता गर्ने गरेका छन् । यसले बैंक मात्र नभई गाडी व्यवसायी पनि उत्साहित बनेका छन् । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत गाडी खरिद गर्न ३५ प्रतिशतमात्र डाउन पेमेन्ट गरे पुग्ने व्यवस्था गरेको छ । यसअघि खरिदकर्ताले गाडीको मूल्यको आधा रकम तिरेपछि मात्र अन्य किस्ता बैंकमार्फत तिर्न पाउने व्यवस्था थियो ।

अटो सोमा स्टल राखेका बैंकले स्टलबाटै सवारीसाधन बुक गर्ने सुविधासमेत दिएका छन् । स्टल राखेकामध्ये सबैभन्दा सस्तो ब्याजदर स्ट्यान्डर्ड चार्टर्ड बैंकको छ । बैंकले नौ दशमलव ४७ प्रतिशत ब्याजदरमा कर्जा प्रभाव गर्ने भएको छ । बैंकले आधार दर ६ दशमलव ४७ प्रतिशतमा साढे दुईदेखि साढे तीन प्रतिशत ब्याजदर जोडेर ऋण दिने जनाएको छ । ग्राहकलाई आकर्षित गर्न बैंकले टिम नै बनाएर समूह परिचालन गरेको छ । १० जनाको टिमले औसतमा एक दिनमा १० देखि १२ जनालाई बैंक लोन र तिर्नुपर्ने प्रक्रियाबारे जानकारी दिइरहेको बैंकका कर्जा अधिकृत राजन खड्काले जानकारी दिए ।

हिमालयन बैंकले निजी गाडीका लागि १० दशमलव ४४ र व्यापारिक प्रयोजनका लागि ११ दशमलव ४४ प्रतिशत ब्याजमा ऋण दिने अफर ल्याएको कर्जा अधिकृत रेश्मा मास्केले बताइन् । बैंकले निजीलाई आठ र व्यापारिक प्रयोजनमा पाँच वर्ष अवधिका लागि ऋण दिने व्यवस्था गरेको छ । उक्त बैंकबाट कर्जा लिने ग्राहकले मासिक समान रूपमा ब्याज भुक्तान गर्नुपर्ने व्यवस्था बैंकले गरेको छ ।

बैंकहरूसँग थप ऋण दिने क्षमता नभए पनि ग्राहक आकर्षित गर्न ब्याजदर घटाएका हुन् ।

‘सपनालाई परिवर्तन गर वास्तविकतामा' भन्ने नारासहित माछापुच्छ्रे बैंकले सेवाशुल्कमा छुटसहितको योजना सार्वजनिक गरेको छ । १० दशमलव ५ प्रतिशत ब्याजदरमा आठ वर्षका लागि ऋण दिने योजना सार्वजनिक गरेको हो । एनएबी बैंकले १० दशमलव ९९ प्रतिशत स्थिर ब्याजदर कायम गरेर निजी सवारीसाधनका लागि पाँच वर्ष र व्यापारीका लागि ६ वर्षे अवधिको स्किम ल्याएको छ । मेलामा गाडी बुकिङ गर्न चिनजानका मानिस र नियमित ग्राहक बढी आउने गरेको बैंकका सम्पर्क अधिकृत अमित कार्कीले बताए ।

बैंकले ११ दशमलव ४ प्रतिशत ब्याजमै ऋण उपलब्ध गराउने योजना ल्याएको बैंककी कर्जा अधिकृत शोभा न्यौपानेको भनाइ छ ।व्यापारिक प्रयोजनका लागि भने अधिकतम ब्याजदर १२ दशमलव ५ प्रतिशतसम्म छ । उनका अनुसार मध्यमस्तरका गाडी खरिद गर्नेको संख्या तुलनात्मक रूपमा बढी छ । बैंक अफ काठमान्डूले निजी सवारीसाधनका लागि ११ दशमलव ५७ र अन्य सवारीका लागि १२ दशमलव ५७ प्रतिशत ब्याजदर सार्वजनिक गरेको छ । ‘गुड्नुहोस् सबैभन्दा अगाडि' भन्ने नाराका साथ बैंक अफ काठमान्डूले मेलाबाटै सवारीसाधन बुक गर्ने स्किम ल्याएको छ ।

‘हाक्नुहोस् आफ्नो सपनाको गाडी' भन्ने नाराका साथ एनआईसी एसिया बैंकले व्यक्तिगत र व्यापारिक गरी दुई किसिमका स्किम सार्वजनिक गरेको छ । व्यक्तिगत सवारीसाधनका लागि बैंकले ११ दशमलव १५ र अन्य १२ दशमलवव ६५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । नाडामा सवारीसाधन कर्जा लिए सेवाशुल्कमा छुट दिने व्यवस्था पनि बैंकले गरेको कर्जा अधिकृत उकेश दाहालले जानकारी दिए ।

व्यक्तिगतलाई सात र व्यापारिक प्रयोजनमा ६ वर्षका लागि कर्जा दिने योजना बैंक ल्याएको छ । प्रभु बैंकले व्यक्तिगततर्फ १२.२६, व्यापारिक १४.५१ प्रतिशत ब्याजदरमा पाँच वर्षका लागि सवारीसाधन कर्जा उपलब्ध गराएको छ । सिभिल बैंकले ११ दशमवल ५९ प्रतिशतमा निजी र साढे १४ प्रतिशतमा अन्य सवारी कर्जाको ब्याजदर सार्वजनिक गरेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.