दलित 'आइकन' बन्न सक्छन् महाभारतका कर्ण ?
विजित पक्षसँग अतिरिक्त गुण नहुँदो हो त ऊ विजयी हुने नै थिएन । महाभारत युद्धको सन्दर्भमा पंक्तिकारले एउटा औपचारिक संवादमा यो प्रसंगको कुरा उठाउँदा एकजना 'लेफ्ट'ले अर्जुन र कर्णप्रति लक्षित भएर दिएको जवाफ थियो, 'गुरु र राज्यशक्तिको साखुल्ले बन्नसक्नु मात्र अतिरिक्त गुण हो ? कर्ण धनुर्विद्यामा अर्जुनभन्दा कम थिएनन्, उनले धर्मयुद्धको नियम पालना गरेका थिए ।
अर्जुन र कृष्णको तुलनामा बरु कर्णमै नैतिकता र आचारसंहितालाई सर्वोपरि मान्ने अतिरिक्त गुणहरू थिए ।'दिल्लीको 'विश्व बुक्स' मार्काका प्रकाशन गृहबाट निस्किने राकेश नाथजस्ता प्रज्ञाचक्षुरहित पूर्वाग्राही लेखकलाई विश्वास गरेर मूल ग्रन्थमा प्रवेश नगर्नेहरू दिग्भ्रमित हुनु अनौठोचाहिँ होइन । खराबसँग लड्ने सबै असल हुँदैनन् र कौन्तेय भएकै कारण कर्णको देवत्वकरण गरिएको हो भन्ने भेउ उनीहरूले पाएको देखिँदैन ।
'माइनरिटिज कम्प्लेक्स'
विद्या आर्जन गरेर फर्किएका कुरुकुमारहरूले रंगभूमिमा रणकौशल देखाएको घटना ज्यादै महत्वपूर्ण छ । यही घटनापछि महाभारत युद्धको भ्रूण हुर्किन थाल्छ ।अर्जुनको पराक्रमले सबैलाई मोहित पारिरहेको बेला कर्ण रंगभूमिमा प्रवेश गर्छन् । महाभारतमा यो उनको पहिलो प्रवेश हो । रंगभूमिमा छिरेर उनी कुरुकुमारहरूका गुरुद्वय द्रोण र कृपाचार्यलाई रूखो पारामा नमस्कार गर्छन् (आदिपर्व १३५।६) । त्यसपछि अर्जुनलाई भन्छन्, 'तिमीले भन्दा अद्भुत पराक्रम गरेर म देखाउँछु, धेरै फुइँ नलगाऊ (१३५।९) ।' लगत्तै अर्जुनले देखाएका सबै कौशल देखाउँछन् (१३५।१२) । अनि दुर्योधनतिर फर्किएर भन्छन्, 'म तपाईंसँग मैत्री र अर्जुनसँग युद्ध गर्न चाहन्छु (१३५।१५) ।' एकजना अपरिचतले एकाएक आफ्नो अपमान गर्न थालेपछि अर्जुन पनि रिसाउँछन् ।
दुईबीच दन्तबझन हुन्छ । कर्ण भन्छन्, 'हुती छ भने वाणमार्फत संवाद गर्न आऊ, गुरु द्रोणकै अघि वाण हानेर म तिम्रो घाँटी छिनाइदिन्छु (१३५ः२०) ।'
कुण्ठा, अर्जुनप्रति अतिशय आह्रिसभाव, कुरुकुमारहरूबीचको मनोमालिन्य बुझेर यसलाई उपयोग गर्ने कौशल, ठूलाप्रति अनादरभाव, आत्मप्रशंसा, राजकुमारको घाँटी काटिदिन्छु भनी खुलेआम उद्घोष गर्ने दुस्साहस र पराक्रम ! पहिलोपटक प्रकट हुँदा देखाएका यस्ता स्वभावलाई कर्ण मृत्युपर्यान्त कायम राख्छन् ।
सुतकुलमा हुर्किए पनि आफ्नो वास्तविक कुलबारे कर्ण बेखबर हुन्छन् । वीर कहलिने तीव्र अभिलाषामा वर्णव्यवस्थाले भाँजो हालेकाले उनीभित्र 'माइनरिटिज कम्प्लेक्स' विकास भएको हुन्छ । यसले उनलाई रूखो, झडगालु, आत्मप्रसंशी बनाएको हुन्छ ।
कृपाचार्यले सबैका अगाडि कर्णसँग बाबु, आमा र कुलको परिचय मागेपछि कर्ण लजाउँछन् (१३५।३४) । कर्णको मनोभाव बुझेर दुर्योधन भन्छन्, 'उत्तम कुलमा जन्मिएको, शुरविर र सेनापति- यी तीन राजा कहलिन्छन् । शुरवीर भएकोले कर्ण पनि राजा नै हुन् (१३५।३५-३६) ।' लगत्तै कर्णलाई अंग देशको राजामा राज्याभिषेक गराउँछन् । त्यसपछि कर्ण सुतपुत्र हुन् भन्ने खुलासा हुन्छ । कर्णको उपहास गर्दै भीम भन्छन्, 'कर्ण, तँ अर्जुनको हातबाट मारिनसमेत योग्य छैनस् । गएर घोडाको चाबुक समा । यज्ञकुण्ड छेउ राखिएको पुरोडाश (जौबाट बनेको रोटी, जुन पवित्र मानिन्छ) खान कुकुर योग्य नभएजस्तै तँ पनि अंगदेशको राज्य भोग्न योग्य छैनस् (१३६।६-७) ।' कर्णको प्रतिरक्षामा दुर्योधन बोल्छन्, 'कर्णजस्तो शुरो, तेजस्वी पुरुषलाई सुत स्त्रीले जन्माउनै सक्दिनँ । हरिणीको कोखबाट बाघ जन्मिन सक्दैन (१३६।१६)।'
अनन्य मित्र पनि कर्णको जातलाई स्वीकार्दैनन् । राजा भएपछि पनि कर्ण क्षत्रीसरह मानिँदैन । द्रौपदी स्वयंवरमा लक्षभेद गर्न उठेको कर्णलाई द्रौपदीले 'सुतपुत्रलाई वरण गर्दिनँ' भनी रोक्छिन् (१८६।२३) । यस्ता घटनाले कर्णको हिनग्रन्थी अझ जगाउँछ र उनी झन्झन् आत्मप्रशंसी, दानवीर आदि बन्दै जान्छन् ।
स्त्री
कर्णलाई अल्पसंख्यक दलितको 'हिरो' बनाउनुअघि अर्को बहिष्कृत समुदाय महिलाप्रति कर्णको दुर्भाव बुझ्नुपर्छ । द्रौपदीलाई अर्जुनले जितेपछि ससुराली देश पाञ्चालको आड पाएर पाण्डवहरूको सामर्थ्य वृद्धि हुने देखेर कौरवहरू चिन्तित हुन्छन् र पाण्डवहरूबीच फुट ल्याउन सल्लाह गर्छन् । र, एउटै स्त्रीप्रति अनुरक्त भएकाले पाण्डवहरूबीच फुट ल्याउन नसकिने निष्कर्ष कौरवहरू निकाल्छन् । 'प्रायः स्त्रीलाई अनेक पुरुष भोग्ने चाहना हुन्छ, पाण्डवहरूसँग रहँदा द्रौपदीको यो चाहना पूरा हुन्छ, त्यसैले द्रौपदीमार्फत पनि पाण्डवहरूबीच फुट ल्याउन सकिँदैन', कर्ण भन्छन् (आदिपर्व, २०१।८) ।
स्त्रीप्रति कर्णको दुर्भाव चरम रूपमा प्रकट भएको एउटा सन्दर्भ द्रौपदी वस्त्रहरण हो । एकवस्त्रा अवस्थामा घिसार्दै सभामा ल्याइएपछि द्रौपदीले 'आफैं हारेर दास भइसकेको युधिष्ठिरले मलाई जुवामा थाप्न कसरी पाउँछ ? ' भनी गरेको प्रश्नमा धृतराष्ट्रपुत्र विकर्णले सहमति जनाउँछन् । बाबुकै अघि विकर्णलाई हप्काउँदै कर्ण भन्छन्, 'अरणि (आगो निकाल्न रगडिने काठ)बाट उत्पन्न आगोले अरणिलाई नै जलाएजस्तै तिमी आफूलाई जन्म दिने कुलको विनाश गर्ने पात्र बन्न खोज्दैछौ (सभापर्व, ६८।२७) ? ' एकवस्त्रा द्रौपदीलाई सभामा ल्याउनु पनि धर्मसम्मत भएको कर्ण बताउँछन् । 'स्त्रीको एउटा पति हुने विधान छ, तर द्रौपदीका अनेक पति छन् । त्यसैले यो वेश्या हो ।
कर्ण भन्छन्, 'स्त्रीको एउटा पति हुने विधान छ, तर द्रौपदीका अनेक पति छन् । त्यसैले यो वेश्या हो । यस्तालाई एकवस्त्रा अथवा नग्न जुनसुकै अवस्थामा पनि सभामा ल्याउन मिल्छ ।'
यस्तालाई एकवस्त्रा अथवा नग्न जुनसुकै अवस्थामा पनि सभामा ल्याउन मिल्छ', कर्ण भन्छन् (६८।३५-३६) । कुरुसभामा कुरुकुलवधुलाई उसका वीर पतिहरूकै सामु 'वेश्या' भन्ने कर्णको दुस्साहसलाई धृतराष्ट्र कर्णको मृत्युपछि पनि स्मरण गर्छन् । द्रौपदीलाई वेश्या भनिसकेपछि कर्ण पाण्डव र द्रौपदीलाई निर्वस्त्र गराउन दुशासनलाई आदेश दिन्छन् ।
कर्णको कठोर भनाइपछि कौरवहरूको आत्मबल बढ्छ । त्यसपछि दुशासन द्रौपदीलाई निर्वस्त्र गराउन थाल्छन् र दुर्योधन तिघ्रा ठटाउँदै मैथुनका निम्ति द्रौपदीलाई आह्वान गर्छन् ।
स्त्रीप्रतिको दुर्भावनालाई कर्ण महाभारत युद्धमा पनि प्रकट गर्छन् । आफ्नो सारथि बनेका मद्रराज शैल्यसँग कर्णको बाझाबाझ हुँदा शैल्य कर्णको पुरुषार्थमा आक्षेप लगाउँछन् । कर्णचाहिँ मद्रदेशका स्त्रीप्रति दुर्वच्य बोलेर शैल्यलाई चुप गराउन खोज्छन् ।
मद्रदेशमा सबै पुस्ताका आफन्त, समवयस्क मित्र, पाहुना, दासदासी जोसँग पनि मैथुन गर्ने छुट छ भन्दै शैल्यको आलोचना गर्छन् (कर्णपर्व ४०।२५-२८) र मद्रदेशका महिला उँट र गधाले जस्तै उठीउठी पिसाब फेर्छन् भन्छन् (४०।३७) । मद्रदेशका स्त्री मदिराले मात्तिएर निर्वस्त्र भई नाच्छन् र जुनसुकै पुरुषलाई वरण गरी संयम तथा मर्यादा बिर्सिएर मैथुनमा प्रवृत्त हुन्छन् भन्छन् (४०। ३५-३६) । पिताको ठेगान नभएकाले छोरालाई नभई भान्जालाई अंश दिइन्छ भन्दै गिराउँछन् (४५।१३) । कर्णले सायद अहिले केरेलातिर पाइने नायर जातितर्फ संकेत गरेका हुन्छन् । त्यस्ता चरित्रहीन स्त्रीका पुत्र शैल्यले आफूलाई धर्म सिकाउन नमिल्ने उनी बताउँछन् ।
षड्यन्त्र
पाण्डवहरूलाई राज्यबाट च्युत गर्न रचिएका प्रायः सबै षड्यन्त्रमा कर्ण सरिक हुन्छन् । दुर्योधनका प्रायः सबै उद्दण्डतामा पनि उनको हात हुन्छ । शकुनीको भन्दा कर्णको मन्त्रणालाई दुर्योधन बढी पत्याउँछन् ।
युधिष्ठिरलाई हस्तिनापुरको युवराज पदमा अभिषेक गरिएपछि पाण्डवहरूको लोकप्रिता बढ्न थाल्छ । यस्तोमा पाण्डवहरूलाई वारणात पठाएर पन्छाउने षड्यन्त्र बुन्न दुर्योधन, दुशासन र सकुनीसँगै कर्ण पनि लाग्छन् (आदिपर्व १४१।१-४) । जुवाको खालमा सर्वस्व हारेका पाण्डवलाई धृतराष्ट्रले सबै सम्पत्ति फिर्ता गरिदिन्छन् । पराजित मुद्रामा इन्द्रप्रस्थतिर लागेका युधिष्ठिरलाई जुवाको खालमा पुनः बोलाई धोकापूर्वक हराएर वनबासमा पठाउने षड्यन्त्रमा पनि कर्ण सरिक हुन्छन् (७४।५-६) ।
पाण्डवहरूको वनवासपछि पनि दुर्योधनले सुरक्षित महसुस नगर्दा वनमा गएर अकस्मात् हमला गरी पाण्डवहरूलाई मार्ने प्रस्ताव कर्णले राख्छन् (७।१८) । व्यासमार्फत धृतराष्ट्रले यसबारे थाहा पाउँछन् र दुर्योधनलाई रोक्छन् ।
वनबास र अज्ञातबास पूरा गरेपछि पनि पाण्डवहरूलाई राज्य फिर्ता दिनु हुँदैन भन्ने पक्षमा कर्ण बलियोसँग उभिन्छन् । पाण्डवहरूका तर्फबाट सन्देश लिएर हस्तिनापुर आएका राजा द्रुपदका पुरोहितले पाण्डवहरूलाई राज्य दिनुपर्ने बताएपछि कर्ण भन्छन्, 'जुवा हारेपछि सर्तअनुसार पाण्डवहरू वनबास गएका हुन् । युधिष्ठिरले अहिले सर्तअनुसार आफ्नो पैतृक राज्यमाथि दाबी गरिरहेका पनि छैनन् । पाण्डवहरू मत्स्य र पाञ्चाल देशको आडमा अर्काको राज्य खोस्न उद्यत छन् ।
कसैबाट डराएर दुर्योधनले आधा त के, एक चौथाइ राज्य दिने कुरा पनि आउँदैन । यदि पाण्डवहरूलाई राज्य चाहिन्छ भने सर्तअनुसार उनीहरूले पुनः वनबास जानुपर्छ (उद्योगपर्व २१।१०-१३) ।'
पाण्डवहरूलाई उनीहरूको राज्य दिएर झैझगडाबाट मुक्त हुने चाहना धृतराष्ट्रको पनि हुन्छ । हस्तिनापुरमा दुर्योधन र कर्णबाहेक पाण्डवहरूप्रति द्वेष राख्ने अरू कोही छैनन् भन्ने उनले बुझेका हुन्छन् (२२।६-७) । तर, पनि छोरालाई मनाउन सक्दैनन् ।
शान्तिदूत बनेर कृष्ण हस्तिनापुर आएपछि दुर्योधनका निम्ति प्रतिकूल अवस्था सिर्जना हुन्छ । सभाका सबै सदस्य तथा व्यास र नारद मुनीलगायत सभाबाहिरका बुद्धिजीवीले पनि पाण्डवहरूसँग सन्धि गर्न धृतराष्ट्रलाई दबाब दिइरहेको बेला कृष्णको आवगमनपछि शान्तिवादीहरूको आत्मविश्वास बढेको निष्कर्ष कौरवहरू निकाल्छन् ।
कृष्णले धृतराष्ट्र र भीष्मसँग मिलेर आफूहरूलाई बन्दी बनाएरै भए पनि सन्धि गराउनसक्ने भन्दै दुर्योधन, कर्ण, दुशासन र सकुनीले त्यसअगावै कृष्णलाई पक्राउ गर्ने षड्यन्त्र बुन्छन् । कृष्णलाई बन्दी बनाउन सके पाण्डवहरू दाँत झिकिएका सर्पझैं बन्ने र यसबाट आफूहरूलाई दोहोरो लाभ हुने उनीहरूको निष्कर्ष हुन्छ (उद्योगपर्व, १३०।४) । तर, कृष्णका सेनापति सात्यकीले यसबारे थाहा पाएर भण्डाफोर गरेपछि षड्यन्त्र तुहिन्छ ।
वीरता
आत्मप्रशंसी स्वभावका कारण कर्णले भीष्म, द्रोण, कृपाचार्य, अस्वत्थामा आदिबाट बारम्बार खप्की खाएका हुन्छन् । अर्जुनलाई जितेर महावीर कहलिने अभिलाषा कर्णमा हुन्छ । त्यसैले उनी अर्जुनको बध गर्ने प्रतिज्ञा दोहोर्याइरहन्छन् । अर्जुनले चाहिँ कर्णको सौर्यलाई त्यति वास्ता गरेको पाइँँदैन । जुवामा हारेकी द्रौपदीलाई जथाभावी गरिएपछि क्रुद्ध बनेका भीमले दुर्योधन, दुशासनलगायत सबै धृतराष्ट्रपुत्रलाई मार्ने प्रतिज्ञा गर्छन् । 'कर्णलाई चाहिँ अर्जुनले मार्नेछ' भनी उद्घोष गर्छन् (७७।२६) । क्रोधले उम्लिरहेका दाजुलाई शान्त पार्न अर्जुनले पनि कर्णको बध गर्ने प्रतिज्ञा गर्छन् (७७।३३)।
कर्णको पौरुष अर्जुनसँग समानचाहिँ हुँदैन । विभिन्न सन्दर्भमा यी दुई वीर आमनेसामने हुँदा कर्ण सधैं पराजित हुन्छन् । कर्णले गर्न नसकेका कतिपय विरोचित कार्य पनि अर्जुन गर्छन् । यति हुँदाहुँदै पनि कर्ण आफूलाई अर्जुनभन्दा वीर भन्न छोड्दैनन् ।
गुरुकुलबाट फर्किएका कुरुकुमारहरूसँग द्रोणले गुरु दक्षिणास्वरूप पाञ्चाल नरेश द्रुपदलाई बन्दी बनाउन माग गर्दा पाञ्चालमाथि हमला गर्न जाने कुरुकुमारको पंक्तिमा कर्ण पनि हुन्छन् । द्रुपदलाई पक्राउ गर्न कौरवहरू तम्सिएपछि पाण्डवहरू पछि हट्छन् । कर्णलाई साथ लिएर दुर्योधन र उसका भाइले पाञ्चाल सेनामाथि हमला गर्छन् । तर, उल्टै मार खान्छन् । लडाइँकै क्रममा द्रुपद र कर्णबीच युद्ध हुन्छ । द्रुपदले हानेका वाण लागेर कर्णको शरीर क्षतविक्षत हुन्छ । द्रुपदसामु टिक्न नसकेपछि रथबाट ओर्लिएर कर्ण भाग्छन् (आदिपर्व १३७।२३-२६) । कौरवहरू असफल भएपछि अर्जुन अघि बढ्छन् र युद्धकै बीच द्रुपदलाई पक्राउ गर्छन् (१३७।५७-५८) ।
लाक्षागृहमा षड्यन्त्रपूर्वक जल्नबाट बँचेपछि पावण्डवहरू ब्राह्मण भेष धारण गरेर गुप्त जीवन बाँच्न थाल्छन् । यसै क्रममा उनीहरू द्रुपदपुत्री द्रौपदीको स्वयंवर सभामा उपस्थित हुन्छन् । स्वयंवर सभामा उठाउन कठिन हुने धनु राखिएको हुन्छ । माथि आकाशमा वगसँग घुम्ने यन्त्र बनाइएको हुन्छ । धनुमा प्रत्यञ्चा चढाएर यन्त्रको छिद्रभित्र राखिएको लक्षभेद गर्नेलाई द्रौपदीले पति वरण गर्ने सर्त राखिएको हुन्छ (आदिपर्व १८४।१०-११) ।
स्वयंवरमा भाग लिन आएका कुनै पनि राजा र राजकुमारले लक्षभेद गर्न सक्दैनन् । अन्त्यमा ब्राह्मण भेषधारी अर्जुनले लक्षभेद गरी द्रौपदीलाई वरण गर्छन् । आफूहरूलाई एउटा ब्राह्मणले हिस्स पारेको देखेर सभामा उपस्थित राजा तथा राजकुमारले आफूहरूको अपमान भएको महसुस गर्छन् र द्रुपदविरुद्ध जाइलाग्छन् । द्रुपदको प्रतिरक्षामा अर्जुन र भीम उभिन्छन् । संघर्षकै बीचमा कर्ण र अर्जुनको आमनेसामने हुन्छ । अर्जुनको रणकौशल देखर कर्ण चकित पर्छन् र अर्जुनलाई 'यस्तो सौर्य देखाउन तिमी धनुर्वेद हौ कि परशुराम ? ' भनी सोध्दै पराजय स्वीकार गर्छन् (१८९।१७ र २२)।
वनबासमा रहेका पाण्डवहरूलाई गिज्याउन सैनिकसहित दुर्योधन, कर्णलगायत कौरवहरू एक दिन पाण्डवहरू रहेको वनछेउ जान्छन् । त्यहाँ रमाइलो गरिरहेका गन्धर्वहरूसँग उनीहरूको विवाद हुन्छ । विवाद बढ्दै गएर युद्धमा परिणत हुन्छ । युद्धका क्रममा गन्धर्वहरूले हस्तिनापुरका सैनिक र महारथीलाई क्रमशः पराजित गर्दै जान्छन् । कर्णको रथ पनि ध्वस्त गरिदिन्छन् र घोडासहित सारथिलाई पनि मारिदिन्छन् ।
यसबाट भयभीत भएका कर्ण छेवैमा रहेको विकर्णको रथमा चढ्छन् र युद्धमैदानबाट कुलेलाम ठोक्छन् (वनपर्व २४१।३० र ३२) । गन्धर्वहरूले दुर्योधनसहित हस्तिनापुरका स्त्रीलाई बन्दी बनाएको चाल पाएपछि युधिष्ठिरको आज्ञाअनुसार अर्जुनले गन्धर्वहरूसँग युद्ध गरी गन्धर्वराज चित्रसेन समेतलाई पराजित गरेर सबैलाई मुक्त गराउँछन् (२४५।२७) ।
विराट्पर्वमा मत्स्यदेशको गाई चोर्न गएका कर्णसहित हस्तिनापुरका सबै महारथीलाई अर्जुन एक्लैले पराजित गरिदिएको प्रसंग छ । युद्धका क्रममा किन्नर भेषधारी अर्जुनसँग कर्णको आमनेसामने हुँदा अर्जुनले हानेको वाणको चोट सहन नसकेर कर्ण रणभूमिबाट भाग्छन् । कर्ण भागेको देखेर अर्जुन र उनका सारथि राजकुमार उत्तर मरीमरी हाँस्छन् (६०।२७) ।
मैत्री
कर्णले दुर्योधनसँगको मैत्रीलाई उच्च कदर गरेका हुन्छन् । तर, आफ्नो अभिमान र अहम्तुष्टिका लागि मित्रलाई असहयोग पुग्ने काम गर्न पनि उनी पछि पर्दैनन् ।एक दिन कुरुसभामा भीष्म र द्रोणले युद्धको विपक्षमा कुरा राखेपछि कर्ण दुर्योधनसँग भन्छन्, 'भीष्म र द्रोणले युद्धमा भाग लिएनन् भने पनि सबै कुन्तीपुत्रलाई मारिदिने जिम्मा मेरो भयो (उद्योगपर्व ६२।६) ।' यस्तो सुनेर भीष्म रिसाउँछन् र अर्जुनबाट पटकपटक पराजित भएको स्मरण गर्न कर्णलाई चेतावनी दिन्छन् ।
भन्छन्, 'तिमी आफूसँग भएको सर्पमुखा वाणकै आडमा अर्जुनलाई मार्ने सोचिरहेका छौ । तर, अर्जुनले वाण हानेर तिम्रा सर्पमुखा वाणलाई छिन्नभिन्न बनाइदिन्छन् र वाणसँगै तिमी पनि नष्ट हुनेछौ । के फुर्ती लगाउँछौ (६२।१०) ?
आफ्नो पुरुषार्थ गिर्ने गरी भीष्मले तथानाम भन्न थालेपछि रिसाउँदै कर्ण भन्छन्, 'अब भीष्मले मलाई यो सभा अथवा युद्धमा कहिल्यै देख्न पाउनेछैनन् । यिनी मरेपछि मात्रै म आफ्नो पराक्रम देखाउनेछु (६२।१३) ।' सभामा घेराबन्दीमा परेका दुर्योधनलाई एक्लो पारेर कर्ण सभा बहिष्कार गर्छन् ।
कृष्णको शान्ति प्रस्ताव असफल भएपछि युद्ध हुने पक्का हुन्छ । त्यत्तिकैमा कुन्तीले 'विवाह हुनुअघि मेरो कोखबाट जन्मिएका हौ तिमी' भनेर कर्णसामु भेद खोल्छिन् र भाइहरूसँग मिल्न आग्रह गर्छिन् ।
जवाफमा कर्ण भन्छन्, 'कष्ण र अर्जुनको जोडीसँग आज कुनचाहिँ वीर डराउँदैन होला र ? यस्तो बेला म पाण्डवहरूसँग मिलेँ भने मलाई सबैले डरछेरुवा भन्दैनन् (१४६।९) ? ' त्यति बेला पनि कर्णलाई दुर्योधनको विजयको भन्दा आफ्नै पौरुषको बढी चिन्ता हुन्छ । आफ्नो दानवीर छवि प्रमाणित गर्न उनी कुन्तीलाई अर्जुनबाहेक अन्य पाण्डवलाई नमार्ने वचन दिन्छन् । कर्णले दुर्योधनको विजयलाई यदि सर्वोपरि मान्थे भने यस्तो नाजायज वचन दिँदैन थिए।
युद्धको सँघारमा पनि कर्णलाई आफ्नै यशको बढी चिन्ता हुन्छ । कुरुसैनिकहरूको वरीयता निर्धारण गर्ने क्रममा सेनापति भीष्मले कर्णतर्फ संकेत गरेर भन्छन्, 'दुर्योधन, तिम्रा यी मित्र अत्यन्तै कटुभाषी, आत्मप्रशंसी र नीच छन् । युद्धमा यिनी अतिरथी, रथी दुवै बन्न योग्य छैनन् । त्यसैले यिनलाई म अर्धरथी बनाउँछु (१६८।३-७) ।' भीष्मको निर्णयलाई द्रोणले पनि सही ठहर्याउँछन् । यसबाट क्रुद्ध बनेका कर्ण भीष्मसँग भन्छन्, 'तिमी राग, द्वेषले भरिएका छौ, त्यसैले आफूखुसी रथी, अतिरथीको चयन गर्दैछौ ।
बूढाहरूको कुरा सुन्नुपर्छ । तर, असाध्यै बुढाहरू केटाकेटीजस्तै हुने भएकाले उनीहरूको कुरा सुन्नलायक हुँदैनन् ।' फेरि पनि उनी आफू एक्लैले समस्त पाण्डव सेनाको संहार गर्नसक्ने ध्वाँस दिन्छन् । 'मैले यसो गरेँ भने यसको श्रेय सेनापति भएको नाताले भीष्मलाई जान्छ, जुन म चाहन्नँ । त्यसैले भीष्म बाँचुन्जेल म युद्ध गर्दिनँ', उनी भन्छन् (१६८।२८-२९) ।
पराजय
कर्ण वीर नभएका चाहिँ होइनन् । इन्द्रप्रस्थ राज्यमा राजसुय यज्ञ गर्नुअघि भीम, अर्जुन, नकुल र सहदेवले मिलेर गरेको दिग्विजय कर्णले एक्लै गर्छन् । कर्णलाई सधंै खसाएर बोल्ने भीष्मले वाणशय्यामा पुगेपछि भने कर्णको तारिफ गर्दै भन्छन्, 'दुर्योधनका लागि कन्या अपहरण गर्न एक्लै काशी गएर तिमीले त्यहाँ आएका सबै राजालाई पराजित गर्यौ । जरासन्धजस्तो दुर्जेय वीरलाई पनि हरायौ (भीष्मपर्व १२२।१७-१८) ।' महाभारत युद्धमा कर्णको मृत्यु भएको सुनेपछि धृतराष्ट्रले पनि कर्णले देखाएको पराक्रम एक÷एक गरी सम्झन्छन् ।
कुरुक्षेत्रको युद्धमा अर्जुनबाट मारिनुअघि कर्ण विभिन्न वीरबाट पराजित भएका थिए । अर्जुनपुत्र अभिमन्युले पनि कर्णलाई पराजित गरेका थिए । कर्णको प्रतिरक्षा गर्न आएका कर्णका भाइलाई अभिमन्युले कर्णकै अगाडि मारिदिएका थिए (द्रोणपर्व, ४१।४-६) । जयद्रथलाई मार्नुअघि अर्जुनले कर्ण, भुरि श्रवा, वृशसेन, जयद्रथ, कृपाचार्य, शैल्य र अस्वत्थामालाई एकसाथ हराएका थिए ।
महाभारत युद्धमा कर्ण सबैभन्दा बढी भीमसँग हारेका थिए । भीमले कर्णलाई पटकपटक रहीन पारिदिएका थिए । रथहीन बन्न पुगेका कर्णको उद्धारका लागि दुर्योधनले आफ्ना भाइहरू दुःशल, दुर्जय, दुर्मुख आदिलाई रथसहित पठाउँदा भीमले कर्णकै अगाडि उनीहरूलाई मारिदिएका थिए । धृतराष्ट्रका अधिकांश पुत्रलाई भीमले कर्णकै अगाडि मारेका थिए ।
एकपटक भीमले हानेको वाण लागेर रथमै मूच्र्छित हुन पुगेका कर्णको जिब्रो काट्न भीम तम्सिका थिए । कर्णका सारथि शल्यले अर्जुनको कर्णबधसम्बन्धी प्रतिज्ञाबारे स्मरण गराएपछि भीम पछि सरेका थिए (कर्णपर्व, ५०।४७) ।
एकपटक चाहिँ कर्णले भीमलाई जितेर पनि नमारीकन छोडिदिएका थिए । भीमबाट पटकपटक हारेको झोकमा कर्णले वर्षाएको वाणका कारण भीम अस्त्रशस्त्र तथा रथहीन बन्न पुग्छन् । त्यसपछि पनि कर्णले भीममाथि निरन्तर प्रहार गर्छन्, तर कुन्तीलाई दिएको वचन सम्झिएर बधचाहिँ गर्दैनन् (द्रोणपर्व १३९।९२) । कर्णले भीमलाई धनुको कुनाले हिर्काएर गिज्याइरहेको बेला अर्जुनले आएर दाइको उद्धार गर्छन् (१३९।११३) ।
रथहीनता
रथहीन अवस्थामा पुगेको कर्णलाई अर्जुनले धोका दिएर मारेको भनाइ प्रचलनमा छ । तर, यस्तो भनाइको आशय सही छैन ।युद्धको बीचमा योद्धा रथहीन हुनु त्यति बेला अनौठो थिएन । रथहीन बन्नु नपरोस् भनेर योद्धाहरूका निम्ति थप रथहरूको बन्दोबस्त गरिएको हुन्थ्यो र एउटा रथ काम नलाग्ने भए अर्कोमा चढेर युद्धलाई निरन्तरता दिनुपथ्र्यो । रथ परिवर्तन गर्दै गर्दा आवश्यक पर्यो भने आफ्नो पक्षका योद्धाहरूबाट 'कभर' मिल्थ्यो ।
द्रोणले युधिष्ठरलाई पनि रथहीन बनाइदिएका थिए । रथहीन भएपछि भुइँमा उभिएर युधिष्ठिरले दुवै हात उठाई आत्मसमर्पण गरेपछि पनि द्रोणले आक्रमण गर्न छोडेका थिएनन् । त्यसपछि छेउमा रहेका सहदेवको रथमा चढेर युधिष्ठिर भागेका थिए (द्रोणपर्व १०६।४२-४७) । कर्णलाई भीम र अर्जुनले मात्र होइन, घटोत्कच (द्रोणपर्व, १७९।४७) र सात्यकीले पनि रथहीन बनाइदिएका थिए (१४७।६४) ।
उपसंहार
सेनापति बनेको दोस्रो दिन अर्जुनसँग निर्णायक युद्धमा निस्किनुअघि कर्णलाई 'म मारिँदैछु' भन्ने बोध भइसकेको हुन्छ । सकेसम्म बढी कीर्ति आर्जन गरेर विरोचित मृत्यु हासिल गर्ने अभिलाषा कर्णले राखेको देखिन्छ ।
कर्ण कुनै वीर क्षत्रीलाई सारथि बनाएर मर्नुअघि अर्जुनकै हाराहारीमा उक्लिन चाहन्थे । जीवनभर क्षत्रीको सेवक बनेका उनीभित्र सायद क्षेत्रीलाई सेवक बनाउने धोको थियो । दुर्योधनसँग उनी 'शैल्यजस्ता कुशल अश्वविद्लाई सारथि बनाउन पाए अर्जुनलाई मार्नसक्ने थिएँ' भन्छन् । दुर्योधनले उनको इच्छा पूरा गरिदिन्छन् ।
त्यसपछि कर्ण आफ्नो दानवीर छवि अन्तिमपटक प्रकट गर्छन् । युद्धभूमिमा रहेका सैनिकसँग उनी भन्छन्, 'जसले आज मलाई अर्जुन देखाइदिन्छ, उसलाई म अपार धनसहित सुनको हारमा सजिएका मगध देशका सय जना दासी दिन्छु (३८।२ र १८) ।' कुवेर बनेर कर्णले धन उडाउन खोजेको भन्दै शैल्यले कर्णको उपहास गर्छन् र 'अर्जुन स्वयं तिमीलाई खोज्दै मार्न आउँदैछन्, धन्दा नमान' भनी कर्णलाई उत्तेजित पार्छन् (३९।२) ।
त्यसपछि कर्ण आफूले कृष्ण र अर्जुनसँग एकसाथ युद्ध गर्नु परेको भान दिन खोज्छन् । भन्छन्, 'आज दुईजनाले मिलेर मलाई मार्नेछन्, अथवा म दुवैलाई मार्नेछु ।' उनको खिल्ली उडाउँदै शैल्य भन्छन्, 'गिद्धले युद्धमा दुईवटा सिंह मार्न सम्भव छैन (३९।५) ।'
दुईवटा सिंहमाथि एक्लै जाइलागेर मृत्युवरण गर्ने चितुवाको नियति कर्णले भोग्न खोजेको प्रस्टै देखिन्छ । त्यसैले उनी योजनाबिनै निर्णायक युद्धमा होमिन्छन् । उनलाई सम्झाउँदै शैल्य भन्छन्, 'तिमी ब्यूहरचना गरेर युद्धमा सहभागी बन र सैनिकबाट घेरिएर सुरक्षित भई अर्जुनसँग युद्ध गर । म दुर्योधनको भलाइका लागि यो सब भनिरहेको छु (३९।९-१०) ।' तर, कर्ण सुन्दैनन् । उल्टै भन्छन्, 'एकमात्र रथ लिएर आज म अर्जुनसँग युद्ध गर्दैछु, मजस्तो वीर अर्को को होला र (४२।२६) ? '
युद्धका क्रममा कर्णले अर्जुनमाथि आथर्वणास्त्र, सर्पमुखा वाण, रौद्रास्त्र, वरुणास्त्र आदि प्रहार गर्छन् । भार्गवास्त्र चलाउनचाहिँ जान्दैनन् । कर्णका प्रहार छिचोल्दै अर्जुन युद्धमा हावी हुँदै जान्छन् । अर्जुनले गाह्रौं पार्दै लगेको अवस्थामा कर्णको रथ भासिन्छ । रथ फेर्नुको सट्टा कर्ण अर्जुनसँग रथ निकाल्ने समय माग्छन् । अर्जुनले नमानेपछि कर्ण 'मैले सधैं धर्मको अनुसरण गरेँ, तर आज धर्मले मेरो रक्षा गरेन' भन्दै धर्मको निन्दा गर्छन् (९०।८६) र आँसु झार्छन् (९०।१०७) । कर्णले धर्मबारे गरेको टिप्पणीको उपहास गर्दै कृष्ण भन्छन्, 'विपत्तिमा फसेपछि नीच मानिसले आफूले गरेको कुकर्मको होइन, दैवको निन्दा गर्छ (९१।१) ।' त्यसपछि कृष्ण कर्णले गरेका अधर्मको फेहरिस्त सुनाउन थाल्छन् । कर्ण लाजले शिर झुकाउँछन् (९१।१५) ।
भासिएकै रथबाट अर्जुनमाथि वारुणास्त्र आदि चलाएर कर्णले अर्जुनलाई घाइते बनाउँछन् (९१।२१ र ३०) । त्यही मौकामा रथको पांग्रा निकाल्न कर्ण जमिनमा उत्रिन्छन् । त्यतिन्जेलमा अर्जुनले आफूलाई सम्हालिसक्छन् र अञ्जुलिक वाण हानेर कर्णको घाँटी काटिदिन्छन् (९१।४० र ५०) ।
कर्णको मृत्युअगावै अश्वत्थामालाई अर्जुन विजयी हुने पूर्वाभास भइसकेको हुन्छ । त्यसैले उनले दुर्योधनलाई पाण्डवहरूसँग सन्धि गर्न सुझाव दिएका हुन्छन् । तर, दुर्योधन मान्दैनन् । अन्ततः अर्जुनको हातबाट कर्ण मारिन्छन् र महाभारत युद्ध व्यावहारिक रूपमा अन्त्य हुन्छ । .