तंग्रिँदै अपार्टमेन्ट व्यवसाय

तंग्रिँदै अपार्टमेन्ट व्यवसाय

२०७२ वैशाख १२ को भूकम्पले थलिएको अपार्टमेन्ट व्यवसाय बिस्तारै तंग्रिन थालेको छ । त्यतिबेला क्षति पुगेका ५१ वटा अपार्टमेन्टमध्ये २० वटा बस्नयोग्य प्रमाणित भइसकेका छन् । हाल यी आपर्टमेन्टले सरकारी निकायअन्तर्गतको भवन निर्माण विभागबाट हरियो स्टिकर पाएका छन् । बाँकी ३१ वटा अपार्टमेन्टमध्ये २९ ले पहेँलो र दुईवटाले रातो स्टिकर पाएका थिए । भूकम्प गएको २८ महिनामा पहेँलो स्टिकर पाएका सबै अपार्टमेन्ट सामान्य मर्मतपछि बस्नयोग्य बनेका छन् । यसको अर्थ अब पहेँलो स्टिकर पाएका अपाटमेन्ट पनि हरियो स्टिकर पाउने प्रक्रियामा पुगेका छन् भन्ने नै हो ।

बस्नयोग्य अपार्टमेन्टमा आवश्यकताअनुसार मर्मत, पुनःस्थापना र रेक्ट्रोफिटिङ गरेरै भए पनि यसमा देखिएका कमजोरी सुधार्ने काम भइरहेको छ । सामान्यदेखि विशेष मर्मत गरेरै भए पनि भूकम्पप्रतिरोधी मापदण्ड पूरा गरी बस्नयोग्य बनाइएको छ ।

 

रातो स्टिकर पाएका दुई आपर्टमेन्टमध्ये ‘पार्क होराइजन’ भौतिक संरचनामा सुधार गरेर हरियो स्टिरक पाउने अन्तिम तयारीमा छ । अर्को रातो ओरियन्टल कोलोनी भने हरियो स्टिकर पाउने प्रक्रियामा रहेको भवन निर्माण विभागका सूचना अधिकारी लिला खतिवडाले जानकारी दिए । काठमाडौं महानगरपालिका-१४, कुलेश्वरको ओरियन्टल कोलोनी-२ भूकम्पपछिको सस्याग्रस्त अपार्टमेन्ट हो । आठवटा ब्लक भएको पाँचतले यो अपार्टमेन्टका दुई ब्लक भूकम्पमा क्षतिग्रस्त भए । सहरी विकास तथा भवन निर्माण विभागअन्तर्गतको डिभिजन कार्यालय, काठमाडौंको टोली भूकम्पलगत्तै ‘अयापिड भिजुअल एसेसमेन्ट’ गर्न जाँदा दुइटा ब्लकका भुइँतलाका पिलर भाँचिएको भेटियो ।

भूकम्पपछिको विस्तृत क्षति मूल्यांकन अध्ययन प्रतिवेदनले काठमाडौं उपत्यकामा निर्माण भएका अर्थात् निर्माण हुने क्रममा रहेका २० वटा अपार्टमेन्ट बस्नयोग्य भएको प्रमाणित गरेको थियो । सहरी विकास तथा भवन निर्माण विभागअन्तर्गतको डिभिजन कार्यालय, काठमाडौंले अध्ययन प्रतिवेदका आधारमा परीक्षण तथा मापदण्ड पूरा गरेका ती अपार्टमेन्टलाई बस्नयोग्यको सूचीमा राखिसकिएको उल्लेख छ ।

विभागमा देशभरि ७१ वटा अपार्टमेन्टले निर्माणका लागि अनुमति लिएका छन् । त्यसमध्ये निर्माण भएका वा निर्माणाधीन अवस्थामा ५१ अपार्टमेन्ट छन् । बाँकी भने निर्माणका लागि आवश्यक स्रोतसाधन जुटाउन लागिपरेका छन् । २०७१ साल अन्त्यसम्म निर्माण भएका ५१ अपार्टमेन्ट भवनमा हरियो स्टिकर पाएका २० मध्ये भूकम्पपछि ६ वटामा मात्रै कुनै क्षति नभएको सहरी विकास तथा भवन निर्माण विभागको भनाइ छ ।

तिनीहरूमा धुम्बाराही अपार्टमेन्ट (ओरियन्टल), दि कम्फर्ट हाउजिङ (टीसीएच), भाटभटेनी अपार्टमेन्ट, इन्द्रेणी अपार्टमेन्ट (पहिलो), इन्दे्रणी अपार्टमेन्ट (दोस्रो) र सनराइज अपार्टमेन्ट छन् । अन्यले भने सामान्य सुधार गरेर हरियो स्टिकर पाएका थिए ।

क्षतिग्रस्त अपार्टमेन्टहरूलाई विभागअन्तर्गतको डिभिजन कार्यालयले तीन समूहमा वर्गीकरण गरेर सामान्य मर्मतबाट सञ्चालन गर्न सकिने आठवटालाई मर्मत गर्न निर्देशन दियो । मर्मतपछि ‘नन डिस्ट्रक्टिभ टेस्ट’ (एनडीटी)मा सफल ती आठवटै अपार्टमेन्टले प्रयोग अनुमति पाएका छन् ।

विकास हुँदै छ हाउजिङ कल्चर

भूकम्पका कारण विस्थापित अपाटमेन्टबासी बिस्तारै पुरानै लयमा फर्कन थालेका छन् । भूकम्पपछि अहिलेसम्म पनि अपार्टमेन्ट किनेर बसेका धेरै परिवार फर्कन भने अझै बाँकी छ । एकल परिवार बढ्दो सहरी जीवनका लागि अपार्टमेन्ट रोजाइमा परेको हो । सुरक्षा, चोरी, डकैतीलगायत अपराधबाट जोगिन मात्र होइन, व्यक्तिगत जीवनका हर सुरक्षाका निम्ति पनि मानिसले अपार्टमेन्ट रोज्छन् । यिनै सुनिश्चितता कारण सर्वसाधारण अपार्टमेन्टप्रति आकर्षित भएका हुन् । सानो क्षेत्रमै समुदायको सामीप्य मिल्नु अपार्टमेन्टको अर्को विशेषता रहेको सिभिल होमका प्रवक्ता भीम खरेलको भनाइ छ ।

हाउजिङमा सवा खर्ब लगानी

काठमाडौं उपत्यकामा निर्मित अपार्टमेन्टहरूमा एक खर्ब २५ अर्ब रुपैयाँ लगानी भएको घरजग्गा व्यवसायी संघले जानकारी दिएको छ । त्यसमध्ये ४२ अर्ब रुपैयाँ बैंकहरूको लगानी हो भने बाँकी ८३ अर्ब रुपैयाँमध्ये आधा व्यवसायी र आधा सर्वसाधारणको छ । ३० लाख रुपैयाँदेखि साढे दुई करोड रुपैयाँसम्ममा बिक्री भएका करिब चार हजार फ्ल्याटमा बस्ने परिवार र तीसँग प्रत्यक्ष जोडिने रोजगार बजार आफैमा ठूलो क्षेत्र पनि भएको संघको तथ्यांकमा उल्लेख छ । भूकम्पपछि अपार्टमेन्ट व्यवसायमाथि आइपरेको संकटले यो लगानीसँगै त्यसमाथि आ िश्रत रोजगारी पनि जोखिममा धकेलियो । राष्ट्र बैंकको तथ्यांक अनुसार हाल घरजग्गामा बैंक तथा वित्तीय क्षेत्रको लगानी ८५ अर्ब रुपैयाँ पुगेको छ ।

२०७२ जेठमा दर्ता भएको भाटभटेनी अपार्टमेन्ट (दोस्रो)ले भूकम्पयता स्वीकृति पाए पनि अन्यले भने पाएका छैनन् । उक्त अपार्टमेन्ट पनि पहिलेदेखि नै प्रक्रियामा रहेकाले दर्ता भएको बताइएको छ । त्यसबाहेक भूकम्पयता कसैले नयाँ अपार्टमेन्ट निर्माणको स्वीकृति लिएका छैनन् । पहिल्यै स्वीकृति लिएकाले पनि निर्माण कार्य सुरू नगरेको विभागका सूचना अधिकारी खतिवडाले बताए ।

कतिपयले स्वीकृत परियोजना नै रद्द गरेका छन् । २०६१ सालमा एउटा अपार्टमेन्टले निर्माण स्वीकृति लिएकोमा २०७२ को सुरुआतसम्म आइपुग्दा त्यो संख्या ७१ पुगेको थियो । तर १२ वैशाख २०७२ को भूकम्प त्यस्तो बिन्दु बन्न पुग्यो, जहाँबाट ‘हाइराइज’ भवन निर्माणमा ब्रेक लाग्यो । उपत्यकामा २०६४ सालपछि अपार्टमेन्ट निर्माणका लागि निवेदन दर्ता गर्ने क्रम तीव्र थियो । उक्त क्रम २०६९ सालपछि भने घट्दै गएको छ । २०६४ मा ७, २०६५ मा २३, २०६६ मा १२, २०६७ मा ७ तथा २०६८ मा ८ वटा अपार्टमेन्ट गर्दा भएका थिए । २०६९ र २०७० सालमा भने अपार्टमेन्ट निर्माणका लागि चार÷चारवटा निवेदन परेका थिए ।

भूकम्पअघि नै प्रक्रियामा गइसकेकाबाहेक त्यसपछि एउटा अपार्टमेन्ट पनि दर्ता भएको छैन । उपत्यकामा हालसम्म ७१ वटा कम्पनीले ६ हजार ८ सय ८ युनिट अपार्टमेन्ट निर्माणका लागि स्वीकृति लिएका छन् । ७१ मध्ये ६ वटा कम्पनीले निर्माण सुरू नै गरेका छैनन् । पाँचवटा कम्पनीले उप्रयोग परिवर्तन गरी व्यावसायिक भवन, अस्पताललगायत निर्माण गर्दै आएको विभागको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.