नाकाबन्दी तोड्न कतारी राजाको सक्रियता
रियाद/दोहा : साउदी अरब र कतारका नेताहरुले कूटनीतिक समस्या समाधानका बारेमा टेलिफोनमा कुराकानी गरेका छन् ।
यो कुराकानीबाट शुक्रबारदेखि उनीहरुबीचको सम्बादहिनता टुटेको छ भने टेलिफोनवार्ता सौहार्दपूर्ण भएको छ ।
कतारका राजा शेख तामिम बिन हमाद अल थानीले गरेको फोन अरबका राजकुमार मोहम्मद बिन सलमानले उठाएको साउदी अरबका सरकारी सञ्चार माध्यमहरुले जनाएका छन ।
कतारी राजा हमाद अल थानीले तीन महिनादेखिको नाकाबन्दी सहितको तनावपूर्ण समस्यालाई वार्ताको माध्यमबाट अन्त्य गर्न आग्रह गरेका थिए ।
टेलिफोन कुराकानीका क्रममा कतारका राजाले आफ्नो देशलाई नाकाबन्दी गराएका देशहरुसँग आफू वार्ता गर्न चाहेको बताएका थिए ।
उनले साउदी अरब नेतृत्वका खाडी क्षेत्रका चार राष्ट्रसहित सरोकारबालाहरुको सर्वोत्तम हितलाई ध्यानमा राखेर समाधान निकाल्नु पर्नेमा जोड दिएको समाचार संस्थाहरुले जनाएका छन् ।
साउदी अरब, बहराईन, इजिप्ट र युनाईटेड अरब इमिरेट्स् (युएइ)ले गत जुन ५ देखि कतारमाथी कूटनीतिक समस्या सृजना गर्दै नाकाबन्दी गरेका छन ।
कतारले आतङ्कवादी र अतिवादीहरुलाई सहयोग गरेको, उनीहरुको आन्तरिक मामिलामा हस्तक्षेप गरेको र इरानसँगको कुटनीतिक सम्बन्ध बलियो बनाउदै लगेको लगायतका आरोप नाकाबन्दी गर्ने देशहरुले लगाएका छन । तर उनीहरुको आरोपलाई कतारले भने पुरै अस्विकार गरेको छ ।
नाकाबन्दी लगाएका देशहरुले कतारसँगको कूटनीतिक समस्या समाधान गर्दै नाकाबन्दी तोड्न १३ बुँदे माग राखेका छन । ती माग मध्ये इरानसँगको सम्बन्ध तोड्नु पर्ने र कतारमा रहेका टर्कीका सेनाहरु फिर्ता पठाउनु पर्ने लगायतका मागहरु मुख्य रहेका छन् ।
जे भएपनि समस्या समाधानका लागि छलफल तथा पहल गर्न साउदी अरबका राजकुमार मोहम्मदले विषेश प्रतिनिधि पठाउने प्रस्तावलाई कतारका राजा सेख तामिमले स्वागत गरेको कतारको सरकारी समाचार संस्थाले जनाएको छ ।
कतारी राजा हमाद अल थानीले यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पसँग पनि टेलिफोन कुराकानी गरेका थिए ।
कुनै पनि देशको सार्वभौमिकतालाई असर नपार्ने गरी रचनात्मक वार्तामार्फत समस्याको समाधान गर्न सकिने कतारी राजाको भनाइ थियो ।
कतारी राजा हमाद अल थानीले कुवेतको प्रयासमा अमेरिकाले आफ्नो अडान परिवर्तन गरी वार्तामार्फत समस्या समाधानका लागि प्रयास गर्नुपर्ने बताएका थिए ।
साउदी अरबको नेतृत्वमा साउदी अरब, युनाइटेड अरब इमिरेट्स (यूएइ), बहराइन र इजिप्टले कतारमाथि नाकाबन्दी गरेका छन । उनीहरूले जमिन, समुद्र हवाइ सम्पर्कसमेत बन्द गरेका छन । रासस/सिन्ह्वा