सवारीमा सावधानी
दसैं नजिकिँदै गर्दा बजार, यातायात सबैतिर भीडभाड बढेको छ । पारिवारिक जमघटको यो अवसरलाई उल्लासमय बनाउन मानिसहरू घर फर्कन थालिसकेका छन् । काठमाडौं छोडेर बाहिरी सहर जाने र भित्रिने क्रम सुरु भइसकेको छ, जुन केही दिनपछि बढेर जानेछ । सुखद पारिवारिक मिलनको यो अवसरमा दु:खद दुर्घटनाका खबरसमेत सँगै आउन थालेका छन् ।
त्यसो त दुर्घटना आफैंमा दु:खद संयोग हो । यो जुन कुनै बखत मानवीय कमजोरीका कारण घटित हुन सक्छ । तर दसैंको बेला दुर्घटनाका खबर अरू बेलाभन्दा बढी आउने गरेको पाइन्छ । त्यसकारण दुर्घटनाका जोखिमबाट बच्न यो बेलामा यात्रु, चालक र यो क्षेत्रलाई नियमन गर्ने निकाय सबैभन्दा बढी चनाखो हुनुपर्छ । क्षमताभन्दा बढी यात्रुसहित सवारी नलाउने, सवारी चलाउँदा जा“चबुझ गरेर मात्रै चलाउने, टाढाको यात्रामा एउटै चालकको प्रयोग नगर्ने आदि सावधानीका उपाय अवलम्बन गर्न सके दुर्घटनाका जोखिमबाट बच्न सकिन्छ ।
केही दिनअघि नुवाकोटमा बस दुर्घटना हुँदा १० यात्रुको अकालमा ज्यान गयो भने २५ भन्दा बढी घाइते भए । त्यसको तीन दिनपछि धादिङमा त्यस्तै दुर्घटना हुँदा दुईको ज्यान जानुका साथै ३१ जना घाइते भए । भदौ १५ मा कोसी राजमार्गमा भएको दुर्घटनामा १० जना घाइते भए । सोही दिन तेह्रथुममा बस दुर्घटनामा हुँदा एक घाइते भए । भदौ १७ गते काठमाडौंको जोरपाटीमा बस दुर्घटना हुँदा १६ जना घाइते भए ।
पर्व नजिकिँदै गर्दा यस्ता समाचार बढी नै सुन्न पाइन्छ । यस्ता दुर्घटना हुनुमा अनेक कारण जिम्मेवार छन् । पहिलो- सवारी नियमको उल्लंघन । जस्तो- नुवाकोटको घटनामा साँघुरो सडकमा क्षमताभन्दा बढी यात्रु बोकेकाले घुम्तीमा बस मोड्न नसक्दा दुर्घटना भएको बताइएको छ । दोस्रो- कमजोर यातायात पूर्वाधार । बर्खाले चिप्लो र हिलो बनाएका साँघुरा पहाडी सडक दुर्घटनाको लागि उत्तिकै जिम्मेवार छन् । तेस्रो- सवारी सिन्डिकेट । सडकमा अझै पनि केही यातायात व्यवसायीको एकाधिकार छ । सीमित व्यक्तिहरूले प्रशासनमा प्रभाव पारी यातायात सञ्चालनमा सिन्डिकेट कायम राख्न सक्नुले पनि कहीं न कहीं दुर्घटनालाई नै मलजल गरेको छ । यसमा व्यावसायिक प्रतिस्पर्धा हुन नसक्दा पुराना र प्राविधिक रूपमा चलाउन नमिल्ने खालका सवारीसाधन सञ्चालनले पनि दुर्घटना बढाएको छ ।
दुर्घटना पूर्णत: रोक्न नसकिएला तर यसमा जोखिम कम गर्न सकिन्छ । राज्यले दुर्घटना घटाउने ओठे प्रतिबद्धता प्रकट गरेर पुग्दैन, हजारौं नागरिकजनको जीवन जोडिएको यस मुद्दामा गम्भीर हुनुपर्छ । ट्राफिक नियम कडाइका साथ पालना गर्ने, क्षमताभन्दा बढी यात्रु ओसारपसार भइरहेको छ कि भनेर अनुगमन गर्ने, चाडपर्वलाई ध्यानमा राख्दै भत्केका स्थानीय तथा राष्ट्रिय सडकहरूको द्रूत गतिमा मर्मतसम्भार गर्नेतर्फ गम्भीर हुन आवश्यक छ । पूर्णरूपमा सवारी सञ्चालन गर्न योग्य नहुँदानहुँदै कतिपय ग्रामीण सडकमा मनोमानी यातायात सञ्चालन भएका छन् । त्यसको अनुगमन आवश्यक छ । जोखिमपूर्ण सडकमा सवारी चलाउने अनुमति दिइनु उचित होइन ।
यातायात व्यवसायीहरू नाफाकेन्द्रित मात्रै हुनु उचित होइन । यातायात श्रमिकले सवारी चलाउँदा दुर्घटना भएका कैयन् नजिर छन् । त्यसमा कडीकडाउ हुनुपर्छ । सवारी चलाउनुअघि नियमित चेकजा“च अनिवार्य छ, जो धेरै हदसम्म हाम्रो सन्दर्भमा हुँदैन । एकान्त सडकमा अनुगमन गर्ने निकायको अभावमा द्रूत गतिमा सवारी हाँक्ने चलन, सडक प्रयोगको ज्ञान अभावमा मनलाग्दी सडक प्रयोग गर्ने पैदलयात्री, झुन्डिएरै भए पनि हतारमा यात्रा गर्ने यात्रु र सवारी नियम कार्यान्वयनमा उदासीन ट्राफिक प्रहरी पनि दुर्घटनाको लागि जिम्मेवार देखिन्छन् । त्यसकारण दुर्घटनाको जोखिम न्यून गर्न वा हटाउन यी सबै पक्षको सावधानी र गम्भीरता आवश्यक छ ।