बन्द प्रशिक्षणका लागि महिला क्रिकेटर छनोट
काठमाडौं : अर्को वर्ष हुने टीट्वेन्टी महिला विश्वकप अन्तर्गतको एसियाली छनोट प्रतियोगिताका लागि सञ्चालन गरिने बन्द प्रशिक्षणका लागि २२ खेलाडीको नाम छनोट गरिएको छ । नोभेम्बर २० बाट थाइल्यान्डमा हुने एसियाली छनोट प्रतियोगिताको तयारीका लागि नेपाली टोलीले बन्द प्रशिक्षण सुरु गर्दैछ ।
बन्द प्रशिक्षणका लागि सञ्चालन गरिएको तीनदिने प्रतियोगितामार्फत प्रदर्शनका आधारमा २२ खेलाडी छनोट गरिएको छनोट समितिले जनाएको छ । छनोट समितिमा मुख्य प्रशिक्षक जगत टमाटा, प्रशिक्षक सामसनजंग थापा र कप्तान रुबिना क्षेत्री छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा गरिएको तीनदिने प्रतियोगितामा ४४ खेलाडीलाई समावेश गरिएको थियो ।
बन्द प्रशिक्षणका लागि छनोटमा परेका खेलाडीमा पुरानै अनुहारको बाहुल्य छ । छनोट भएका खेलाडीमा कप्तान रुविना क्षेत्री, सीता रानामगर, सरिता मगर, नेरी थापा, रोमा थापा, इन्दु बर्मा, करुणा भण्डारी, सोनु खड्का, शोभा आले, नितु भण्डारी, एलिस क्षेत्री, कविता कुँवर, बिनु बुढामगर, सरस्वती चौधरी र लक्ष्मी चौधरी छन् । यस्तै रीतु कनोजिया, संगीता राई, अञ्जली चन्द, काजोल श्रेष्ठ, रेखा रावल र सबनम राई पनि अन्तिम २२ भित्र अटाएका छन् ।
प्रतियोगिताका लागि महिला टोलीले केही दिन नेपालमै अभ्यास गर्नेछ । टोली त्यसपछि प्रतियोगिताको तयारीस्वरूप नोभेम्बर १० मा बंगलादेश जानेछ । बंगलादेशकोे १० दिनको अभ्यासपछि टोली प्रतियोगिता खेल्न थाइल्यान्ड पुग्नेछ । थाइल्यान्डमा विजेता टोली अर्को वर्ष नेदरल्यान्ड्समा हुने विश्वकपको अन्तिम छनोट प्रतियोगितामा छनोट हुनेछ । महिला टीट्वेन्टी विश्वकप सन् २०१८ मै वेस्ट इन्डिजमा हुँदैछ ।