‘काम नगर्नेले भोट पाउँदैनन्'

‘काम नगर्नेले भोट पाउँदैनन्'

सुर्खेत: हरेक निर्वाचनका बेला भोट माग्न गाउँ पुग्ने उम्मेदवार र नेताहरूसँग पश्चिमी सुर्खेतका बासिन्दाले उही माग गर्दै आएका छन्। २०४८ सालपछिका निर्वाचनमा यस क्षेत्रका मतदाताले गाउँमा बिजुली र सडक कालोपत्रेको माग गर्दै आए पनि कसैले सम्बोधन गरेका छैनन्। साविकको क्षेत्र नम्बर ३ र हालको २ अन्तर्गत प्रदेशसभा (२) ले समेट्ने क्षेत्रका मतदाताका माग अझै पूरा हुन नसकेको हो। यही क्षेत्रबाट निर्वाचित भएकाहरू मन्त्रीसम्म बने पनि बिजुली पुग्न सकेको छैन । बड्डीचौरबाट गुटु हुँदै लगामसम्म जोड्ने सडकको अवस्था पनि दयनीय छ । स्थानीयले माग गर्दै आए पनि कालोपत्रे भएको छैन।

‘हामीलाई अरू केही चाहिएको छैन, सडक कालोपत्रे गरिदिए हुन्थ्यो, गाउँमा बिजुली जोडिदिए पुग्छ', बराहताल गाउँपालिका–६ का ५७ वर्षीय डम्बर बीसी भन्छन्, ‘तर, आजसम्म कसैले सुनेनन् । मैले त २०४८ सालमै भोट माग्न आउने नेताहरूसँग यही माग गरेको थिएँ ।'

बिजुली र सडक राम्रो नहुँदा पश्चिमी क्षेत्रको विकास हुन नसकेको उनी बताउँछन् । ‘आजसम्म धेरै निर्वाचन भए, धेरैले जितेर पनि गए', उनी भन्छन्, ‘हाम्रो अवस्था उस्तै छ, बिजुली देख्न नपाएरै उमेर ढल्कियो । कालोपत्रे सडकमा यात्रा गर्ने सपनै भयो, कोही नेताले पनि यसमा सोचेनन् ।' यसपटक पनि भोट माग्न आउने नेतासँग यही माग गर्ने उनी सुनाउँछन् ।

बराहताल गाउँपालिका, पञ्चपुरी नगरपालिका र चौकुने गाउँपालिकामा बिजुली पुगेको छैन । बाबियाचौरमा स्थानीय उत्पादनमा थोरैले बिजुली उपभोग गर्न पाएका छन् । बाँकी अहिले पनि दियालो र सोलारकै भरमा छन् ।

‘हाम्रो नेता नै जिम्मेवार भएनन्, सडक र बिजुलीको बारेमा सोच्दै सोचेनन्', पञ्चपुरीका खगेन्द्र कँडेल भन्छन्, ‘मैले भोट हाल्न थालेदेखि नै नेताहरूलाई गाउँमा बिजुली आवश्यक छ भन्दै आएको छु, आजसम्म यसको सुनुवाइ भएन । निर्वाचनका बेला बाटो बनाउँछु भनेर वाचा गर्छन्, अहिले हामीले यो कच्ची सडकमा छतमा यात्रा गर्नुपर्ने बाध्यता छ ।'

बड्डीचौरबाट लगाम जोड्ने सडक कालोपत्रे नहुँदा पश्चिमका नागरिकले धेरै सास्ती बेहोर्नुपरेको छ । हरेक निर्वाचनमा प्रायः दलका उम्मेदवार पनि पश्चिममा बिजुली पुर्‍याउने र सडकलाई कालोपत्रे गर्ने नारा लिएर मतदाताको आँगनमा पुग्दै आएका छन् । वर्षौं बित्यो न नेताले बचन पूरा गरेका छन् न त स्थानीयले आफ्नो माग नै परिवर्तन गरेका छन् । बरु आसन्न निर्वाचनमा पनि यहाँका नागरिक यही माग तेस्र्याउने तयारीमा छन् । सालकोटका हर्कबहादुर बुढा भन्छन्, ‘हामीले उहिलेदेखि यो कुरा भन्दै आएका छौं, यसपटक पनि यही माग गर्ने हो । नेताले नगरेर अब कसले गर्छ विकास ? काम नगर्नेले अब भोट पाउनेवाला छैनन् ।'

पश्चिमबाट संसदीय र संविधानसभा निर्वाचन गरी कांग्रेसले चारपटक जितेको छ । एकपटक माओवादीले जितेको छ । तर, स्थानीयका माग जस्ताको त्यस्तै रहेको चौकुनेका विष्णु नेपालीको दुखेसो छ । भन्छन्, ‘हामी जनता पनि उस्तै हौं, भोट मात्र हाल्यौं । विकास भएन भनेर कसैले खबरदारी नगर्दाको परिणाम हो यो, अब भोट हाल्दा बिचार गर्नुपर्ने भो ।'


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.