फुपू-भदाको रोचक चुनावी भिडन्त
बर्दिबास : मंसिर २१ गते हुने प्रदेशसभा निर्वाचनमा महोत्तरीबाट फुपू र भदा चुनावी मैदानमा उत्रिएका छन्। महोत्तरीको क्षेत्र नम्बर १ (क) को प्रदेशसभा सदस्यका लागि फुपू-भदा चुनावी प्रतिस्पर्धामा उत्रिएपछि चुनावी माहौल तातेको छ।
नेपाली कांग्रेसबाट प्रल्हादकुमार क्षेत्री र वाम गठबन्धनबाट उनकी फुपू शारदादेवी थापा चुनावी मैदानमा उत्रिएका हुन्। प्रल्हादलाई यसअघि नेपाली कांग्रेसले स्थानीय तह चुनावमा बर्दिबास नगरपालिकाको मेयर पदको उम्मेदवार बनाएको थियो। रोचक चुनावी प्रतिस्पर्धामा उनी माओवादी केन्द्रका उम्मेदवारसँग पराजित भएका थिए। एमाले नेतृ शारदादेवी पनि स्थानीय चुनावमा उपमेयर पदको दावेदार थिइन् तर टिकट पाउन सकिनन्।
शारदा महिला अधिकारकर्मी हुन् भने व्यवसायिक पृष्ठभूमिका प्रल्हाद उद्योग वाणिज्य संघ बर्दिबासका अध्यक्ष हुन्। आआफ्ना पार्टीभित्रका प्रदेशसभा निर्वाचनका आकांक्षीलाई पछि पार्दै टिकट पाएका यी फुपू-भदा मतदाताको घरदैलो पुगेर मत मागिरहेका छन्।
फुपू शारदा भन्छिन्, 'राजनीतिमा कुनै पारिवारिक सम्बन्ध हुँदैन। सबै आफ्ना कर्मले चिनिने हो।' उता प्रल्हाद आफ्नो प्रतिस्पर्धी फूपुमात्र नभएर अरु पनि भएको बताउँछन्।
‘हामी फुपू र भदा मात्रै होइन् अरु पनि चुनावी मैदानमा छन्। त्यसैले मेरो प्रतिस्पर्धी सबैसँग हो।' मतदाताले भाइलाई एकपटक मतदान गरिसकेकोले यसपटक आफूलाई मतदान गर्नेमा विश्वस्त छन् शारदा। भन्छिन्, 'यसपटक मतदाताले मलाई जिताउँछन्। मेरो परिवारमा ऊ (भदा) बाहेक ३६ मत मेरो पक्षमा छ।' थापा २०५८ सालदेखि एमालेमा सक्रिय छन्। यसपटक माओवादी केन्द्रको पनि साथ रहेकोले जित सहज हुने उनको बुझाई छ।
महोत्तरी क्षेत्र नम्बर १ को (क) बाट माओवादी केन्द्रका राजु खड्काले समेत उम्मेदवारी दिएका थिए। एमालेले समयमै उम्मेदवार टुंग्याउन नसकेको भन्दै उम्मेदवारी दिएका खड्काले पछि थापालाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएका थिए।
महोत्तरी क्षेत्र नम्बर १ मा वाम गठबन्धनबाट माओवादी केन्द्रका गिरीराजमणी पोखरेल, कांग्रेसबाट सीताराम भण्डारी र राजपा-फोरम गठबन्धनबाट लक्ष्मी महतोले उम्मेदवारी दर्ता गराएका छन्। तराईलाई काठमाडौंसँग जोड्ने बर्दिवास मुख्य कडी भएकै कारण बर्दिवास क्षेत्रमा हुन लागेको चुनावी प्रतिस्पर्धालाई चासोका साथ हेरिएको छ।
महोत्तरीमा प्रतिनिधिसभातर्फ ४ र प्रदेशसभातर्फ ८ निर्वाचन क्षेत्र छन्। महोत्तरीमा ३ लाख १७ हजार ६८९ जना मतदाता छन् भने निर्वाचन क्षेत्र नं १ को (१) मा ४२ हजार ६९० मतदाता छन्।