राजविराजमा मैथिली सम्मेलन
राजविराज : १५औं अन्तर्राष्ट्रिय मैथिली सम्मेलन शुक्रबार सप्तरी सदरमुकाम राजविराजमा सुरु भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जितेन्द्रनारायण देवले सम्मेलन उद्घाटन गरे। उनले लामो संघर्षपछि मैथिली भाषाले संवैधानिक पहिचान पाएको बताए।
नेपालीपछि भाषिक रूपमा मैथिलीको स्थान उच्च रहने दाबी गर्दै उनले मैथिलीले पाएको पहिचानलाई जोगाउने चुनौती रहेको बताए। उनले साढे पाँच जिल्लामा मैथिली र साढे दुई जिल्लामा भोजपुरी भाषा रहेको प्रदेश नम्बर २ मा भोजपुरीले मैथिलीलाई समर्थन नगरे जिल्ला छुट्याउनुपर्ने अन्यथा सहअस्तित्वलाई स्वीका गरी मैथिली-भोजपुरी प्रदेश बनाउनुको विकल्प नरहेको धारणा व्यक्त गरे।
भाषाको संरक्षण तथा संवद्र्धनका लागि उचित वातावरण निर्माण गर्न भएको दुईदिने सम्मेलन आयोजना गरिएको मैथिली साहित्य परिषद् सप्तरीले जनाएको छ। सम्मेलनस्थलमा मैथिली भाषाका विभिन्न कृतिको स्टल राखिएको छ। उद्घाटनमा मैथिलीभाषी अभियन्तालाई ‘मिथिलारत्न' र ‘मिथिला श्री' सम्मान प्रदान गर्नुका साथै विभिन्न कृति र स्मारिकाको विमोचन गरिएको थियो। सम्मेलनमा नेपाल र भारतका गरी दुई सयभन्दा बढी मैथिलीभाषी अगुवाको सहभागिता छ।