नमुना सहर बन्दै पाटन

नमुना सहर बन्दै पाटन

बैतडी : जिल्लाको मध्यभागमा रहेको पाटन पहिलादेखि नै नाम चलेको ठाउँ हो। वरिपरि डाँडाकाँडाले घेरेको र बीचमा फाँट रहेकाले यसलाई पाटन भनिएको स्थानीयको भनाइ छ। जिल्लाको धान उत्पादनमा पकेट क्षेत्र मानिने पाटन प्राकृतिक हिसाबले पनि निकै रमणीय छ। जिल्लाको तल्लोसोराड, पुरचौडी क्षेत्र, च्वाँगढ क्षेत्र र सदरमुकामबाट समेत बीचमा रहेकाले पाटनमा पहिलादेखि नै बजार रहेको स्थानीय जानकार जंगवीर विष्टले बताए। ‘मैले जान्दा पाटन सानो बजार थियो। अहिले म ७० वर्ष लागें पाटनको मुहार फेरिएको छ', विष्ट भन्छन्, ‘पाटन बजारलाई पहिला मैतड बजार भनेर चिनिन्थ्यो। यहाँको महत्व पहिलादेखि थियो।'

०२७ सालदेखि पाटन बजारमा स-साना पसल सुरु गरिएको विष्टको भनाइ छ। ‘तत्कालीन राजा महेन्द्रको सवारी भएपछि यसको महत्व बढेको हो', उनी भन्छन्, ‘त्यो समयमा महाकाली अञ्चलको अञ्चल सदरमुकाम बनाउने तयारी भएको थियो। तर, पछि विविध कारणले त्यो सफल हुन सकेन।' पाटनलाई सोराड क्षेत्रको मुख्य बजारका रूपमा पहिलादेखि लिने गरिएको जिल्ला समन्वय समितिका प्रमुख सिद्धराज भट्टले बताए। ‘विमानस्थल निर्माण कार्य ०२५ सालमा सुरु भयो, त्यसबेलादेखि पाटन बजारमा चहलपहल बढ्दै गएको हो', उनले भने।

०३६ सालदेखि पाटन विमानस्थलमा विमान उडान सुरु भएपछि यो बजारले महत्व पाएको थियोे तर माओवादी द्वन्द्वका बेला यो विमानस्थल बन्द भयो। अहिले पाटन विमानस्थल निर्माण कार्य जारी छ। माओवादी द्वन्द्व अन्त्य भएसँगै पाटन बजारमा फेरि चहलपहल बढ्न सुरु भएहो हो। ०३७ सालदेखि सडकको पहुँचसँग जोडिएको पाटनमा द्वन्द्वपछि सडक कालोपत्रे गरिएको थियो। अहिले पाटनमा जिल्लास्तरका ६ वटा सरकारी कार्यालयसमेत छन्।

सरकारले ०६८÷६९ मा देशका १० वटा नमुना सहरमध्ये मध्यपहाडी लोकमार्गअन्तर्गत पर्ने पाटनलाई पनि छनोट गरेपछि यसको मुहार फेरिन थालेको छ। नयाँ सहर घोषणा भएको दुई वर्षसम्म कुनै काम नभए पनि पछिल्लो दुई वर्षयता पाटन नयाँ सहरको विकासले गति लिएको छ। सरकारले २० वर्षभित्र १ लाख मानिसको बसोबास गराउने उद्देश्यले नयाँ सहर घोषणा गरेपछि पाटनमा नयाँ घरसमेत बन्न थालेका छन्। जिल्ला समन्वय समिति प्रमुख सिद्धराज भट्ट भन्छन्, ‘नयाँ सहर घोषणा भएसँगै पाटनमा बजार व्यवसायीले नयाँ घर बनाउन थालेका छन्। अहिले सुविधा सम्पन्न होटल सञ्चालनमा छन्। पाटन क्षेत्रमा जमिनको मूल्य अहिले अकासिएको छ।'

पाटन नगर विकास समितिका पूर्वअध्यक्ष जंगवीर विष्टका अनुसार नयाँ सहर आयोजनाअन्तर्गत पाटनलाई पर्यटकीय नगरी बनाउन योजनासमेत बनाइएको छ। सरकारले पाटनलाई नयाँ सहर घोषणा गरेसँगै बन्द विमानस्थल सुचारु गर्ने प्रयास जारी छ भने भीमदत्त पोलिटेक्निकल इन्स्टिच्युटको भवन पनि निर्माण कार्य जारी छ। यस्तै, पाटनमा बसपार्क निर्माण कार्य चलिरहेको छ।

पाटन नयाँ सहरका लागि दुई वर्षयता थोरै बजेट आएको भए पनि गत आर्थिक वर्षमा १० करोड बजेट विनियोजन भएको पाटन नयाँ सहर आयोजनाका प्रमुख प्रवीण शाहले बताए। ‘नयाँ सहर आयोजनाअन्तर्गत २ किलोमिटरको चक्रपथ निर्माणको कार्य जारी छ', उनले भने, ‘सडकलाई चौडा बनाउने कार्यसमेत थालिएको छ। गोइडाखोलादेखि पाटन पञ्चेश्वर सडक र बजारलाई जोड्ने रिंगरोड निर्माण भइरहेको छ।'

पाटन बजारभित्र अत्याधुनिक बसपार्क निर्माण भइरहेको र बहुबर्षीय ठेक्का प्रणाली मार्फत काम भइरहेको आयोजना प्रमुख शाहले जानकारी दिए। ‘बसपार्कमा पाइपलाइन बिछ्याउने, पार्किङस्थल बनाउने, आरसीसी गर्ने, पर्खाल लगाउने काम भइरहेको छ', उनले भने। चालु आर्थिक वर्षमा सोलार लाइट राख्ने, ढल निकास, एकीकृत सरकारी कार्यालय आदि थालिने आयोजना प्रमुख शाहले बताए। चालु आर्थिक वर्षमा सहरी विकास आयोजना कार्यालयको भवन निर्माण र कोल्डस्टोर निर्माण कार्य सुरु गरिने उनले जानकारी दिए।

खुलामञ्चको परिसर सुधारदेखि ठूलोसिटी हल (सभा हल) निर्माण कार्य पनि सुरु गरिनेछ। सभा हल निर्माणका लागि जमिन खोजी कार्य भइरहेको छ। ‘सरकारको एक नगर एक उद्यान कार्यक्रमअन्तर्गत हीरापुरमा पार्क निर्माण पनि भइरहेको छ', प्रमुख शाहले भने। पाटन नयाँ सहर आयोजना सुरु भएदेखि पाटनमा ठुल्ठूला होटल निर्माण सुरु भएको होटल व्यवसायी धर्मसिंह विष्टले बताए। ‘नयाँ सहर आयोजनाको काम सुरु भएपछि पाटनमा मानिसको आवतजावत बाक्लिन थालेको छ। गोष्ठी सेमिनारसमेत हुन थालेका छन्', उनले भने।

मध्यपहाडी लोकमार्गअन्तर्गत दशौं नमुना सहरका रूपमा पाटनलाई विकास गरिने पक्का भएकाले यसलाई धार्मिक पर्यटकीय नगरीका रूपमा विकास गर्न सकिने पाटन बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख उत्तम भण्डारीले बताए। ‘परापूर्वकालमा देवताको निर्णय गर्ने थलोका रूपमा मैतड (पाटन)लाई लिने गरिएको किंवदन्ती छ', क्याम्पस प्रमुख भण्डारीले भने, ‘आधुनिक कालमा यसलाई धार्मिक पर्यटकको हबका रूपमा विकास गर्न सकिन्छ।'

प्रसिद्ध ठाकुर मन्दिर पाटन बजार क्षेत्रमै छ। त्यसैगरी, १० किलोेमिटरमाथि चढे दक्षिण एसियाकै लामो गुफा पातालभुमेश्वर, साहित्यकार ताना शर्माले उल्लेख गरेको घनघस्या लेक पनि यही बाटो भएर जानुपर्ने, प्रसिद्ध महारुद्र मन्दिर यसै क्षेत्रमा परहेकाले यसलाई सांस्कृतिक नमुना नगरीका रूपमा विकास गर्न सकिने भण्डारीको भनाइ छ।

सुर्नया नदीकिनारमा रहेको स्वर्गेनी पिपल धामको पनि उत्तिकै महत्व छ। यो धामसम्म सडक पुगिसकेको छ। यसलाई समेत पाटनको धार्मिक क्षेत्रका रूपमा विकास गर्न सकिने स्थानीय लक्ष्मीदत्त पाण्डेले बताए। उनले भने, ‘स्वर्गेनी पिपलको महत्व आफंैमा अद्भुत छ। परापूर्वकालमा यो धाममा ऋषिमुनिले तपस्या गरेको कथन छ। पाटन नयाँ सहर निर्माण सिलसिलामा स्वर्गेनी पिपलको महत्व अझ बढ्ने देखिन्छ।'

पाटनलाई सरकारले नयाँ सहर बनाउने योजना सार्वजनिक गरेसँगै सुदूरका पहाडी जिल्ला डडेल्धुरा, बैतडी, दार्चुला र बझाङको मुख्य व्यापारिक केन्द्रका रूपमा विकसित हुने सामाजिक कार्यकर्ता लोकेन्द्रप्रसाद पन्त बताउँछन्। उनी भन्छन्, ‘यी चार जिल्लाका मध्यभागमा पाटन पर्छ। पाटनमै रहेको विमानस्थल सुचारु हुने हो भने यसको गरिमा बढ्नुका साथै आर्थिक गतिविधि बढ्छ।'

पाटनमा पछिल्लो दुई÷तीन वर्षयता केही गैरसरकारी संस्थाले आफ्ना कार्यालय स्थापना गरेका छन् भने बैंक तथा लघुवित्त संस्थाले पनि सेवा सुरु गरेका छन्। यसले पनि पाटनमा पछिल्लो समय मानिसको चहलपहल बढेको स्थानीय व्यापारी केशवसिंह विष्ट बताउँछन्। ‘अहिले घरघरेडी किन्नेको जमात बढेको छ भने जमिनको मूल्य पनि अकासिएको छ', उनले भने।

पाटनको बीच भाग भएर बग्ने सुर्नया नदीले पाटनको महत्व र शोभालाई अझ बढाइदिएको छ। यो नदीको पानीबाट जलविद्युत् आयोजना निर्माण गर्न सकिने सम्भावना पनि उत्तिकै छ। यद्यपि, २ मेगावाट विद्युत् सुर्नया नदीबाट यसअघि नै उत्पादन भइसकेको छ। विभिन्न समयमा गरिएको अध्ययनले पाटन प्याराग्लाइडिङका लागि पनि उपयुक्त मानिन्छ।

पाटन नयाँ सहर निर्माणलाई तीव्रता दिन नवनिर्वाचित जनप्रतिनिधिले पनि जोड दिएका छन्। ‘पाटन पहिलादेखि ऐतिहासिक महत्व बोकेको ठाउँ हो। यसलाई नमुना सहरका रूपमा विकास गर्न हरदम प्रयास गर्नेछु', नवनिर्वाचित प्रतिनिधिसभा सदस्य दामोदर भण्डारीले भने, ‘पाटन नयाँ सहरका लागि आवश्यक बजेट विनियोजन, ठेक्कामार्फत भइरहेका कामलाई गति दिन मेरो प्रयास रहनेछ।'

 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.