राजनीतिको ट्यागवाला बद्री
![राजनीतिको ट्यागवाला बद्री](https://annapurnapost.prixacdn.net/media/albums/badri-pangeni-5a4499a1c9f783.67166077_gJo3PnzXmq.jpg)
काठमाडौं : गणतन्त्र स्थापनाका लागि भएको २०६२/०६३ को आन्दोलन १९ औँ दिनमा उत्कर्षमा पुग्यो। जनआन्दोलनको राप र तापअघि निरंकुश राजा ज्ञानेन्द्र शाह धेरै टिक्न सकेनन्। र, यसरी देशमा गणतन्त्र आए। आन्दोलनपछि देश गणतन्त्रबाट पछाडि फर्कने अवस्था नरहे पनि नेताहरू गणतन्त्र संस्थागत गर्ने मूल दायित्वबाट विमुख भई झिनामसिना स्वार्थमा अल्झिएपछि लोकगायक बद्री पंगेनीले ‘अझै नि गणतन्त्र आ’को छैन है’ भन्ने गीत गाए। जनतालाई सचेतना र नेतालाई चेतावनीका निम्ति गाइएको यो गीतकै कारण उनले धेरै धम्की पाए। ‘यो गीत गाउँदा मैले धेरै धम्की सहनुपर्यो,’ उनले सम्झिए, ‘विभिन्न ठाँउमा मलाई कुट्न खोजियो।
भारतको मुम्बई, कतार र कोरियामा मलाई कुट्न खोजियो। काठमाडौँको भृकुटीमण्डपमा पनि ममाथि आक्रमणको प्रयास भयो। परिर्वतनका लागि गीत गाउँदा यस्तै हुने रहेछ।’ त्यसो त उनी अहिले पनि आलोचनामुक्त छैनन्। कलाकार साझा हुनुपर्नेमा पार्टीको गीत गाएको भन्दै कतिपय उनको चर्को निन्दा गर्छन्। उनलाई पार्टी कार्यकर्ताको ‘ट्याग’ पनि भिराइदिन्छन्।
बद्री भने यस्ता आरोपलाई असामान्य ठान्दैनन्। उनी आफ्नो गायन करिअर नै पार्टीको गीत गाएर बनेकाले यसलाई त्यत्रो ठूलो ‘इस्यू’ बनाइरहन जरुरी नरहेको तर्क गर्छन्। भन्छन्, ‘मैले मेरो गायन पेशा सुरु गरेको नै पार्टी कार्यक्रमको स्टेजमा गाएर हो।’ उनी आफूमा सानैदेखि विद्रोही स्वभाव भएको र १३ वर्षको उमेरमै गीत बनाएर अन्याय–अत्याचारविरुद्ध गाउन थालेको बताउँछन्। ‘मैले १३ वर्षको हुँदा पहिलो पटक स्टेजमा गाएको थिएँ, त्यो पनि पार्टीको कार्यक्रममा,’ उनले भने, ‘‘रातो रिबन, अन्याय सहेरै बित्यो जीवन’ भन्ने गीत आफैँले बनाएर गाएको थिएँ।’
मान्छे चेतनशील प्राणी भएको भन्दै उनी राजनीतिक आस्था हुनु स्वाभाविक रहेको तर्क गर्छन्। ‘मान्छे चेतनशील प्राणी हो,’ उनको तर्क छ, ‘हामीमा एउटा विचार हुन्छ। राजनीतिक आस्थाकै आधारमा कसैलाई गाली गर्नु राम्रो होइन। यो लोकतान्त्रिक गणतन्त्र हो। यहाँ जुनसुकै पार्टीप्रति आस्था राख्न पाइन्छ।’
नेकपा (एमाले) मा आस्था राखे पनि पार्टी र नेताले गलत काम गरे आफूले त्यसविरुद्ध पनि बोल्ने गरेको उनको दाबी छ। ‘यस पटकको चुनावमा वामपन्थीको पक्षमा गीत गाउँदै हिँडेँ,’ उनी भन्छन्, ‘भोलि सरकारमा गएर प्रचण्ड, ओलीले गलत काम गरे उनीहरूविरुद्ध पनि मज्जाले गीत गाउँछु। लोकमानसिंह कार्कीलाई अख्तियार प्रमुख बनाउनु हुँदैन भनेर मैले आवाज उठाएको थिएँ। झलनाथ खनाल, सुशील कोइराला र प्रचण्डलाई मैले स्टेजबाटै मुर्दावाद भनेको छु।’
पछिल्लो समयका अधिकांश लोकदोहोरी गीतमा माया/पिरतीका कुरा मात्रै अटाए पनि बद्री यस मामिलामा अलिक फरक देखिन्छन्। ‘अझै नि गणतन्त्र आ’को छैन है’, ‘लाऊ चेली सिन्दुर लाऊ’ जस्ता जनपक्षीय गीतमा उनले जनतका पीडा र दुःख गाएका छन्। यस्ता गीत गाउनुमा आफ्नो पारिवारिक पृष्ठभूमिको पनि योगदान रहेको उनी बताउँछन्। भन्छन्, ‘‘म राजनीतिक पृष्ठभूमिको मान्छे हुँ। मेरो बुवा राजनीति र समाजसेवामा रुचि राख्नुहुन्थ्यो। घरमा कम्युनिस्ट नेताहरू आइरहन्थे। त्यसले मलाई प्रभाव पार्यो।’
उमेरले ४० वर्ष टेक्नै लागेका बद्री पाल्पाको रामपुरमा जन्मे र अहिले कर्मथलो काठमाडौँलाई बनाइरहेका छन्। पाल्पादेखि काठमाडौँ आएर गीत–संगीतका क्षेत्रमा अहिलेको पहिचान बनाउन धेरै संघर्ष गर्नुपरेको उनी बताउँछन्। ‘म गाउँदेखि आएको मान्छे,’ उनी भन्छन्, ‘काठमाडौँमा सानोतिनो संघर्षले टिक्न सक्ने अवस्था हुँदैन। संर्घषका कथा भन्दा–भन्दा वाक्क भैसकेको छु। अझै पनि संघर्ष गर्दैछु।’
आफ्नो गायन जीवनमा दुइटा गीत गाएकोमा उनलाई पछुतो छ। ती गीतमा पर्छन्, ‘ब्युटी नम्बर वान’ र ‘पीएन क्याम्पस’। ‘मैले यी गीत नगाएको भए हुन्थ्यो भन्ने लाग्छ,’ उनी भन्छन्, ‘आजकाल त्यो गीत अंगे्रेजी शब्द राखेर नगाएको भए हुन्थ्यो भन्ने लाग्छ। यद्यपि, गीतमा सन्देश भने थियो।’ यी गीत गाएकोमा पछुतो माने पनि ‘पीएन क्याम्पस’ भन्ने गीतले नै बद्री पंगेनी भनेर चिनाएको उनी बताउँछन्। ‘लाऊ चेली सिन्दुर लाऊ’ र ‘अझै नि गणतन्त्र आ’को छैन है’ गीतले भने आनन्द र सन्तुष्टि दिएको उनको भनाइ छ।
अहिले गाएर मात्रै बाँच्न सकिने अवस्था नरहेको उनको अनुभव छ। ‘गाएर मात्रै बाँच्ने सकिने अवस्था छैन,’ उनी भन्छन्, ‘साँच्चै भन्ने हो भने गायन अहिले समाजसेवाजस्तै बनिरहेको छ। स्टेजबाट जति पैसा आउँछ, त्योबाहेक हाम्रो अर्को कमाइ छैन। पहिले क्यासेट बिक्री हुन्थ्यो, रोयल्टी पनि पाइन्थ्यो।’
बद्रीलाई फुटबलमा रुचि छ। फुटबलपछि राजनीति उनको अभिरुचिको क्षेत्र हो। पूर्णकालीन भएर राजनीतिमा लाग्ने चाहना भए पनि राजनीति महँगिएका कारण आफू अहिलेलाई हच्किएको उनी बताउँछन्। ‘अहिले पैसावालाको कब्जामा राजनीति छ,’ उनी भन्छन्, ‘एउटा मेयरले चुनाव जित्न दुई करोडसम्म खर्च गर्नुपर्ने अवस्था छ। यही अवस्था रह्यो भने राजनीति गर्न गाह्रो हुन्छ। भोलि जनता सचेत भएर पैसावालभन्दा सुखदुःखमा साथ दिनेलाई मात्र भोट दिने अवस्था आयो भने राजनीतिमा जानेबारे पनि सोच्न सकिन्छ।’
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)