‘हाम्रो त जागिरै टेन्सनवाला छ’
![‘हाम्रो त जागिरै टेन्सनवाला छ’](https://annapurnapost.prixacdn.net/media/albums/traffic-5a44cbf8aa8610.90351483_bZMGFmLMT1.jpg)
ट्राफिक प्रहरी हुनुभएको कति वर्ष भयो ?
पाँच वर्षजति भयो।
कसरी बन्नुभयो ट्राफिक प्रहरी ?
सानैदेखि पुलिस नै बन्छु भन्ने सोच त थिएन। जे भए पनि सरकारी जागिर खान्छु भन्ने लाग्थ्यो। त्यही सोचले ट्राफिकमा ट्राई गरेँ।
घर कता हो ?
हेटौँडा, मकवानपुर।
यता कता बस्नुहुन्छ ?
कार्यालयमै बस्छु।
परिवारमा कति जना हुनुहुन्छ ?
नौ जना।
कतिसम्म पढ्नुभएको छ ?
ब्याचलर्स गर्दैछु। तेस्रो वर्ष चलिरहेको छ। अहिले परीक्षा आउन लागेकाले कामसँगै पढ्नु पनि पर्छ।
पढाइ र कामलाई म्यानेज गर्न त गाह्रो हुन्छ होला नि ?
काम गर्दै पढ्न त गाह्रै हुन्छ। तर, मिलाउनुपर्छ। बाटोमा गाडीको प्रेसर हेरेर खटिन्छु, खाली समयमा पढ्छु।
कस्तो प्रेसर ?
सडकमा सवारी साधनको चाप त हुन्छ नै, अर्को पैदलयात्रुको टेन्सन पनि त्यस्तै हुन्छ। कोटेश्वर त झन् सवारीसाधनको चाप हुने एरिया हो। यहाँ त एकदमै चनाखो भएर काम गर्नुपर्छ। एकापट्टि जाम कम गर्न खोज्दा अर्कोपट्टिबाट ‘हर्न’ बजाएर हैरान पार्छन्। त्यतिखेर त टेन्सनै हुन्छ। हुन त हाम्रो जागिरै टेन्सनवाला छ।
काठमाडौँबाहिर पनि ड्युटी गर्नुभएको छ कि ?
रामेछापमा गरिएको छ।
उपत्यकाबाहिर र उपत्यकामा काम गर्दा कस्तो अनुभव गर्नुभयो ?
रामेछापमा हुँदा त्यति धुलोधुवाँ भोग्नुपर्दैनथ्यो। काठमाडौँमा त सास फेर्नै मुश्किल छ। घण्टौँसम्म मास्कले मुख छोपेर ड्युटीमा खटिनुपर्छ। सुरु–सुरुमा त सडकमा उभिनै गाह्रो भएको थियो। अहिले चाहिँ बानी परिसक्यो।
आजभोलि यात्रुले गाडीमा चढ्दा लाइनमा बस्नुपर्ने नियम आएको छ नि ?
हालसालै आएको नियम हो, यो। पिक आवरको समयमा बस स्टपमा बसेर माइकिङ गर्छौं। ‘लाइनमा बसेर बस चढ्नुहोला’ भनिराखेका हुन्छौँ।
यो नियम लागू गर्नुको कारण के हो ?
मान्छेहरू गाडी चढ्न दौडिन्छन्। कति त लड्छन् पनि। यात्रुहरूले सहज ढंगले गाडीमा चढून् भनेर यस्तो नियम ल्याइएको हो।
यात्रुले पालना गरेका छन् त नियम ?
पहिलो दिन त मान्छेहरू छक्क पनि परेका थिए। अहिले चाहिँ लाइनमा उभिएर चढ्न थालेका छन्।
ट्राफिकको काम सहज हुन सरकारबाट के अपेक्षा राख्नुभएको छ ?
ट्राफिक लाइट भएता पनि त्यो प्रयोगमा आएको छैन। मुख्य चोकमा आकाशेपुल बनाउनुपर्छ। अन्डरवेको व्यवस्था गर्नुपर्छ। यी कुरामा सुधार गर्नसके सबैलाई सहज हुन्थ्यो होला।
ट्राफिक प्रहरीले भोग्नुपर्ने दुःख के हो ?
कहिलकाहीँ चाडपर्वको समयमा घर जान मन लाग्दा जान पाइँदैन। त्यति बेला मन खिन्न हुन्छ।
आइल्यान्डमा बसेर काम गर्न सहज कि बाटोमा ?
मलाई त आइल्यान्डमा बसेर काम गर्न सहज लाग्छ। सबैले आफूलाई ध्यान दिए जस्तो लाग्छ। चारैतिरको गाडी आफ्नो इशारामा चल्छन्, त्यसैमा खुशी लाग्छ।
प्रस्तुतिः रचना श्रेष्ठ
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)