छातीमा आमाको माया

छातीमा आमाको माया

टाटु भन्नासाथ धेरैले सोख र देखासिकीका लागि हो भन्ने ठान्छन् । पछिल्लो समय नेपाली चलचित्रका केही नायिका र मोडलले गोप्य अंगका छेउछाउ टाटु खोपेका चर्चाले नेपालका सञ्चारमाध्यम तात्ने गरेका छन् । यस मामिलामा पाका नायिका करिश्मा मानन्धरदेखि अहिलेकी ग्ल्यामरस नायिका सुस्मिता कार्कीसम्मले आफ्ना अंगमा टाटु खोपाएका छन् ।

टाटु मूलतः आफूप्रति अरूको आकर्षण बढाउनका लागि हो । धेरैको नजर आफूमाथि परोस् भनेर धेरैले टाटु खोपाउने गरेका छन् । टाटु संस्कृति प्रवद्र्धनका लागि नेपालमा अन्तर्राष्ट्रिय टाटु कन्भेन्सनसमेत हुने गरेको छ ।

कविराज नेगी लामा (३३) ले आफ्नो बायाँ छातीमा ठूलो टाटु खोपाएका छन् । तेक्वान्दोका पूर्वखेलाडी तथा प्रशिक्षकसमेत रहेका लामाले आफ्नी आमाको तस्बिरको टाटु छातीमा खोपेका हुन् । ‘जीवनभर आमाको सम्झना दिलाइरहोस् भनेर टाटु खोपाएको हुँ’, लामाले टाटु खोप्नुको कारण प्रस्ट्याउँदै भने । उनले टाटुमा ‘यु आर अलवेज विथ मी’ भनेर पनि लेखेका छन् ।

प्रशिक्षक लामाले सानोमा आमाको माया धेरै पाएनन् । उनी दुई वर्ष नपुग्दै आमा सीतामाया मोक्तानले यो धर्ती छाडिन् । सन् १९६९ मा जन्मिएकी सीतामायाले १९८९ मा २० वर्षको कलिलो उमेरमै देह त्याग गरिन् । आमाको निधन के कारणले भयो भन्ने कुरा लामालाई थाहा छैन । तर आमा बित्दा आफू आमाकै काखमा बसेर दूध चुसिरहेको कुरा भने उनले परिवारका अन्य सदस्यबाट पछि मात्रै थाहा पाए । ‘आमा बित्दा मैले आमाको दूध चुसिरहेको थिएँ रे’, कविराज भावुक हुँदै आमा बित्दाको क्षण सम्झन्छन् ।

आमा बित्दा उनका बुवा पनि साथमा थिएनन् । बुवा नवजात छोरा र श्रीमतीलाई छाडेर कता गए, कसैलाई थाहा थिएन । सानैमा आमा गुमाएका उनलाई फुपू शशी नेगी लामाले हुर्काइन् । फुपूले आमाले गर्ने लालनपालन त गरिन् तर कविराजले आमाजस्तो निश्चल माया भने पाउन सकेनन् ।

काठमाडौंको गौशालामा बस्दै आएका लामाले त्यहीँको शारदा माविमा पढे । त्यही स्कुलको प्रांगणमा तेक्वान्दोको ‘किक’ हान्न सिके । खेलाडी जीवन टुंग्याएर प्रशिक्षक बनेपछि उनी एक दिन पुरानो घर मकवानपुरको डाँडाखर्क गएका थिए । घर गएका बेला त्यहाँका पुराना सामान ओल्टाइ पल्टाइ गर्दा उनले आमाको नागरिकता पाए । त्यही नागरिकताको फोटोलाई ‘फ्रेम’मा सजाएर घरको भित्तामा झुन्ड्याए । आमाको फोटोलाई भित्तामा झुन्ड्याएर मात्रै उनलाई चित्त बुझेन । उनी आमा सदैव आफूसँगै भइरहून् भन्ने चाहन्थे । त्यसैले उनले आमाको तस्बिर आफ्नो छातीमा कुँदे ।

‘आमाको महत्व कस्तो हुन्छ भन्ने कुरा आमा नहुनेलाई मात्र थाहा हुन्छ । आमा हुनेले त्यसको महत्व बुझ्न सक्तैनन्’, आमाका एक्लो सन्तान लामा भन्छन्, ‘म बाँचुन्जेल आमाको माया पाइरहूँ भनेर छातीमा टाटु खोपाएको हुँ ।’ टाटु बनाउँदा उनले आमाको नामसँगै जन्ममिति र स्वर्गारोहण भएको मिति पनि उल्लेख गरेका छन् ।

तेक्वान्दोका प्रशिक्षक कविराज नेगी लामाले छातीमा टाटु खोपाएर आमाको तस्बिर अंकित गरेका छन् । ठमेलमा टाटु बनाउन पाँच घन्टाजति लाग्यो । आमाको मायाकै कारण होला, उनलाई दुखाइको अनुभूति नै भएन रे ।

‘ठमेलमा टाटु बनाउन पाँच घन्टाजति लाग्यो । त्यस अवधिमा सियोले मेरो छाती घोपिरहँदा मैले आमाबाहेक अरू केही सम्झिनँ’, टाटु खोप्दाको अनुभव सुनाउँदै उनले भने, ‘आमाको मायाकै कारण होला, मलाई दुखाइको अनुभूति नै भएन ।’

मकवानपुरमा लामाको आफ्नो पुरानो घर र मामाघर नजिकै छ । पहाडको डाँडामा घर र फेदीमा मामा घर रहेको बताउँछन् उनी । ‘बुवा महेन्द्र नेगी लामा काठमाडौंको दरबार हाइस्कुलमा पढ्नुहुन्थ्यो । दसैं, तिहार लगायतका बिदाका समयमा घर फर्किंदा आमासँग आँखा जुध्ने गरेको रहेछ । त्यही आँखा जुधाइ प्रेममा परिणत भयो र बुवाले आमालाई भगाउनुभयो’, लामा आमाबुवाको प्रेम कहानी बताउँछन् ।

आमा बितेको ३१ वर्ष अघिको हृदयविदारक घटना स्मरण गर्दै प्रशिक्षक लामा भन्छन्, ‘सायद आमालाई कुनै असाध्य रोगले लागेको थियो होला । समयमै उपचार पाएको भए आज म टुहुरो हुनु पर्दैन थियो ।’

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.