कृष्णनगर भन्सारले वार्षिक लक्ष्यको ५२ प्रतिशत राजश्व उठायो
कपिलवस्तु : लुम्बिनी अञ्चलको दोस्रो ठूलो भन्सार नाका कृष्णनगर भन्सार कार्यालयले साढे ५ महिनामा वार्षिक लक्ष्यको झण्डै ५२ प्रतिशतको आँकडा पार गरेको छ। चालु आर्थिक वर्ष २०७४/०७५ को साउनदेखि पुस १५ गतेसम्म कार्यालयले रु.२ अर्ब १४ करोड ४१ लाख ४८ हजार राजस्व संकलन गरेको छ।
भन्सारलाई चालु आर्थिक वर्षका लागि रु.४ अर्ब १३ करोडको लक्ष्य तोकिएको छ। साउन महिनामा रु. २८ करोड ९१ लाख ३८ हजारको लक्ष्य दिइएकोमा १ सय ३३ दशमलव ६३ प्रतिशत अर्थात् रु.३८ करोड ६३ लाख ७८ हजार राजस्व संकलन भएको छ।
भदौ महिनामा रु.३३ करोड ४ लाख ४४ हजारको लक्ष्य राखिएकोमा १ सय २६ प्रतिशत अर्थात रु.४१ करोड ६४ लाख ८९ हजार राजस्व उठेको छ। असोजमा रु २८ करोड ९१ लाख ३८ हजार लक्ष्यमध्ये १ सय ६७ प्रतिशत अर्थात रु ४८ करोड ३३ लाख ६३ हजार, कार्तिकमा रु.३३ करोड ४ लाख ४४ हजार लक्ष्य राखिएकोमा १ सय दशमलव २० प्रतिशत अर्थात रु ३३ करोड २० लाख १५ हजार राजस्व उठेको छ।
मंसिर महिनामा रु ३३ करोड ४ लाख ४४ हजारको लक्ष्य मध्ये १ सय दशमलव ४८ प्रतिशत अर्थात रु ३३ करोड २० लाख १५ हजार राजश्व उठेको छ। पुस महिनामा रु ३३ करोड ४ लाख ४४ हजारको लक्ष्य मध्ये १५ गते सम्म ५९ दशमलव प्रतिशत अर्थात १९ करोड ४८ लाख बराबरको राजश्व उठेको छ। बितेका साढे ५ महिनासम्म भन्सारले मासिक लक्ष्य पुरा गरेको देखिन्छ। यसले पनि वार्षिक लक्ष्य पुरा हुनेमा कर्मचारीहरु विश्वस्त रहेका छन्।
कृष्णनगर भन्सार प्रमुख बिन्देश्वरप्रसाद लेखकले करिब साढे ६ महिना मै वार्षिक लक्ष्यको ५२ प्रतिशतको आँकडा पार गर्नु सकारात्मक कुरा भएको बताए। उनले यथार्थपरक वर्गीकरण र मुल्यांकनले लक्ष्यको तुलनामा बढी राजस्व संकलन गर्र्न सफल भएको बताए। चोरीपैठारी हुने नाकाहरुको दिनहुँ गस्ती, फर्म क्षेत्रको निगरानी बढाइएकाले राजश्व असुलीको परिणाम राम्रो देखिएको भन्सार प्रमुख लेखकले जनाए। साथै उनका अुनसार भारतीय समकक्षीसँंग समेत समन्वय बढाएको छ।
जिल्लामा मुल भन्सार कार्यालय कृष्णनगरसहित थप ५ छोटी भंसार सञ्चालनमा रहेका छन्। सुठौली, चाकलचौडा, भिल्मी, हरिहरपुर र कृष्णनगरको पुरानो गेटको भंसार सञ्चालनमा छन्। भंसार नाकाबाट सिमेन्टका कच्चा पदार्थ (क्लिङ्कर), खरानी, जिप्सम, आइरन डस्ट र बक्ससाइटको आयातबाट सबैभन्दा बढी राजस्व उठेको भन्सार अधिकृत नरेन्द्रप्रसाद चौधरीले बताए।
यस्तै कोइला, जीरा चामल र कनिका, गहँु, खसीबोका, फलफुल, तरकारी, कपडा, जुत्ताचप्पल र औद्योगिक मेसिनरीका पाटपुर्जा आयातबाट पनि राजश्व संकलन भएको भन्सार अधिकृत चौधरीको भनाई छ। भन्सारलाई सूचना र प्रविधिमैत्री बनाउन आशीकुडावर्ड प्रणाली लागू गरिएकाले त्यसले पनि भन्सार असुरीमा सकारात्मक असर देखिएको भन्सार कर्मचारी बताउँछन्।
नेपालको सिमानाबाट सबैभन्दा नजिकको ब्रोडगेज लाइन भएको भारतीय रेलवे स्टेसन भएकाले पनि यो नाकाबाट आउने दिनमा बढी राजस्व संकलन हुने देखिएको भन्सार प्रमुख लेखकले बताए।
प्रतिक्रिया दिनुहोस !