‘सत्ता बार्गेनिङमा लाग्दा राप्रपा पराजित'

‘सत्ता बार्गेनिङमा लाग्दा राप्रपा पराजित'

काठमाडौं : चार वर्ष अघिको चुनावमा चौथो शक्ति बनेको राप्रपा छिन्नभिन्न हुँदै अस्तित्वको संकटमा छ। मंसिरको चुनावमा ३ प्रतिशत थ्रेसहोल्ड कटाउन नसक्दा राप्रपामा अस्तित्वको संकट देखा परेको हो।

चुनाव अघिसम्म आफूलाई वैकल्पिक राष्ट्रवादी र लोकतान्त्रिक दलका रूपमा प्रचार गर्दै आएको राप्रपा पछिल्लो जनमतबाट राष्ट्रिय दलको हैसियतबाट समेत विमुख भएको छ। हिन्दूराज्य र राजसंस्थाको हिमायती ठान्ने राप्रपाले जनतामा भ्रम सिर्जना गरेको आरोप लाग्दै आएको छ। संविधानसभा दोस्रो निर्वाचनमा धेरै मतदाताले समानुपातिकतर्फ राप्रपालाई मतदान गर्नुको एउटै कारण हिन्दूराज्यको एजेन्डा प्रमुख थियो भने कतिपयले तत्कालीन समयमा प्रमुख दलको राजनीतिक रवैयाप्रति असन्तुष्टि जनाउँदै राजसंस्थाको एजेन्डालाई पनि रुचाएका थिए।

राप्रपाले त्यतिबेला निर्वाचनमा समानुपातिकतर्फ ६ लाख ३० हजार ६ सय ९७ मत पाएको थियो। तर, त्यो साख चार वर्ष पनि टिकेन। राप्रपाले यो निर्वाचनमा एक लाख ९६ हजार ७ सय ८२ मत मात्रै पायो। उसले तीन प्रतिशतको थ्रेसहोल्ड पार गर्न सकेन।

निर्वाचन परिणामलाई लिएर राप्रपाभित्र विभिन्न कोणबाट टिप्पणी सुरु भएका छन्। कतिपयले निर्वाचनको संघारमा राप्रपा विभाजित हुँदा कम मत खसेको बताइरहेका छन् भने कतिले राप्रपाले आफ्ना एजेन्डा मतदातासामु प्रस्टसँग राख्न नसकेको विश्लेषण गरिरहेका छन्।

राप्रपा अध्यक्ष कमल थापा स्वयंले निर्वाचन परिणाम अनपेक्षित भएको भन्दै जनताले आफ्ना एजेन्डालाई अस्वीकार गरेको सार्वजनिक अभिव्यक्ति दिएका छन्।

धर्मनिरपेक्ष र गणतन्त्रविरुद्ध हिन्दूराज्य र राजतन्त्रको एजेन्डा बोकेको राप्रपा पछिल्ला चार वर्ष आफ्ना एजेन्डालाई थाती राखेर निरन्तर सत्तासीन दल बनिरह्यो। संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानलाई टेकेर राप्रपा यसबीचमा निरन्तर सत्तारुढ दल बनिरह्यो। जसकारण आफ्ना सिद्धान्त र चुनावी एजेन्डालाई उसले बिर्सेको भान राप्रपाका मतदातामा पर्नु स्वाभाविक थियो।

संविधान जारी भएपछि पहिलो पटक बनेको एमाले अध्यक्ष केपी ओलीको सरकारदेखि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा प्रमुख सत्ताघटक दलका रूपमा राप्रपा सरकारमा सहभागी बन्यो।

एकातिर राजतन्त्र र हिन्दूराज्यको एजेन्डालाई उठाइरह्यो भने अर्काेतर्फ संविधान कार्यान्वयनका लागि भन्दै सत्तामा जान छाडेन। जसले गर्दा विगतमा राप्रपाको एजेन्डा रुचाएका मतदाता यसपटक भड्किनु स्वाभाविक थियो। मतदाताको आक्रोश एउटै थियो, विगतमा हामीले हिन्दूराज्य र राजतन्त्रको एजेन्डालाई मतदान गरेका थियौं तर राप्रपाले हाम्रा मतको दुरुपयोग गर्दै सत्तामा जाने भर्‍याङ बनायो।'

उसो त राप्रपा अध्यक्ष कमल थापा र पूर्वराजा ज्ञानेन्द्र शाहबीच सम्बन्ध सौहार्द नरहेको खबर सार्वजनिक भएपछि राप्रपाको एजेन्डा थप कमजोर बन्न पुगेको विश्लेषण गर्ने पनि कम छैनन्।

राप्रपाका उपाध्यक्ष बुद्धिमान तामाङ भने आफ्नो पार्टीले हिन्दूराज्य र राजतन्त्रको एजेन्डा नछाडेको जिकिर गर्छन्। उनी भन्छन्, ‘हामीले एजेन्डा छाडेको भन्ने कुरा भ्रम मात्र हो। हाम्रा घोषणापत्रमा यही मुद्दा लिएर जनताबीच गएका थियौं। हामीले जनतालाई बुझाउन सकेनौं।'

तामाङको भनाइसँग राप्रपाकै अर्का नेता दिलनाथ गिरी भने सहमत छैनन्। उनी भन्छन्, ‘जनताले विगतमा हाम्रा एजेन्डा मन पराएर मत हाले तर नेतृत्वले त्यसको सम्मान गर्नुको सट्टा सत्तामा जाने अस्त्रका रूपमा जनताको मतलाई प्रयोग गरे। यसको जवाफ जनताले यसपटक हामीलाई दिए।'


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.