'देउवा काम नलाग्ने भएपछि नयाँ पात्र खोज्दै भारत'

'देउवा काम नलाग्ने भएपछि नयाँ पात्र खोज्दै भारत'

गाईघाट : नेकपा क्रान्तिकारी माओवादीका नेता तथा देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सिपी गजुरेलले निर्वाचन सम्पन्न भएपनि नेपालमा संक्रमणकाल अन्त्य नभएको दाबी गरेका छन् ।

क्रान्तिकारी पत्रकार महासंघ उदयपुरले मंगलबार सदरमुकाम गाईघाटमा गरेको पत्रकार सम्मेनमा बोल्दै गजुरेलले संविधान जारी गर्ने पक्षले संक्रमणकाल अन्त्य भएको घोषणा गरेपनि अहिले भइरहेका आन्दोलनले त्यो कुरा गलत सावित गरेको बताए ।

‘संविधान जारी गर्ने पक्ष भन्छन, देशमा स्थायित्व कायम भयो,’ उनले भने, ‘हेर्नुहोस्, अहिले प्रदेशको राजधानीबारे विभिन्न ठाँउमा आन्दोलन भइरहेको छ, के त्यसले पुष्टि गर्दैन र ? संक्रमणकाल अन्त्य नभएको ।’

गत सोमबार केपी ओली नेतृत्वको सरकार हेर्न भारत आतुर रहेको भन्ने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भनाईलाई गजुरेलले देउवा नेतृत्वको सरकार भारतका लागि काम नलाग्ने भएकाले नयाँको खोजी भइरहेको दाबी गरे ।

उपयुक्त एजेन्डा दिन नसकेर नेपाली कांग्रेसले नमिठोसँग पराजय भोगेको बताउँदै गजुरेलले कांग्रेस भारतबाट तिरस्कृत हुँदै गएको समेत बताए । उनले नेपाली कांग्रेस नेतृत्वको गठबन्धनले चुनावमा २०१५ सालको एजेण्डा बोकेकैले हार व्यहोरेको बताए ।

गजुरेलले निर्वाचनमा सहभागी हुने बताउँदै सरकारमा सहभागी नभइ संसदीय व्यवस्था खारेज गर्ने आफ्नो पार्टीको योजना सफल नभएको खुलासा गरे । उनले भने, ‘संसदीय मोर्चालाई कमजोर बनाउन भण्डाफोर गर्दै हिड्यौं तर सकिएन, जनताको मन जित्ने प्रयास जारी छ ।’

नयाँ संविधानलाई पश्चगामी र वामगठबन्धनलाई दक्षिणी गठवन्धनको संज्ञा दिँदै उनले अब बन्ने दक्षिणी गठबन्धनको सरकारले पश्चगामी संविधान नै कार्यान्वयन गर्ने बताए ।

आफूहरुले अग्रगमनसहितको संविधान चाहे पनि त्यो प्राप्त हुन नसकेकोले आफ्नो पार्टी जनयुद्ध नभई शान्तिपूर्ण आन्दोलनमा होमिएको उनको भनाइ थियो । नेत्रविक्रम चन्द विप्लवको पार्टीसँग एकताबारे पत्रकारको जिज्ञासामा गजुरेलले तत्काल एकता हुने अवस्था नरहेको बताए ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.