प्रदेश ४ : प्रदेश सभाको पहिलो बैठक २२ गते
पोखरा : प्रदेश नम्बर ४ को सभा आउँदो २२ गते बस्ने भएको छ । सांसदलाई जानकारी दिने गरी सूचना प्रकाशित हुन भने बाँकी छ ।
प्रदेश प्रमुख बाबुराम कुँवरले उक्त सूचना प्रवाहका लागि आफ्नो सचिवालयका अधिकारीलाई निर्देश गरिसकेका छन् । तर, औपचारिक रुपमा सूचना भने आइसकेको छैन । स्रोतका अनुसार १३-१४ गतेमात्रै सूचना प्रकाशित गर्ने कार्यक्रम छ ।
ज्येष्ठ सदस्यका नाताले सभामुखको भूमिका निर्वाह गरिरहेका सांसाद जनकलाल श्रेष्ठमार्फत बैठक आह्वान हुनेछ । २४ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि सबै सांसद पोखरा भेला हुने क्रम पनि देखेर गणपुरक संख्या पुग्ने गरी २२ गतेका लागि मिति तय गरिएको स्रोत बताउँछ ।
प्रदेश निर्वाचनको परिणाम आएको २ दिनभित्र सभाको पहिलो बैठक बोलाउनुपर्ने संवैधानिक प्रावधान छ । त्यो समय सीमा २३ गते सकिन्छ ।