सरकारी खर्चमा जनप्रतिनिधिको मस्ती

सरकारी खर्चमा  जनप्रतिनिधिको मस्ती

दुनै : डोल्पाका आठमध्ये पाँच स्थानीय तहका जनप्रतिनिधि र कर्मचारी सरकारी खर्चमा जिल्लाभित्रै र भारत भ्रमणमा गएका छन् । त्रिपुरासुन्दरी नगरपालिका तथा शे-फोक्सुडो, डोल्पो बुद्ध, छार्काताङसोङ र मुड्केचुला गाउँपालिकाका प्रमुख, वडा सदस्य र वडासचिवसमेत घुमघाममा निस्केका हुन् ।

सबै तहले नगर र गाउँ परिषद्बाटै निर्णय गराएर भ्रमणका लागि साढे पाँच लाखदेखि ३५ लाख रुपैयाँसम्म बजेट छुट्याएका छन् । शे-फोक्सुन्डो गाउँपालिकाले सबैभन्दा बढी ३५ लाख र मुड्केचुला गाउँपालिकाले सबैभन्दा कम पाँच लाख रुपैयाँ भ्रमणका लागि विनियोजन गरेका हुन् ।

शे-फोक्सुन्डोले भ्रमण र कर्मचारीको क्षमता अभिवृद्धिका लागि ३५ लाख रुपैयाँ विनियोजन गरेको प्रमुख टासीटुण्डुप गुरुङले जानकारी दिए । उनले ‘माथिल्लो डोल्पाको पर्यटकीय क्षेत्रको विकासका लागि’ भ्रमणमा पठाएको दाबी गरे । ‘हेर, देख र सिक अनि प्रयोगमा ल्याऊ’ भन्ने नै मुख्य उद्देश्य रहेको भ्रमण टोलीमा रहेका शे-फोक्सुडो गाउँपालिका-४ का वडाध्यक्ष पेमा वाङजेन लामाले जानकारी दिए ।

उनका अनुसार स्थानीय तहमा रहेका विभिन्न खनिज तथा जडीबुटीको प्रयोग र व्यवस्थापन, स्थानीय स्रोतको संरक्षण र प्रयोग, महिला समूहहरूको सीप विकास, महिलाको रोजगार व्यवस्थालगायत विभिन्न उद्देश्य लिएर जनप्रतिनिधि भ्रमणमा निस्केका हुन् ।

माथिल्लो डोल्पाका जनप्रतिनिधि र स्थानीयले हालसम्म पनि नेपाली भाषा राम्रोसँग बोल्न नसक्ने र परिचयमात्र दिन कठिन हुने अवस्था रहेकाले यो भ्रमण प्रभावकारी हुने वडाध्यक्ष लामाले दाबी गरे ।

त्रिपुरासुन्दरी नगरपालिकाका जनप्रतिनिधि र कर्मचारी भने अत्याधुनिक अंगुर खेतीको अध्ययन गर्न भन्दै भारतको हिमाञ्चल तथा अन्य खण्डको भ्रमणमा छन् । कृषकलाई आत्मनिर्भर बनाउने भन्दै विभिन्न जिल्ला र भारत भ्रमणमा गएको नगरपालिका स्रोतले जानकारी दिएको छ । सबैभन्दा कम बजेट छुट्याएको मुड्केचुला गाउँपालिकाका जनप्रतिनिधि भने देशकै विभिन्न महानगर र गाउँपालिका भ्रमणमा निस्केको प्रमुख दत्तबहादुर शाहीले जानकारी दिए । उनले भने, ‘हामीले जम्मा साढे ५ लाख मात्र विनियोजन गरेका छौं । विकसित स्थानीय तहबाट सिकेर आफ्नो तहमा कार्यान्वयन गर्नका लागि भ्रमण गरेका हौं ।’

ठूलीभेरी नगरपालिका, जगदुल्ला गाउँपालिका र काइके गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारी भने भ्रमणमा गएका छैनन् । हिउँदको समयमा यसै पनि कर्मचारी जिल्लामा नबस्ने, त्यसमाथि स्थानीय तहका जनप्रतिनिधिसमेत भ्रमणमा निस्केपछि स्थानीयवासीले भने आलोचना गरेका छन् । जनताको काम प्रभावित भएको भन्दै नागरिक समाज डोल्पा र सम्बद्ध संस्थाहरूले माघ ७ गते जिल्ला प्रशासन कार्यालय र जिल्ला समन्वय समितिमा संयुक्त ज्ञापनपत्रसमेत बुझाएका छन् ।

भ्रमणकै नाममा स्थानीय तहका अधिकांश जनप्रतिनिधि र कर्मचारी जिल्लाबाहिर जाँदा जनताको दैनिक काममा समस्या परेको जिल्ला समन्वय समितिका उपप्रमुख नरबहादुर बुढाले बताए । नागरिक समाज र सम्बद्ध संघसंस्थाको संयुक्त ज्ञापनपत्र बुझ्दै उनले भने, ‘जनताको काम रोकिनु हुँदैन । भ्रमणमा गएका मात्र नभएर अन्य सबै कार्यालयका कर्मचारी तत्काल जिल्लामा आई सेवा दिनुपर्छ।’

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.