माघ २१ मा प्रदेशसभा बैठक

माघ २१ मा प्रदेशसभा बैठक

जनकपुरधाम : प्रदेशसभाको पहिलो बैठक यही माघ २१ गते दिउँसो ११ बजे बस्ने भएको छ। प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले पहिलो संसद् बैठक आह्वान गरेपछि सभाकक्ष व्यवस्थापन कार्य अघि बढेको छ।प्रदेश प्रमुख सचिवालयका सचिव लावण्य ढकालका अनुसार पहिलो बैठकको व्यवस्थापनका लागि शुक्रबार संसद् सचिवालयबाट सहसचिव नेतृत्वमा ३ सदस्यीय टोली जनकपुर आउँदै छ। टोलीले बैठक सञ्चालन विधि र व्यवस्थापनलगायत विषयमा कर्मचारीलाई तालिम दिनेछ। ढकालले भने, ‘अन्य प्रदेशको तुलनामा प्रदेश २ मा व्यवस्थित रूपमा काम भइरहेको छ।’

प्रदेश प्रमुख कायस्थका अनुसार पहिलो बैठकको अध्यक्षता ज्येष्ठ सदस्य लगनलाल चौधरीले गर्नेछन्। बैठकबाट सभामुख र उपसभामुख चयन गरिनेछ। यो प्रदेशमा कुनै दलको बहुमत नभएकाले बैठकबाट दलहरूलाई बहुमत कायम गर्नका लागि आह्वान गरी मुख्यमन्त्री चयनलगायत प्रक्रिया अघि बढ्ने जनाइएको छ।

जनकपुर उपमहानगरपालिका-१२ स्थित शैक्षिक तालिम केन्द्रको भुइँतलामा रहेको ब्याडमिन्टन कोर्ट भएको कक्षलाई प्रदेशसभा बैठक कक्षका रूपमा तयार गरिएको छ। मर्मत अभावमा जीर्ण भइसकेको उक्त कक्षका अधिकांश झ्यालका शिशा फुटेर मर्मत गर्नुपर्ने अवस्थामा छन्। यसको रङरोगन, कुर्सी व्यवस्थापन, भुइँ प्लास्टर, साउन्ड, लाइट व्यवस्थापनलगायत कामका लागि बिहीबारदेखि कामदार खटिएका छन्।

कामदार चन्देश्वर शर्माले एउटा डेस्कमा तीन जना अटाउने गरी ४५ वटा राख्ने काम थालेको बताए। उनका अनुसार डेढ सयजति कुर्सी ल्याइने, त्यसपछि माइक र लाइटको काम अघि बढाइनेछ। १९ गतेभित्र काम सम्पन्न गर्न भनिएकाले १३ कामदार खटिएको उनले सुनाए।

पहिलो बैठकको अध्यक्षता ज्येष्ठ सदस्य लगनलाल चौधरीले गर्नेछन्। बैठकबाट सभामुख र उपसभामुख चयन गरिनेछ।

प्रदेशसभाको कार्यसञ्चालनका लागि शैक्षिक तालिम केन्द्रका भवनलाई उपयोग गर्ने तयारीअनुरुप व्यवस्थापनको काम अघि बढाइएको सहरी विकास तथा भवन निर्माण डिभिजन प्रमुख गंगाप्रसाद यादवले बताए। ‘अहिले प्रदेशसभा बैठकलाई पहिलो प्राथमिकतामा राखेर काम अघि बढाएका छौं’, उनले भने, ‘पहिलो बैठकले सभामुख, उपसभामुखलगायतको निर्णय गरेपछि सोहीअनुसार आवास तथा कार्यालयहरूको व्यवस्थापन हुनेछ।’

प्रदेश प्रमुखको सचिवालय जनकपुर चुरोट कारखाना रहेको भवनमा राखिएको छ। यहींबाट कार्यपालिका सञ्चालन गर्ने तयारी छ। सचिवालयका लागि १३ कर्मचारी दरबन्दी रहेकोमा सचिव, सहसचिव, कम्प्युटर अपरेटर, नायबसुब्बा र एक अन्य कर्मचारी गरी पाँच जनाले कार्यभार सम्हालिसकेका छन्। प्रदेश प्रमुखको निजी सचिवालयअन्तर्गत स्वकीय सचिव र अन्य दुई कर्मचारी नियुक्त भइसकेका छन्।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.