पक्राउ परेका नक्कली डाक्टर अधिकांश चिनियाँ

पक्राउ परेका नक्कली डाक्टर अधिकांश चिनियाँ

काठमाडौं : प्रहरीले चिकित्सासम्बन्धी योग्यताबिनै उपचार गरी बिरामी ठगेको अभियोगमा राजधानीका विभिन्न अस्पतालबाट नक्कली चिकित्सक र अस्पताल सञ्चालक गरी २० जना पक्राउ गरेको छ । पक्राउ परेकामध्ये अधिकांश चिनियाँ छन् ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), नेपाल मेडिकल काउन्सिल र उपभोक्ता हित संरक्षण मञ्चको संयुक्त टोलीले उनीहरूलाई विभिन्न अस्पतालमा बिरामीको उपचार गरिरहेका बेला पक्राउ गरेको हो । पक्राउ परेकामध्ये ठमेलस्थित अपोलो अस्पतालका ८ जना चिकित्सक रहेको काउन्सिल स्रोतले बतायो । पक्राउ सबै चिनियाँ नागरिक हुन् ।

प्रहरीले बौद्धस्थित ग्रेटवाल हेल्थ सेन्टर, कपुरधारास्थित सिविक अस्पताललगायत अस्पतालबाट आधा दर्जन नक्कली चिकित्सक पक्राउ गरेको छ । नक्कली चिकित्सकले झुक्याएर उपचार गरेको प्रहरीको दाबी छ । काउन्सिलका एक पदाधिकारीले पक्राउबारे सञ्चारमाध्यममा जानकारी नदिन प्रहरीले आग्रह गरेको बताए । सीआईबीले मंगलबार पत्रकार सम्मेलन गरी पक्राउ परेकाको नाम सार्वजनिक गर्ने जनाएको छ ।

नक्कली चिकित्सकले उपचार गरी ठगेको उजुरी उपभोक्ता हित संरक्षण मञ्चमा परेको थियो । नेपालमा उपचार गर्ने चिकित्सकले नेपाल मेडिकल काउन्सिलमा दर्ता हुनुपर्ने कानुनी व्यवस्था छ । दर्ता नभएका त्यस्ता चिकित्सकमाथि छानबिन गर्न मञ्चले सीआईबीमा उजुरी दिएको थियो । ‘ठगिएका व्यक्तिले उजुरी गरेपछि दोषीमाथि कारबाही गर्न जाहेरी दिइएको हो’, मञ्चका कार्यक्रम संयोजक श्रृंगऋषि काफ्लेले बताए । एक साताको अनुसन्धानपछि नक्कली चिकित्सक पक्राउ गरिएको काउन्सिल स्रोतले बतायो ।

काउन्सिलका सदस्य डा. कालुसिंह खत्रीले पक्राउ चिकित्सक कहीँ कतै दर्ता नभएको बताए । उनले भने, ‘दर्ताबिनै उपचार गरेको पाइएको छ ।’ प्रहरीले मुलुकी ऐनअन्तर्गत ठगी अभियोगमा थप अनुसन्धान गर्ने तयारी गरेको छ । सीआईबीका डीआईजी पुष्कर कार्कीले काउन्सिलमा दर्ता नभई बिरामी उपचार र अस्पताल सञ्चालन गरेको उजुरीका आधारमा उनीकरूलाई पक्राउ गरिएको बताए


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.