अञ्चल अस्पतालमा उपकरण भए पनि सेवा शून्य

अञ्चल अस्पतालमा उपकरण भए पनि सेवा शून्य

तुलसीपुर : दाङस्थित राप्ती अञ्चल अस्पताल तुलसीपुरले अस्पतालमा प्रशस्त उपकरण हुँदा पनि सेवा प्रवाह शून्य बनाएको छ। अस्पतालका विभिन्न नयाँ उपकरण स्टोरमा थन्क्याएर र बिग्रिएका उपकरणसमेत मर्मत नगरी सेवाग्राहीलाई लामो समयदेखि सेवाबाट वञ्चित गराएको छ। अस्पतालमा आईसीयू सेवा र डाइलासिस सेवाका लागि ल्याइएका उपकरण स्टोरमा थन्किएका छन्। उपकरण भए पनि अस्पताल प्रशासनले सेवा सञ्चालनमा चासो नदेखाउँदा सेवा प्रवाहमा शून्यता देखिएको हो।

दुई वर्षअघि लाखौं खर्च गरेर ल्याइएको आईसीयू उपकरण अस्पतालले प्रयोग गर्न सकेको छैन। उपकरण भए पनि सेवा सञ्चालन नभएपछि उपचारका लागि अस्पताल आउने बिरामी सेवा लिनबाट वञ्चित छन्। अस्पताल उपकरणमा सम्पन्न भए पनि प्रयोगमा नआउँदा आईसीयु, एक्सरे, डाइलासिस सेवा लिन जिल्लाबाहिर जानुपर्ने अवस्था छ। दुई वर्षअघि तत्कालीन मेडिकल सुपरिन्टेन्डेन्ट डा. भोलाराम श्रेष्ठले अस्पतालमा आईसीयू सञ्चालन गर्ने भन्दै केही सेट आईसीयू उपकरण खरिद गरेका थिए। तर, त्यो अहिलेसम्म प्रयोगमा ल्याइएको छैन।

आईसीयू र साइलोसिस सेवालाई नियमित गर्न नसकेको अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा. विनोद सिंहले स्विकारे। दक्ष जनशक्ति र विशेषज्ञ नहुँदा आईसीयू सेवा सञ्चालन गर्न नसकिएको उनको भनाइ छ। ‘हामी यो सेवा सञ्चालन गर्ने प्रयासमा छौं तर जनशक्तिकै कारण सम्भव हुन सकेको छैन’, उनले भने, ‘यसका लागि २४ सै घण्टा सेवा दिने विशेषज्ञसहितको दक्ष जनशक्ति आवश्यक पर्छ।’

आईसीयू सञ्चालन गर्न दक्ष एवं तालिमप्राप्त मेडिकल अधिकृत, स्टाफ नर्स, अनमी, कार्यालय सहायक र सुइपर आवश्यक पर्छ तर यो व्यवस्था अस्पतालमा नभएको उनको भनाइ छ। ‘जनशक्ति नभएपछि उपकरण थन्क्याइएको हो’, सिंहले भने। अस्पतालमा भएका सेवा सुविधा सञ्चालन नहुँदा नागरिकले सास्ती भोग्नुपरेको छ। अस्पताल विकास समितिका अध्यक्ष विष्णुकुमार देवकोटाले अस्पताल सुधारका साथै विभिन्न सेवा सञ्चालन गर्न पहल भइरहेको बताए। ‘समितिले व्यवस्थापकीय भूमिका निर्वाह गर्ने हो’, उनले भने, ‘तर प्रशासनले चासो र लगनशीलता दिनु जरुरी छ। समितिले मात्रै चासो दिएर सञ्चालन सम्भव छैन।’ अध्यक्ष देवकोटाले जनशक्ति व्यवस्थापनका लागि केन्द्रमा पहल भइरहेको जानकारी दिए।

अस्पतालको एक्सरे सेवासमेत केही दिनदेखि बन्द भएको अस्पतालले बताएको छ। ‘अस्पताल प्रशासनको लापरबाहीका कारण सञ्चालन भइरहेको एक्सरे सेवा बन्द भएको छ’, एक कर्मचारीले भने, ‘अस्पताल प्रशासनकै लापरबाहीले उपकरण भए पनि आईसीयू र डाइलासिस सेवा सञ्चालन हुन नसकेको हो।’ नामले अञ्चल अस्पताल भए पनि स्थानीयले समेत सेवा लिन नपाएको स्थानीय सुलब शर्माले बताए। ‘यो अस्पताल होइन, बिरामी रिफर सेन्टर बनेको छ’, उनले भने। सामान्य उपचारका लागि पनि अन्यत्र रिफर गर्ने गरेका भन्दै अस्पताल प्रशासन सेवाप्रति जिम्मेवार नभएको स्थानीयको आरोप छ।

 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.