अक्सिजनले धानेको जिन्दगी

अक्सिजनले धानेको जिन्दगी

धादिङ : जिल्ला अस्पताल धादिङको बेड नं ७। यहाँ करिब २० दिन अघिदेखि एकजना बिरामी नाकमा अक्सिजनको पाइप लगाएर बसिरहेका छन्। बेडमुनि आफ्नै पैसाले किनेको अक्सिजन दिने निजी अक्सिनेटर मेसिन छ। त्यसैको सहायताले ६ महिनादेखि बाँचिरहेका छन् धादिङ नीलकण्ठ नगरपालिका-५ खाल्टे देउरालीका कृष्णबहादुर भुजेल। चौबीसै घण्टा अक्सिजनको सहारामा सास फेरिरहेका भुजेलले अस्पतालको बेडबाट निरास हुँदै भने, ‘सधैँ यसैगरी अब कति दिन बाँचुला खै ? ’

विनाशकारी भूकम्पमा आमा गुमाए कृष्णले। घरमा काम गर्न नसक्ने भइसकेका बुबा एक्लै छन्। कमाउने कोही छैन, भएको सम्पत्ति आफ्नो उपचारमा खर्चिसकेका भुजेललाई अहिले खानसमेत समस्या पर्न थालेको छ। अक्सिजन लिइरहेको बेलामा खासै बिरामीजस्तो देखिँदैनन् कृष्ण, भेट्न आउनेसँग मज्जैले कुराकानी गरिरहन्छन्। तर सेकेन्ड मात्रै अक्सिजन बन्द भयो भने बेहोस हुने र छटपटाउने गर्छन्।

चार वर्षअघि श्वासप्रश्वासमा समस्या भएपछि भुजेल अस्पताल भर्ना भएका थिए। सुरुमा मनमोहन अस्पतालबाट उपचार सुरु गरेका भुजेलले त्यसपछि टिचिङ, शिवज्योति, वीरलगायत धेरै अस्पतालमा जँचाएर सात लाख रुपैयाँ खर्च गरिसके। तर उनको बिमारी कहीँ गए पनि निको भएन। ‘मलाई सास फेर्न गाह्रो हुन्छ, फोक्सो फुलेको महसुस हुन्छ, यत्ति हो समस्या’, भुजेलले भने, ‘गएको साउनदेखि अक्सिजनबिना सासै फेर्न सक्दिनँ, अहिले अन्तिममा वीर अस्पतालमा पुगेर जँचाएपछि नेपालमा उपचार सम्भव छैन भनेर घर पठाइदियो।’

बत्ती गएको बेला सिलिन्डरको अक्सिजन लिन भुजेल दम्पती जिल्ला अस्पतालमै बसिरहेका छन्।

वीर अस्पतालका डा. अशेष ढुंगानाले नेपालमा उपचार सम्भव छैन भनिदिएपछि बिजुली बत्तीबाट अक्सिजन लिन मिल्ने मेसिन किनेर धादिङ फर्किए भुजेल दम्पती। ७० हजार ऋण खोजेर आफैले किनेको अक्सिनेटर मेसिन बिजुली बत्ती भएको बेलामा मात्रै चल्छ। बत्ती गएको बेला सिलिन्डरको अक्सिजन लिन अहिले भुजेल दम्पती जिल्ला अस्पतालमै बसिरहेका छन्। ‘काम केही गर्न नसकेपछि सास फेरेको अनुहार मात्रै हेरेर भए पनि बस्छु भनेर घर फर्किएँ, तर गाउँमा सोलार छैन, एक छिन मात्रै बत्ती बन्द भयो भने ज्यानै जान्छ’, कल्पनाले भनिन्, ‘जस्तै भए पनि माया लागिहाल्दो रहेछ, अस्पतालमा भयो भने त सिलिन्डरको अक्सिजन तुरुन्तै मिल्छ भनेर अस्पतालमै भर्ना भएर बसेका छौँ।’

भुजलेको फोक्सोले अक्सिजन लिने काम नगरेका कारण बाहिरबाट अक्सिजन दिनुपरेको जिल्ला अस्पताल धादिङका सूचना अधिकारी कृष्ण उप्रेतीले बताए। ‘वीर अस्पतालबाट डिस्चार्ज भएपछि यहाँ आएका हुन्, हामीले थप उपचार केही नगरे पनि अक्सिजन सहयोग गरिरहेका छौँ।’

२०६२ सालदेखि भारतको एक जलविद्युत् गृहको सुरुङमा काम गरेको र त्यहाँबाट फर्किएपछि यस्तो समस्या आएको भुजेलले बताए। भुजेल दम्पतीका एक छोरा र एक छोरी छन्। घरमा कमाउने मान्छे नै थला परेको र भएको पैसासमेत उपचार गरेर सकिएपछि अहिले औषधि किनेर खानसमेत समस्या भएको कृष्णकी श्रीमती कल्पनाले बताइन्।

‘चौबीसै घण्टा श्रीमानको स्याहारमा बस्नुपरेको छ। छोराछोरीलाई पकाएर खान दिनसमेत समस्या भएपछि पोखरामा आफन्तलाई जिम्मा लगाएकी छु’, कल्पनाले भनिन्, ‘ट्वाइलेट जाँदा पनि अक्सिजन दिएरै लैजानुपर्छ।’ आफूले अस्पतालमा जे पाइन्छ त्यही खाएर बसे पनि बालबालिकाले पेटभरि खान पाउँछन् भनेर उनीहरूलाई आफन्तकहाँ पठाएको उनको भनाइ छ। बिरामी परेर अस्पतालमै थला परेपछि भुजेल दम्पतीले अनुदानको घरसमेत बनाउन पाएका छैनन्।

 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.