पूर्वाधारबिना सहरी स्वास्थ्य केन्द्र

पूर्वाधारबिना सहरी स्वास्थ्य केन्द्र

प्युठान : गर्भवती जाँच। बिरामी जाँच। ड्रेसिङ। परिवार नियोजन सेवा। औषधि वितरण र कार्यालयको प्रशासनिक कक्ष एउटै कोठाबाट सञ्चालन भइरहेको छ। साँघुरो कोठा भएकाले बिरामीलाई पनि उत्तिकै सकस छ। बिरामीसँग गरिएको कुराकानी नजिकका सबैले सुन्ने भएकाले महिलालाई परिवार नियोजन, गर्भवती जाँचलगायत सेवा दिँदा गोपनियता अपनाउन गाह्रो छ।

दुई वर्षदेखि यसैगरी चलिरहेको छ प्युठान नगरपालिका–२ दाखाक्वाडी अड्डापाटाको सहरी स्वास्थ्य केन्द्र। महिनाको एक दिन मात्र गाउँमा खोप केन्द्रका लागि निर्माण गरिएको साँघुरो टिनले छाएको एककोठे भवनमा स्वास्थ्य केन्द्र चलेको छ। भवन अभावमा स्वास्थ्यकर्मीले प्रभावकारी सेवा दिन सकेका छैनन्। स्वास्थ्य संस्थाको पहुँचबाट टाढा भएका गाउँलाई घरआँगनमै सेवा दिन केन्द्र स्थापना गरिए पनि प्रभावकारी हुन सकेको छैन।

भौतिक पूर्वाधारबिनै सहरी स्वास्थ्य केन्द्र सञ्चालन गर्दा दैनिक कामकाजमा कठिनाइ भइरहेको अनमी उमा गौतमले बताइन्। ‘कम्तीमा तीन वटा कोठा आवश्यक पर्छ’, उनले भनिन्, ‘दुई वर्ष भयो एउटै कोठाबाट सबै खाले सेवा दिइरहेका छौँ। काम गर्न गाह्रो छ।’

कम्तीमा १५ जना बिरामी दैनिक सेवा लिन आउने गरेको उमाले बताइन्। ‘विद्यालय नजिक छ’, उनले भनिन्, ‘चिसो र गर्मीको समयमा बिरामी धेरै आउँछन्।’ नगर क्षेत्रमा भए पनि दुर्गमका बिरामी जाँच गर्न आउने गरेको उनले जानकारी दिइन्। दाखाक्वाडी, रातामाटा, रिबाना, कट्टेपोखरा, आरनेटा, झारीवाङलगायत विभिन्न बस्तीबाट सेवाग्राही आउने गरेका छन्। ‘खोपकेन्द्र भवनबाट सेवा दिनुपरेको छ’, उनले भनिन्, ‘गाउँघर क्लिनिक पनि यहीँबाट सञ्चालन गर्छौं।’

साँघुरो कोठा भएकाले गर्भवती जाँच र परिवार नियोजन सेवा दिन अझ समस्या भइरहेको उनले गुनासो पोखिन्। गौतमसहित अहेव सरीता राउत केन्द्रमा कार्यरत छिन्। स्वास्थ्य केन्द्रका लागि दाखाक्वाडीका स्थानीय विजयविराज विष्टले दुई रोपनी जग्गा निःशुल्क दिएका छन्। ‘पहिला सामान्य रोग लागे पनि बिजुवार, विजयनगर जानुपथ्र्याे’, स्थानीय कुन्टेपानीकी ५० वर्षीया देवा विष्टले भनिन्, ‘हिजोआज घरनजिकै स्वास्थ्य केन्द्र त छ तर भनेजस्तो सेवा छैन।’

महिला दिदीबहिनीलाई सेवा लिन अझ असहज छ। ‘धेरैजसो महिला नै सेवा लिन आउँछन्’, विष्टले भनिन्, ‘भवन निर्माण गर्न नगरपालिका र स्वास्थ्य कार्यालयले पहल गर्नुपर्छ।’ गाउँमा स्वास्थ्य केन्द्र स्थापना भएकाले खुसी भए पनि भवनको समस्या देख्दा निरास बन्नुपरेको उनले गुनासो गरिन्।

प्युठान नगरपालिका स्थापना भएपछि जिल्लाका तीनवटा स्थानमा सहरी स्वास्थ्य केन्द्र स्थापना गरिएको जिल्ला जनस्वास्थ्य अधिकृत विशाल सुवेदीले जानकारी गराए। उनका अनुसार दाखाक्वाडीसहित विजयनगरको ओखरबोट र खैराको सरङकोटमा केन्द्र स्थापना भएका छन्। ‘सहरी स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरी स्वास्थ्यचौकी बनाउने नीति छ’, उनले भने, ‘भवन अभावमा स्तरोन्नतिको प्रयास हुन सक्दैन।’

स्वास्थ्यचौकीविहीन भएका नगरपालिकाको ४ नम्बर वडा भित्रीकोटको तार्कीचौर, ७ नम्बर पुण्यखोलाको डाँडाचौर र १० नम्बरको मरन्ठानामा स्वास्थ्य केन्द्र स्थापना गर्न पहल भइरहेको उनले जानकारी दिए। ‘भवन निर्माणमा स्थानीय सरकारले विशेष पहल गर्नुपर्छ’, सुवेदीले भने, ‘स्थानीयले पनि अपनत्व लिनुपर्छ।’ भवन निर्माणपछि सुरक्षित गर्भपतन र वर्थिङ सेन्टरको स्थानीयबाट माग भएमा सञ्चालन गर्न पहल गर्नेसमेत उनले जानकारी गराए।

चालु आर्थिक वर्षमा नगर क्षेत्रमा सञ्चालित सहरी स्वास्थ्य केन्द्र स्तरोन्नतिका लागि योजना बनाइएको प्युठान नगरपालिकाका प्रमुख अर्जुनकुमार कक्षपतिले जानकारी दिए। ‘केही बजेट विनियोजन गरेका छौँ’, उनले भने, ‘तीन स्थानमा स्वास्थ्य केन्द्र सञ्चालनमा छन्। आवश्यकताअनुसार स्तरोन्नतिका लागि प्रक्रिया अगाडि बढाउँछौँ।’

 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.