केन्द्रीय नेतासहित सयौं कार्यकर्ता गिरफ्तारितमा परेपछि विप्लवको आक्रोश
काठमाडौं : आफ्ना केन्द्रीय नेताहरुसहित सयौं नेता-कार्यकर्ता गिरफ्तार परेपछि नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले त्यसको कडा शब्दमा विरोध गरेको छ।
पार्टीका महासचिव विप्लवले आइतबार विज्ञप्ति सार्वजनिक गर्दै कथित सामाजिक दलाल पूँजीवादी केपी ओली सरकारले बिना कारण आफ्ना नेता कार्यकर्ताहरुलाई गिरफ्तार गरेको भन्दै विरोध जनाएका छन्।
ओली सरकारको यो गिरफ्तारीले राजनीतिक स्वतन्त्रताको स्वर उराल्ने पूँजीवादी संसदीय व्यवस्थाको दमनकारी, जनघाती चरित्रलाई उदांगो पारेको उनको भनाइ छ। ओली सरकारको यो कार्यको महासचिव विप्लव घोर भत्सर्ना गरेका छन्।
‘विराटनगर पुग्दै गर्दा चार दिन अघि मात्र गठन भएको कथित सामाजिक दलाल पूँजीवादी केपी ओलीको सरकारले विना कारण कमरेड सुदर्शन र पीबीएम पदम राई लगानयत दर्जनौं कमरेडहरलाई गिरफ्तार गरेको छ। यो गिरफ्तारीले राजनीतिक स्वतन्त्रताको स्वर उराल्ने पुँजीजीवादी संसदीय व्यवस्थाको दमनकारी, जनघाती चरित्रलाई उदांगो पारेको छ।’ महासचिव विप्लवले सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ, ‘साथै कम्युनिस्ट नामबाट सरकारमा पुगेको ओली पाखण्डी एवं दमनकारी चरित्रलाई पनि नांगो बनाइदिएको छ। हाम्रो पार्टी यो गिरफ्तारीको घोर भर्तसना गर्दछ। आफ्नो सरकारी काम नै जनता र पार्टीमाथि दमन गरेर शुरु गर्ने ओली सरकारको यो कदम रोक्न र गिरफ्तार वरिष्ठ नेताहरु लगायतलाई विना शत मुक्त गर्न माग र आग्रह गर्दछौं।’
महासचिव विप्लवले ओलीले विराटनगरमा देखाएको हर्कतबाटै उनको यो सरकारको दिनगन्ती सुरू भएको समेत चेतावनी दिएका छन्। राष्ट्रिय युवा जनस्वयं नेपालको तेस्रो राष्ट्रिय सम्मेलनका लागि विराटनगर पुगेका नेकपाका स्थायी समितिका सदस्य कमरेड सुदर्शन, पीबीएम कमरेड पदम राई लयागतका सयौं बढी नेताकार्यकर्ताहरुलाई प्रहरीले बिना कारण सोधपुछ भन्दै गिरफ्तार गरेको थियो।