प्रदेश ६ का मन्त्रीले लिए शपथ
सुर्खेत : प्रदेश नम्बर ६ को मन्त्रिपरिषद्ले पूर्णता पाएको छ। नेकपा एमाले र माओवादी केन्द्रले मन्त्रीको टुंगो लगाएपछि मन्त्रिपरिषद्ले आइतवार पूर्णता पाएको हो। नवनियुक्त मन्त्रीले आइतवार नै पद तथा गोपनीयताको शपथ लिएका छन्। एमालेका तर्फबाट चार र माओवादीको तर्फबाट दुई मन्त्रीले शपथ लिएका हुन्। माओवादीका नरेश भण्डारी र विमला केसी मन्त्री बनेका छन्। जुम्लाबाट निर्वाचित प्रदेश सभाका सांसद भण्डारीले आन्तरिक मामिला तथा कानुन मन्त्रीमा नियुक्त भएका छन्।
रुकुमबाट विजयी माओवादी सांसद विमला केसी भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बनेकी छन्। यस्तै नेकपा एमाले भने प्रकाश ज्वालाको नेतृत्वमा सरकारमा सहभागी भएको छ। एमालेको तर्फबाट चारजना मन्त्रीले शपथ लिएका छन्।
सल्यानबाट विजयी एमाले सांसद प्रकाश ज्वाला आर्थिक मामिला तथा योजना मन्त्री, हुम्लाका दल रावल सामाजिक विकास मन्त्री, सुर्खेतका खड्कबहादुर खत्री भौतिक पूर्वाधार विकास मन्त्री र डोल्पाबाट विजयी नन्दसिंह बुढा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बनेका छन्।
सबै मन्त्रीलाई प्रदेश प्रमुख दुर्गाकेशर खनालले पद तथा गोपनीयताको शपथ दिलाएका हुन्। सात मन्त्रालयमध्ये माओवादीले मुख्यमन्त्री र दुई वटा मन्त्रालय पाएको छ भने एमालेले चार मन्त्रालय पाएको छ। गठबन्धनका दल एमाले र माओवादीले लामो कसरत र रस्साकस्सीपछि आइतबार मात्र मन्त्रालय बाँडफाँडमा सहमति गरेका हुन्।