पेस्तोलसहित युवक पक्राउ
पर्सा : वीरगञ्जको तेजार्थ टोलबाट प्रहरीले आइतबार स्वचालित पेस्तोलसहित एक युवकलाई पक्राउ गरेको छ । नियमित गस्तीका क्रममा शंका लागेर जाँच गर्दा वीरगञ्ज महानगरपालिका– २३ का २८ वर्षीय अजितप्रसाद कुशवाहाको गोजीबाट पेस्तोल बरामद गरी उनलाई पक्राउ गरिएको हो ।
गस्तीमा प्रहरी देखेपछि भाग्न थालेका कुशवाहालाई नियन्त्रणमा लिएर जाँच गर्दा स्वचालित पेस्तोल एक थान र सोमा प्रयोग हुने म्यागजिन एक थान बरामद भएपछि आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक राजन लिम्बूले बताए ।
पक्राउ परेका कुशवाहालाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखेर अनुसन्धान भइरहेको छ । उनीमाथि हातहतियार तथा खरखजाना मुद्दा चलाउने तयारी भइरहेको लिम्बुले बताए । रासस