१८ वर्ष कम्लरी बसेकी कृष्णी थारुकाे सांसददेखि उपसभामुखसम्मकाे यात्रा
बुटवल : झण्डै १८ वर्ष कम्लरी र बुक्रही बसेकी बर्दियाकी कृष्णी थारु प्रदेश ५ को उपसभामुख बनेकी छन्। बाबुआमा मालिकको घरमा कमैया बसेकै बेला जन्मिएकी उनी प्रदेश ५ को संसद् हाँक्ने जिम्मेवारीमा पुगेकी छन्।
प्रदेश ५ का ८७ सांसदमध्ये ६६ जना थारुका पक्षमा थिए। उनको विपक्षी उम्मेदवार कांग्रेसकी रिना नेपाल विश्वकर्मा थिइन्। रिनाले १९ मत पाइन्। संसद्मा दुई जनाको उम्मेदवारी परेपछि थारुलाई उपसभामुख बन्न मतविभाजनको प्रक्रियासम्म कुर्नु परेको थियो। माओवादी, संघीय समाजवादी फोरम, जनमोर्चाको समेत समर्थन पाएकी उनले आइतबारै सभामुख पूर्णबहादुर घर्तीमगरसँग शपथ लिएर कार्यभार सम्हालेकी छन्।
उपसभामुख निर्वाचित भएपछि संसद् बैठकबाट बाहिरिँदा थारुका आँखा भरिएको र गला अवरुद्ध भएको थियो। लामो समय संघर्षपूर्ण जीवन गुजारेकी उनी जनताका प्रतिनिधिलाई रुलिङ गर्ने ठाउँमा पुग्दा उनको आँखाबाट हर्षका आँशु रसाएका थिए। एमालेको भ्रातृ संगठन अनेमसंघ बर्दियाकी सदस्य उनलाई सांसद बन्ने अवसरसँगै उपसभामुखको जिम्मेवारी समेत काँधमा आयो।
‘कुनै बेला कहाँ राम्रो खान पाइन्छ भनेर नयाँ मालिक खोज्दै हिँड्नु परेको थियो। संघर्ष गर्दै अहिले यहाँसम्म आइपुग्दा खुसी लागेको छ’, उनले उत्साहित हुँदै भनिन्, ‘म यो जिम्मेवारीमा रहँदाको समय कम्लरी, कमैया, दलित, विपन्न समुदायका लागि न्यायको पक्षमा खर्चिनेछु।’
साढे ७ वर्षको उमेरमा कम्लरी बस्दा उनी साहुका ससाना छोराछोरी बोक्न सक्दिनथिन्। तैपनि पेट पाल्न काम गर्नै पर्ने बाध्यता थियो। उनी अहिले ती पुराना कहालीलाग्दा दिन सम्झिँदै भन्छिन्, ‘पेट पाल्नकै लागि १६ वर्ष ६ जना साहुका घरमा बसें।’ ती साहुहरू सरकारी कर्मचारीदेखि थारु जातिका जमिन्दारसम्म थिए। गरिबीकै कारण उनका बाबुआमाले ज्यान पाल्नकै लागि तत्कालीन कृषि विकास बैंकका प्रमुखकहाँ उनलाई कम्लरी राखेका थिए।
७ वर्ष कम्लरी बसेपछि १४ वर्षको उमेरमा कमैयासँग नै उनको विवाह भयो। विवाहपछि उनको जीवन बुक्रहीमा परिणत भयो। सानै उमेरदेखि अर्काको घरमा कम्लरी बसेकाले उनले अध्ययनको अवसर पाइनन्। मालिकको घरमा बुक्रही बसेकै बेला उनले २०५० सालमा गाउँमै प्रौढ शिक्षाका कक्षा लिने अवसर पाइन्। त्यही पढाइले उनलाई लेखपढ गर्न सक्षम बनायो। त्यसपछि उनले स्वाध्यायन बढाइन्।
२०५७ सालमा कमैया मुक्तीको घोषणा गरिए पनि गरिबी र अभावको दैनिकीबाट कमैयाहरू मुक्त भएनन्। घर, अन्नपात र थातथलोको कुनै ठेगान भएन। बासको कुनै व्यवस्था नभएकाले ०५७ साल असोजतिर उनको परिवार मालिकको घर छाडेर अस्थायी शिविरमा पुग्यो। साबिक राजापुर गाविस–१ मा रहेको सामुदायिक वनको खाली जमिनमा बसेपछि ०५८ सालमा सरकारले राजापुर नगरपालिका–४ मा एक कठ्ठा १० धुर जमिन दियो। ०५९ सालमा मुक्त कमैया बस्तीका १२ जना मिलेर ‘मुक्त कमैया समूह’ गठन गरे। उनी समूहको अध्यक्ष बनिन्।
‘त्यसपछि नै आफ्ना अधिकारका लागि बोल्न थालें’, उनी भन्छिन्, ‘अधिकार प्राप्तिको आन्दोलन अझै सकिएको छैन। कमैयाले अझै प्रमाणपत्र पाएका छैनन्। सजिलो जीवन जीउन पाएका छैनन्। म त्यसका पक्षमा काम गर्छु।’ पतिलाई भारतबाट फर्काएर गाउँमै सानो किराना पसल चलाउँदै दुई छोराछोरीको पढाइखर्च जुटाउँदै गरेकी थारुले उपसभामुख त के सांसदसमेत बन्ने सपना देखेकी थिइनन्। उनको मनमा आफ्नो घर, जमिन र सम्पत्ति भन्ने सोचविचार कहिल्यै आएन।
विवाहअघि ७ वर्ष कम्लरी र विवाहपछि ११ वर्ष बुक्रही बसेर कठोर परि श्रम गर्न बाध्य उनी एमालेबाट प्रदेश ५ को प्रदेश सांसद बनिन्। ‘मेरो संघर्ष र इमान्दारितालाई पार्टीले मूल्यांकन गर्यो, म जनताका पक्षमा काम गरेर देखाउँछु’, उनले भनिन्। २०५९ सालमा १२ जनाको नेतृत्व गरेकी उनी अहिले प्रदेश ५ को उपसभामुखको जिम्मेवारीमा पुगेकी छन्।
यो जिम्मेवारीमा पुगेपछि उनको एउटै लक्ष्य छ– पछाडि पारिएका वर्ग, जाति, कमैया, कम्लरी, बुक्रही, दलित, आदिवासी, जनजातिको अधिकारका लागि नीति निर्माण गरी काम गर्ने। विपन्न समुदायका सबै आवश्यकता तत्कालै पूरा गर्न सक्छु भन्ने महत्वाकांक्षी योजना उनको छैन। उनी भन्छिन्, ‘म जति दिन काम गर्छु कमैया, कम्लरी, बुक्रही, दलित, आदिवासी, जनजातिका पक्षमा काम गर्छु।’