मन्त्री नपाएपछि सांसदद्वारा राजीनामा
सुर्खेतः प्रदेशसभामा निर्वाचित एमाले सांसद चन्द्रबहादुर शाहीले राजीनामा दिएका छन्। प्रदेशसभाको सभामुख र मन्त्रीमा अवसर नदिएर पार्टीले आफूमाथि अन्याय गरेको भन्दै उनले राजीनामा दिएका हुन्। मुगुबाट निर्वाचित सांसद शाहीले आइतबार हुलाकमार्फत राजीनामा पत्र पठाएका छन्।
यसअघि उनी सभामुखका आकांक्षी थिए। एमालेभित्र सभामुखमा उनको चर्चा चले पनि अन्तिममा आएर दैलेखका राजबहादुर शाहीलाई एमालेले सभामुख बनाएको थियो। सभामुख नपाएका शाहीलाई मन्त्री बनाउने आश्वासन नेताहरुले दिएका थिए।
तर आइतबार बिस्तार भएको प्रदेश मन्त्रीपरिषद्मा उनी समावेश हुने सकेनन्। अन्तिम समयमा आएर पार्टीले धोका दिएको र अन्याय गरेको भन्दै सांसदबाट राजिनामा दिएको शाहीले बताए। एमालेका केन्द्रीय सल्लाकारसमेत रहेका शाहीले पार्टीको साधारण सदस्यबाट पनि राजिनामा दिएको जानकारी दिए।
आइतबार बिहानसम्म शाहीको नाम मन्त्रीको सूचीमा थियो। उक्त सूचीमा सांसद प्रकाश ज्वालाको नाम भने थिएन। तर ज्वालाले आफूलाई कुनै पनि हालतमा मन्त्री चाहिने भन्दै केन्द्रमा दबाव दिएपछि ज्वालाको नाम समावेश गरेर शाहीको नाम मन्त्रीको शपथ ग्रहण गराउने बेलामा हटाइएको थियो। एमाले वरिष्ठ नेता माधवकुमार नेपाल निकट मानिने शाही यसअघि २०५६ को संसदीय निर्वाचनमा पनि निर्वाचित भएका थिए।
लामो समयदेखि एमालेको राजनीतिमा सक्रिय रहेका शाहीले पैसा र शक्तिको आडमा मन्त्री छनौट गरिएको र आफूलाई अन्याय भएकाले राजीनामा दिन बाध्य भएको बताए। दलभित्र गुटका आधारमा अवसर दिने संस्कार विकास भएको आरोप लगाउँदै उनले पार्टीको साधारण सदस्यबाट राजीनामा दिन काठमाण्डौ पुगेको जनाए।
शाहीले प्रदेशसभा सदस्यको राजीनामा भने आइतबार नै हुलाकमार्फत प्रदेशसभाका सभामुखलाई पठाएका छन्। मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आइतबार बिस्तार गरेको मन्त्रिपरिषद्मा एमालेबाट उनी पर्न सकेनन्। त्यसपछि उनले अपमानित भएको र निकै अन्याय भएको भन्दै राजीनामा दिएको बताए। ‘पार्टीमा योगदान नै नगरेकालाई सभामुख बनाइयो, कमिटीमा पनि नभएकाहरु मन्त्री बने’ उनले भने,‘मैले पार्टीका लागि नै जीवन बिताएँ, तर अहिले सहनै नसक्ने गरी अन्याय भयो।’
अन्याय सहन नसकेर आफूले राजीनामा दिएको उनले बताए। एमालेबाट सभामुख बनेका दैलेखका राजबहादुर शाही नेपाल मजदुर किसान पार्टीबाट २०५२ सालमा एमाले प्रवेश गरेका हुन्। यस्तै मन्त्री बनेका डोल्पाका नन्दसिंह बुढा राप्रपाबाट र हुम्लाका दल रावल जनमोर्चाबाट एमाले प्रवेश गरेको शाहीले बताए।
एमाले नेता शाही २०५६ सालमा मुगुबाट प्रतिनिधिसभा सदस्य जितेका थिए। मुगुमा एमालेबाट चुनाव जित्ने शाही पहिलो व्यक्ति हुन्। उनी आठौं महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएका थिए भने हाल सल्लाहकार छन्।
२०४२ सालमा जेल परेपछि पार्टीको पूर्णकालिन राजनीतिमा लागेका उनले १५ वर्षसम्म मुगुमा एमालेको पार्टी प्रमुख भएर काम गरेका थिए। यता प्रदेशसभामा एमाले संसदीय दलका नेता यामलाल कँडेलले शाहीको मन्त्रीमा चर्चा भए पनि आकांक्षी धेरै भएकाले सम्भव नभएको बताए।
एमाले प्रदेश कमिटिका सहसंयोजकसमेत रहेका कँडेलले शाही सभामुख र मन्त्रीका लागि योग्य हुँदाहुँदै पनि थोरै पद र नेता धेरै भएकाले समेट्न नसकिएको स्वीकार गरे। उनले भने,‘हामीले प्रयास गरेकै हो, तर सम्भव हुन सकेन। म बाहेक सबै मन्त्रीका आंकाक्षी थिए, सबैलाई एकैपटक अवसर दिनसक्ने अवस्था भएन।’