याङ्ग्री–लार्के आयोजना अध्ययन सुरु
मेलम्ची : बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको पहिलो चरणको सुरुङ निर्माण अन्तिम चरणमा पुगेसँगै दोस्रो चरणको याङ्ग्री–लार्के आयोजना निर्माणका लागि सम्भाव्यता अध्ययन सुरु भएको छ। पहिलो चरणमा सिन्धुपाल्चोकको मेलम्ची खोलाको पानी राजधानी पुगेलगत्तै याङ्ग्री र लार्केखोलाको पानी लैजाने योजना सुरु गर्ने लक्ष्यका साथ सम्भाव्यता अध्ययन थालिएको हो।
मुहानसम्म पुग्ने प्रवेशमार्ग निर्माण र सडकमा पर्ने जग्गाको मुआब्जा वितरण पनि भइरहेको आयोजनाले जानकारी दिएको छ। ‘डिटेल फिजिबिलिटी स्टडी भइरहेको छ। दुई महिनाभित्र कन्सल्टेन्टले रिपोर्ट दिएपछि टेन्डर प्रक्रिया अघि बढ्छ’, आयोजनाका सामाजिक विकास टिम लिडर बासुदेव बास्कोटाले भने, ‘सबै प्रक्रिया पूरा गरेर निर्माणको काम सुरु गर्न एक वर्ष लाग्ला।’
विृस्तृत सम्भाव्यता अध्ययन भइराख्दा आयोजनाको प्रमुख दाता एसियाली विकास बैंक (एडीबी)को प्रतिनिधिमण्डलले मुहान क्षेत्र लार्केको स्थलगत अवलोकन गरेको छ। आइतबार आयोजनाका कार्यकारी निर्देशकसहितको टोली मुहान पुगेको थियो। पहिलो चरणमा मेलम्ची खोलाको दैनिक १७ करोड लिटर पानी काठमाडौं पु¥याएपछि दोस्रो चरणमा पाँचपोखरी थाङ्पाल गाउँपालिकाको बरुवा र भोताङमा पर्ने याङ्ग्री र लार्के खोलाबाट १७÷१७ करोड लिटर पानी काठमाडौं लैजाने योजना छ। मेलम्चीको मुहान हेलम्बुको रिबर्माबाट नौ किलोमिटर सुरुङ खनेर याङ्ग्री र याङ्ग्रीबाट थप दुई किलोमिटर सुरुङमार्फत पानी लैजान सकिने आयोजनाको भनाइ छ।
मेलम्चीपछि सन् २०२५ सम्म याङ्ग्री र लार्केबाट दैनिक ३४ करोड लिटर पानी काठमाडौं भित्रयाउने आयोजनाको लक्ष्य छ।
दोस्रो चरणको काम सुरु भएसँगै सामाजिक उत्थानको रकम कसरी खर्च गर्ने भन्ने छलफल सुरु भएको छ। सोमबार आयोजना, स्थानीय तहका प्रमुख र सामाजिक उत्थानको रकम खर्च गर्दै आएका समितिका प्रतिनिधिबीच छलफल भएको थियो। जनप्रतिनिधिले स्थानीय तहमार्फत सामाजिक उत्थानको रकम खर्च गर्नुपर्ने प्रस्ताव राखेका छन्।
सामाजिक उत्थान कार्यक्रम सञ्चालन गर्दै आएका समिति आफैंले खर्च गर्न पाउनुपर्ने अडानमा छन्। यसअघि ह्योल्मो सिन्धु मेलम्ची उपत्यका सामाजिक उत्थान कार्यक्रम सञ्चालन समितिले मेलम्ची प्रभावित क्षेत्रमा र याङ्ग्री–लार्के सरोकार समितिले याङ्ग्री–लार्के प्रभावित साविकका नौ गाविसमा सामाजिक उत्थान कार्यक्रम सञ्चालन गर्दै आएका छन्।
पहिलो चरणको मेलम्ची आयोजनाको प्रमुख काम सुरुङ खन्न दुई सय ५९ दशमलव आठ मिटर बाँकी छ। ‘जोखिम क्षेत्र सकिएपछि कामले गति लिन्छ’, आयोजनाका एक प्राविधिकले भने, ‘कमजोर चट्टानका कारण काममा सुस्तता आएको छ।
२६ किलोमिटर लामो मुख्य सुरुङमध्ये २५ किमि नौ सय ४० मिटर सुरुङ खनिसक्दा पनि पूर्वाधारका अन्य काममा भएको ढिलाइले आयोजना समयमै सम्पन्न हुनेमा अन्योलता सिर्जना गरेको छ। पटकपटक समय परिवर्तन गर्दै औपचारिक रूपमा २०७५ को नयाँ वर्षसँगै पानी राजधानी भिœयाउने लक्ष्य छ। तर पनि सुरुङको फिनिसिङ, ड्याम निर्माण आदि कारणले आयोजनाले तोकेको समयमा पानी राजधानी पुग्न कठिन रहेको आयोजनाका कर्मचारी नै बताउँछन्। अनौपचारिक रूपमा आयोजनाका कर्मचारी नै २०७५ को दसैंसम्म पानी काठमाडौं पुग्ने आशा गर्न थाल्नुले पनि आगामी वसन्तमा मेलम्चीको पानी पिउने राजधानीवासीको सपना पूरा नहुने संकेत गरेको छ। मेलम्चीपछि सन् २०२५ सम्म याङ्ग्री र लार्केबाट दैनिक ३४ करोड लिटर पानी काठमाडौं भिœयाउने आयोजनाको लक्ष्य छ।
आयोजनाले पानी प्रशोधन केन्द्र रहने सुन्दरीजलदेखि सिन्धु अडिटसम्मको नौ दशमलव दुई, ग्याल्थुमबाट अम्बाथान सात किलोमिटर र अम्बाथानदेखि मुहानसम्मको आठ सय पाँच मिटर सुरुङ ब्रेक थु गरेको सामाजिक विकास टिम लिडर बास्कोटाले जानकारी दिए। सिन्धु–ग्याल्थुम खण्डको सात किमिमध्ये कठिन खण्डको दुई सय ५९ दशमलव आठ मिटर खन्ने काम बाँकी छ। सुरुङ छेड्ने काम अन्तिम चरणमा पुगेसँगै सुरुङमा पानी लैजान आवश्यक ‘फाइनल सपोर्ट र इन्भर्ट लाइनिङ’को काम सुरु गरिएको छ।
‘आयोजनाले समयमै काम सक्ने लक्ष्य लिए पनि ड्याम क्षेत्रमा कामले खासै गति लिन नसक्दा समयमै सम्पन्न हुनेमा शंका उब्जिएको आयोजनाका उपकार्यकारी निर्देशक भोजविक्रम थापाले बताए। ड्यामको काम र पानी लैजाने काम सँगै अघि बढ्ने उनको भनाइ छ।
२५ अर्ब रुपैयाँभन्दा बढी लगानीमा निर्माणाधीन आयोजनाको सुरुङ निर्माण इटालियन कोअपरेटिभ मुरातोरी सिमेन्ट डी रभेन्ना (सीएमसी) कम्पनीले आठ अर्ब ७० करोड रुपैयाँमा ठेक्का लिएको हो। यसअघि चिनियाँ कम्पनी फिप्टिन रेलवे ब्युरोले ४० करोड रुपैयाँ भुक्तानी लिएको थियो। चिनियाँ कम्पनीले सन् २०१० अप्रिलमा काम सुरु गरेर २०१२ सेप्टेम्बरमा ठेक्का रद्द गरेपछि सन् २०१३ अक्टोबरबाट सीएमसीले सुरुङ खन्न थालेको हो।
प्रतिक्रिया दिनुहोस !