समृद्धिको आधार तय गर्ने उद्घोष

समृद्धिको आधार तय गर्ने उद्घोष

काठमाडौं : राजनीतिक लडाइँ सकिएको भन्दै वाम गठबन्धनका शीर्ष नेताले अब आर्थिक विकास र समृद्धिमार्फत ५ वर्षमा नयाँ युगको आधार तय गर्ने प्रतिबद्धता जनाएका छन्। प्रतिनिधिसभाको मंगलबारको बैठकमा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आर्थिक विकास र समृद्धिको यात्रामा साथ दिन प्रतिपक्षी दलसँग सहयोगका लागि आग्रह गरे।

पूर्वप्रधानमन्त्री एवं एमाले नेता नेपालले चुनावबाट जनताले वाम गठबन्धनको काँधमा देश परिवर्तनको जिम्मेवारी दिएको भन्दै देशलाई रुपान्तरण गर्ने आँट र दृष्टिकोण राख्न सरकारलाई सुझाव दिए।

‘जनताले न्यायपूर्ण निर्णय गरेर वाम गठबन्धनको काँधमा जिम्मेवारी दिएका छन्’, नेपालले भने, ‘लोकतन्त्र खुम्चिन्छ कि, अधिनायकवाद आउँछ कि भनेर चिन्ता नगरौं। कम्युनिस्टहरू संस्थागत परिपाटी, विधि र कानुनी शासनमा विश्वास गर्छन्।’

बहुमत प्राप्त भयो भन्दैमा गठबन्धनले अहंकार राख्न नहुने र प्रतिपक्षले पनि असहयोगको नीति लिन नहुनेमा नेपालले जोड दिए। संविधानसभामार्फत संविधान बनाएर मुलुकमा दिगो शान्ति र संविधान कार्यान्वयनमार्फत राजनीतिक स्थिरताको आधार तय भएको नेता नेपालले बताए। उनले भने, ‘अब देशलाई रुपान्तरण गर्ने आँट र दृष्टिकोण चाहिन्छ। सरकार दह्रो भएर अघि बढोस्।’

प्रतिपक्षले पनि सरकारलाई रचनात्मक सहयोग गर्नुपर्ने उल्लेख गर्दै नेता नेपालले भने, ‘सरकारलाई हनिमुन पिरियड पनि बिताउन दिन्न भन्ने भनाइबाट उत्पन्न हुने परिणाम आफंैले भोग्नुपर्छ।’

देश बदल्ने यो अवसर हो। ५ वर्षभित्र नयाँ युगको निम्ति विकासको आधार तय हुनेछ।
-पुष्पकमल दाहाल, माओवादी केन्द्र अध्यक्ष

सधैंभरि आरक्षण र संरक्षणले मात्र देश उभो नलाग्ने भन्दै पिछडिएको क्षेत्र र समुदाय पनि प्रतिस्पर्धामा आउने वातावरण तय गर्नुपर्नेमा नेपालले जोड दिए। मुलुक विकास हुन नदिने जालो सरकारी संयन्त्रमा तलदेखि माथिसम्म रहेको उल्लेख गर्दै नेता नेपालले भने, ‘सरकारका हातखुट्टा बाँध्ने काम गर्नुहुन्न। कार्यकारीलाई निर्धक्क काम गर्न दिनुपर्छ। संसदीय समिति र अख्तियारले यो काम गर, त्यो नगर। अदालतले बाटो ठूलो भयो, सानो बनाऊजस्ता आदेश दिनु हुँदैन। भ्रष्टाचार र अनियमितता भयो भने मात्र अख्तियार, संसदीय समिति र अदालतले कार्यकारी निकायका काममा रोक लगाउनुपर्छ।’

‘यो देश डुब्न लाग्यो बचाइदेऊ, यो देशमा म एउटा मानिस खोजिरहेछु’ भन्ने कविता र गीतको भावनाअनुसार सरकार अघि बढ्नुपर्ने नेपालले बताए।

माओवादी केन्द्रका अध्यक्ष दाहालले राजनीतिक लडाइँ पूरा भएको भन्दै अबको लडाइँ स्थायित्व, विकास र समृद्धिको भएको बताए। ‘हिजोको जस्तो सत्ता र कुर्सीका लागि अब कुनै पनि कुकर्म नगर्ने संकल्प गरैाँ’, दाहालले भने, ‘राष्ट्र र जनताका निम्ति जस्तोसुकै त्याग गर्ने र राष्ट्र निर्माणको महान् यात्रामा अघि बढ्ने संकल्प गर्न जरुरी छ।’

जनताले वाम गठबन्धनको काँधमा देश परिवर्तनको जिम्मेवारी दिएका छन्। सरकारले देशलाई रुपान्तरण गर्ने आँट र दृष्टिकोण राख्न सक्नुपर्छ।-माधवकुमार नेपाल, एमाले वरिष्ठ नेता

वाम गठबन्धनको नेतृत्वमा झन्डै दुईतिहाइको बलियो सरकार बनेको उल्लेख गर्दै दाहालले भने, ‘देश बदल्ने यो अवसर हो। ५ वर्षभित्र नयाँ युगको निम्ति विकासको आधार तय हुनेछ।’

राज्य संयन्त्रमा चौतर्फी भ्रष्टाचार र बेथिति रहेको भन्दै दाहालले सरकारले दण्ड र पुरस्कारको नीति लिनुपर्ने बताए। दलहरू मिलेका बेला ठुल्ठूला राजनीतिक परिवर्तन भएको र झगडा गर्दा देशले क्षति व्यहोरेको स्मरण गर्दै दाहालले मुलुकको अर्थतन्त्र अत्यन्त नकारात्मक दिशामा गएको भन्दै सबै मिलेर निकास दिनुपर्ने बताए।

मधेस केन्द्रित दलका माग पूरा गर्न सरकारले संविधान संशोधन गर्ने दाहालले बताए। ‘आवश्यकता र औचित्यका आधारमा संविधान परिमार्जन गर्ने व्यवस्था संविधानले नै गरेको छ’, दाहालले भने, ‘राजनीतिक विद्रोह गर्नु पर्दैैन। संविधानले नै संशोधनमार्फत निकास दिन्छ।’

प्रमुख विपक्षी दल कांग्रेस सभापति शेरबहादुर देउवाले मुलुकलाई आर्थिक विकास र समृद्धिको आवश्यकता भएको उल्लेख गर्दै विरोधका लागि कहिल्यै पनि विरोध नगर्ने बताए।

‘सरकार कसरी काम गर्छ हामी हेर्छौं। हाम्रो काम ‘वाचडग’ को हुनेछ,’ देउवाले भने, ‘सरकारलाई हाम्रो पूरापूर सहयोग हुनेछ।’ सत्तापक्षले संविधान संशोधन गर्न खोजेको समाचारले आफू खुसी भएको उल्लेख गर्दै देउवाले भने, ‘उसबेला संशोधन राष्ट्रहितविपरीत छ भन्ने मित्रहरू नै संविधान संशोधन गर्न लागेका छन्।’

सरकार कसरी काम गर्छ हामी हेर्छौं। हाम्रो काम ‘वाचडग’ को हुनेछ। सरकारलाई हाम्रो पूरापूर सहयोग हुनेछ।
-शेरबहादुर देउवा, कांग्रेस सभापति

अदालत र प्रहरी प्रशासनलाई तर्साउने काम भने कुनै पनि हालतमा स्वीकार्य नहुने देउवाले बताए। देशको समृद्धिका लागि स्वदेशी र विदेशी लगानीको खाँचो रहेको भन्दै देउवाले जल स्रोत र पर्यटनलाई पहिलो प्राथमिकता दिनुपर्ने बताए।

राजपा नेता राजेन्द्र महतोले संविधान संशोधन गरेर मधेसलाई पनि साथ लिन सरकारसँग आग्रह गरे। मधेसका माग पूरा नभएसम्म आन्दोलन जारी रहने भन्दै महतोले ठूला दलले छाती पनि ठूलै बनाउनुपर्ने बताए।

‘जनताले अत्यधिक मत दिएका छन्। ओलीजी र प्रचण्डजीलाई बधाई दिन चाहन्छु’, महतोले भने, ‘अब छाती पनि ठूलो बनाउनुहोस्। देश पनि बनाउनुहोस्।’

संविधान संशोधनमा आफूहरू पनि साथ दिने भन्दै महतोले भने, ‘संविधान गीता वा बाइबल होइन। हामी मिल्यांै भने दुईतिहाइ पुग्छ। जे आवश्यकता छ, संशोधन गरांै।’

संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले मधेसको माग सम्बोधन हुने गरी संविधान संशोधन हुनुपर्ने बताए। ‘यो मेरो संविधान हो भनेर सबैले गर्व गर्ने गरी संशोधन गरांै। मुलुकले निकास पाउँछ,’ यादवले भने।

देउवाको झटारो र प्रचण्डको दाबी

ठूलो दलको हैसियतले प्रतिनिधिसभामा पहिलो बोल्ने पालो थियो, एमाले वरिष्ठ नेता माधव नेपालको। नेपालपछि दोस्रो दलको हैसियतमा कांग्रेस सभापति देउवाको पालो आयो। रोस्ट्रमबाट फर्कंदै गरेका नेपालले देउवासँग हात मिलाउन खोजे। देउवाले क्यामेरातर्फ नेपाललाई पनि तेस्र्याएर हात मिलाए। देउवाले सुरुमै प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीलाई झटारो हाने। ‘हुन त ओलीजीले मलाई चुनाव नै गराउँदैन भन्नुहुन्थ्यो। उहाँ प्रधानमन्त्री नै भइसक्नुभयो’, देउवाको झटारोले कांग्रेसका सांसदहरू गलल्ल हाँसे। त्यसपछि आफ्नो पालामा संविधान संशोधन गर्न खोज्दा एमालेले विरोध गरेको तर आफू सत्तामा आएपछि संशोधनको कुरा अघि सारेको देउवाले बताए। एमाले नेता नेपालले प्रधानमन्त्री ओलीलाई खुसी पार्न खोजेको भन्दै हरेक दलभित्र त्यस्तो अवस्था रहेको पनि बताए।

देउवापछि बोल्ने पालो आयो, माओवादी केन्द्रका अध्यक्ष दाहालको। दाहालले हिजोजस्तै हिंसाको कुरा गरेर अब सफलता प्राप्त नहुने दाबी गरे। उनले बिनाकुनै संकोच मूलधारमा समाहित हुन नेत्रविक्रम चन्द समूहलाई पनि आग्रह गरे।

दाहालले आफ्नो पार्टी सधैं राजनीतिको केन्द्र (मध्यविन्दु) मा रहने गरेको भन्दै गजबको तर्क गरे। संसद्मा ५ दल मात्र रहेकाले आफूअघि २ र आफूपछि पनि २ दल रहेको तर्क गरे। भारत र चीनको बीचमा रहनु नेपालको अभिशाप नभई वरदान हुनुपर्ने दाहालले बताए।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.